गृहपृष्ठ विद्युतीय कारोबारमा सर्वसाधारणको चासो बढ्दो, रकममा भने गिरावट
विद्युतीय कारोबारमा सर्वसाधारणको चासो बढ्दो, रकममा भने गिरावट
२०८० जेठमा मात्रै ९ करोड ८ लाख ९८ हजार ८८३ पटकको विद्युतीय कारोबार हुँदा ४४ खर्ब २ अर्बको कारोबार भएको राष्ट्र बैकले जनाएको छ । आर्थिक वर्ष २०७९ \ ८० को जेठ मसान्तसम्म विद्युतीय कारोबार संख्यामा उल्लेख्य बढेको पाइएको छ । विद्युतीय कारोबार संख्या बढिरहँदा कारोबार रकममा भने गिरावट आएको छ ।
गत वर्ष यही अवधिमा ६ करोड ३७ लाख ४० हजार पटक विद्युतीय माध्यमबाट ५४ खर्ब ७ लाख ८६ हजार रुपैयाँको कारोबार भएको थियो। विद्युतीय कारोबार संख्यामा उल्लेख्य बढोत्तरी हुँदा रकम भने १० खर्ब घटेको छ । गत जेठको तुलनामा विद्युतीय कारोबारको संख्या ३ करोड ४३ हजार पटक बढ्दा रकम भने १० खर्बले घटेको हो ।
यस्तै २०८० जेठ एक महिनामा सबैभन्दा धेरै पटक मोबाइल बैंकिङको कारोबार भएको छ । जेठमा मोबाइल बैंकिङमार्फत २ करोड ९२ लाख १० हजार पटक ट्रान्जेक्सन भएको छ । मोबाइल बैंकिङमार्फत २ करोड ९२ लाख १० हजार पटक ट्रान्जेक्सन हुँदा २ अर्ब ३० अर्बको कारोबार भएको छ ।
गत वर्ष हरेक महिना आरटीजीएसमार्फत औसत ३० खर्बको कारोबार हुन्थ्यो। अहिले घटेर औसत २० खर्बमा सीमित भएको छ। २०८० जेठमा आरटीजीएसमार्फत ७२ हजार ४७६ पटकको विद्युतीय कारोबार हुँदा २७ खर्ब ५२ अर्ब ७६ करोड ४ लाख रुपैयाँको कारोबार भएको छ ।
जेठमा शाखा रहित बैंकिङमार्फत ७९ हजार पटक कारोबार हुँदा १ अर्ब ७० करोडको कारोबार भएको छ। त्यसैगरी वालेटबाट २ करोड ६ लाख पटकको कारोबारमा २० अर्ब १४ करोड रुपैयाँ लेनदेन भएको छ ।
त्यसैगरी क्युआर कोडमार्फत ९५ हजार पटकको कारोबारमा २८ अर्बको कारोबार भएको छ। कनेक्ट आईपीएसबाट ४६ लाख ३२ हजार पटकमा ४ खर्ब १७ अर्बको कारोबार भएको छ। इन्टरनेट बैंकिङको कारोबार संख्या र कारोबार रकम दुवै बढेको छ । जेठमा २ लाख ८६ हजार पटको कारोबार हुँदा १४ अर्ब ५४ करोड रुपैयाँ लेनदेन भएको छ ।
प्रकाशित समय : १०:३४ बजे
















