एमाले ससंदमा आक्रामक भएको आरोप, रास्वपा र राप्रपा अपरिपक्व
वि.सं.२०८० साउन २ मंगलवार १६:२६
shares

सत्ता गठबन्धनको सबैभन्दा ठूलो घटक नेपाली कांग्रेसले संसदको काम कारबाही सहज रुपमा अघि बढाउन प्रतिपक्षी दलहरुका कारण चुनौती रहेको मंगलबार सुरु भएको केन्द्रीय कार्य समिति बैठक निष्कर्ष निकालेको छ ।
मंगलबार सुरु भएको बैठकमा संसदीय काम कारबाहीको रिपोर्ट पेश गर्दै कांग्रेस केन्द्रीय सदस्य तथा प्रमुख सचेतक रमेश लेखकले प्रतिपक्षी दलहरुको चरित्र चित्रण समेत गरे ।
लेखकले बैठकमा भने– प्रतिपक्ष आक्रामक छ । राजनीतिक रुपले पनि एउटा गठबन्धन परिवर्तन भएर अर्को गठबन्धनमा गयौं, यसकारण पनि प्रमुख प्रतिपक्ष आक्रामक छ । यसकारण ऊ अधैर्य पनि छ तर परिपक्व छ । अरु प्रतिपक्ष आक्रामक र अधैर्य छन्, यदाकदा अपरिपक्व व्यवहार पनि देखाइरहेका छन् ।
उनले एमालेलाई आक्रामक, अधैर्य तर परिपक्व प्रमुख प्रतिपक्षको संज्ञा दिए भने रास्वपा र राप्रपालगायतको नाम नलिई आक्रामक, अधैर्य र अपरिपक्व शक्तिको संज्ञा दिए ।
यस्तै, महामन्त्री गगन थापाले विधान कार्यान्वयन र पार्टीको सुदृढीकरणका सन्दर्भमा सांगठानिक कार्यतालिका प्रस्तुत गरेका छन् ।
उनले दुई महिनामा बैठक राख्नुपर्ने, भदौ १५ सम्म सबै विभागलाई पूर्णता, २२ वटा विभाग थप्नेलगायतका प्रस्ताव अघि सारेका छन् ।
गगनले प्रस्तावमा नीति महाधिवेशनको कुरा उठाएपनि गते भने खाली राखेका छन् । साउन २० देखि भदौ १ सम्म संगठन सुदृढीकरण केन्द्रित अभियान, भदौ १० देखि २४ सम्म समुदायसँग संवाद, मंसिर १५ देखि दुई महिना घरघरमा कांग्रेस अभियानको प्रस्ताव अघि सारिएको छ ।
थापाले बैठकमा आगामी २० साउन देखि ३१ असार २०८१ सम्मका लागि पार्टी सदस्यता विस्तार अभियान चलाउने योजनासहित प्रस्ताव गरेका हुन्।
महामन्त्री थापाले यो अभियान अन्तर्गत ५ लाखदेखि ७ लाख नयाँ सदस्य थप्ने योजना पनि अघि सारेका छन् । कांग्रेसले कम्तीमा पनि ५ लाख नयाँ पार्टी सदस्य थप्ने योजनासहित ‘घरघर जाऔँ, पार्टी सदस्य बनाऔँ’ अभियान चलाउने भएको हो ।

























