गृहपृष्ठ मुगुका स्थानीय तहले ल्याए दुई अर्बको बजेट
मुगुका स्थानीय तहले ल्याए दुई अर्बको बजेट
जिल्लामा रहेका स्थानीय तहले दुई अर्ब बढीको बजेट सार्वजनिक गरेका छन् । मुगुका चारवटा स्थानीय तहले सङ्घीय, प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान र स्थानीय राजश्व सङ्कलन सहितको बजेट सार्वजनिक गरेका हुन् ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार प्रत्येक वर्ष असार १० देखि स्थानीय तहले नीति तथा कार्यक्रमसहित बजेट अधिवेशन सुरु गरी मसान्तसम्ममा सम्पन्न गरिसक्नुपर्ने व्यवस्था छ । सोही ऐन अनुसार यहाँका स्थानीय तहले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रस्तावित बजेटबारे गाउँ रनगरसभामा छलफल अघि बढाएका छन् ।
खत्याड गाउँपालिकाको गाउँसभाले असार ८ गते १२औँ गाउँसभा बैठकमा गाउँपालिका अध्यक्ष अजबहादुर शाहीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पास गदै उपाध्यक्ष सरिता रोकायाले सार्वजनिक गरेको बजेटमाथि छलफल अघि बढाइएको छ ।
गाउँपालिकाका उपाध्यक्ष रोकायाले आर्थिक वर्ष २०८०/८१ का लागि रू ५४ करोड ५० लाख ६४ हजार चार सय ३२ बजेट गाउँसभामा प्रस्तुत गरेका थिए । बजेटमाथि गाउँसभा बैठकमा छलफल भइरहेको र आगामी २७ गते बस्ने गाउँसभाले बजेट पास गर्ने उपाध्यक्ष रोकायाले जानकारी दिए ।
छायाँनाथ रारा नगरपालिका, सोरु गाउँपालिका र मुगुम कार्मारोङ गाउँपालिकाले असार १० गते नगररगाउँसभा बैठक गरी नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरेका छन् ।
छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णु कामर भामले नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सोही नीति तथा कार्यक्रममा रहेर उपप्रमुख ऐश्वर्या मल्लले आगामी आर्थिक वर्षका लागि १३औँ नगरसभामा बजेट प्रस्तुत गरे । उपप्रमुख मल्लले आगामी आर्थिक वर्षका लागि रू ६० करोड ६९ लाख ४१ हजार चार सय ७२ बजेट प्रस्तुत गरेका थिए ।
विकासका योजना, नगरपालिकाका नियमित योजना र गौरवका योजनामा बजेट बाँडफाँड गरिएको भन्दै बजेटमाथि छलफल भइरहेको उनले बताए । उनका अनुसार असार मसान्त अघि नै बजेट पास हुनेछ ।
सोरु गाउँपालिकाको १२औँ गाउँसभामा अध्यक्ष धर्मबहादुर शाहीले नीति तथा कार्यक्रम प्रस्तुत गरे भने उपाध्यक्ष केशरबहादुर शाहीले आगामी वर्षका लागि बजेट प्रस्तुत गरेका थिए । गाउँसभामा उपाध्यक्ष शाहीले रू ४६ करोड ४६ लाख ४७ हजारको बजेट ल्याएका थिए ।
मुगुम कार्मारोङ गाउँपालिकाले नीति तथा कार्यक्रमका साथै बजेटसमेत बाँडफाँट गरी पास गरिसकेको छ । गाउँपालिकाको १२औँ गाउँसभामा आगामी आवका लागि अध्यक्ष छिरिङ क्याप्ने लामाले ल्याउनु भएको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उपाध्यक्ष छिरिङ फुटी लामाले प्रस्तुत गरेका ३८ करोड ४१ लाख ३७ हजार चार सयको बजेट सर्वसम्मत पारित गरेको छ । गाउँसभा बैठक असार १० र ११ गते चलेको थियो ।
प्रकाशित समय : १२:४१ बजे


















