गृहपृष्ठ वेस्ट इन्डिजसँग नेदरल्यान्ड्सको ऐतिहासिक जित
वेस्ट इन्डिजसँग नेदरल्यान्ड्सको ऐतिहासिक जित
विश्वकप छनोट क्रिकेटमा नेदरल्यान्ड्सले वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक जित हात पारेको छ । सोमबार जिम्बाब्वेको हरारेमा नेदरल्यान्ड्सले वेस्ट इन्डिजविरुद्ध सुपर ओभरमा रोमाञ्चक जित हात पारेको हो । दुई पटकको एकदिवसीय च्याम्पियन वेस्ट इन्डिजलाई पहिलो पटक हराएको हो ।
वेस्ट इन्डिजलाई जितका लागि सुपर ओभरमा ३१ रन बनाउनुपर्ने थियो । तर उसले ८ रन मात्र जोड्न सक्यो । पहिलो बलमा लोगन भान बीकलाई छक्का प्रहार गरेका वेस्ट इन्डिजका ब्याटर जोन्सन चार्ल्सले दोस्रो बलमा १ रन लिए । त्यस्तै तेस्रो बलमा कप्तान शाई होपले १ रन लिए । चौथो बलमा चार्ल्सलाई आउट गरेका बीकले पाँचौँ बलमा रोमारियो शेफर्डलाई आउट गर्दै टिमलाई जित दिलाए ।
सोमबारको खेल सकिएसँगै समूह-ए का सबै खेल सकिएका छन् । समूह-ए मा आयोजक राष्ट्र जिम्बाब्वे ८ अंकसहित शीर्ष स्थानमा रहेको छ । त्यस्तै नेदरल्यान्ड्स ६ अंकसहित दोस्रो स्थानमा रहँदा वेस्ट इन्डिज ४ अंकसहित तेस्रो स्थानमा रह्यो । यस पटक वेस्ट इन्डिजले जिम्बाब्वेसँग पनि हार बेहोरेको थियो । वेस्ट इन्डिजले नेपाल र अमेरिकाविरुद्ध मात्र जित हात पारेको हो ।
प्रकाशित समय : ०७:१२ बजे



















