मेसी औपचारिक रूपमा अमेरिकी क्लब इन्टर मियामीमा
वि.सं.२०८० असार ३१ आइतवार ०७:५०
shares
अर्जेन्टिनी स्टार लिओनल मेसीले एमएसएल क्लब इन्टर मियामीसँग आधिकारिक रुपमा अनुबन्ध भएका छन् । शनिबार औपचारिक रूपमा अमेरिकी एमएलएस टिम इन्टर मियामीसँग सन् २०२५ सम्मका लागि अनुबन्ध भएका हुन् । सात पल्टका बेलन डे’अर विजेता ३६ वर्षीय मेसीले पछिल्लो सिजनको समाप्तीमा पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेका थिए ।
अर्जेन्टिनाका लागि पछिल्लो विश्वकप जितेका मेसीले नयाँ अनुबन्धपछि भनेका छन्, ‘आफ्नो खेल जीवनको नयाँ सुरुआतका लागि म निकै उत्साहित छु । हामी सबै मिलेर यसलाई उत्कृष्ट बनाउनु पर्छ ।’ उनी पहिलो पल्ट युरोप बाहिरको क्लबका लागि खेल्दैछन् र उनले यसलाई ठूलो अवसर पनि मानेका छन् ।
यहि जुलाई २१ मा क्रुज अजुल विरुद्ध हुने लिग कपको पहिलो खेलमा लागि मेसी उपलब्ध हुनेछन् ।
बार्सिलोनामा दुई दशक बिताएपछि २०२१ मा पीएसजी पुगेका मेसीले त्यहाँ ७५ खेलमा ३२ गोल गरे । गत सिजन उनले १६ गोल र १६ असिस्ट गरे ।
मेसीले बार्सिलोनाका लागि ६७२ गोल गरे र १० ला लिगा, चार च्याम्पियन्स लिग तथा सात स्पानिस कप जिते ।

























