गृहपृष्ठ क्व्होलासोथारको एक हजार २०० वर्ष पुरानो ऐतिहासिकता उजागर गरिँदै
क्व्होलासोथारको एक हजार २०० वर्ष पुरानो ऐतिहासिकता उजागर गरिँदै
गण्डकी । तमु समुदायको एक हजार २०० वर्ष अघिको इतिहास जोडिएको क्व्होलासोथारको ऐतिहासिकता उजागर गर्नका लागि तमुु समुदायले सक्रियता बढाएका छन् । ऐतिहासकस्थल भएर पनि यसको उजागर र प्रवर्द्धन हुन नसकेको भन्दै तमु समुदायसम्बद्ध सङ्घसंस्थाले चासो देखाएका हुन् ।
ऐतिहासिकताको उजागर गर्दै यसको संरक्षण, प्रचारप्रसार र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ विभिन्न प्रयासहरू भइरहेको अवस्थामा तमुु प्येल्हु सङ्घ युकेको टोलीले आइतबारदेखि पोखराबाट लमजुङको भुजुङ हुँदै त्यसतर्फको यात्रा तय गरेको सङ्घका अध्यक्ष डेमबहादुर गुरुङले जानकारी दिए । तमु जातिको पहिचान एवम् अस्तित्वसँग जोडिएको क्व्होलासोथारको महत्व र गरिमालाई अझै उचो बनाउने उद्देश्यसहित ५५ सदस्यीय टोली त्यसतर्फ जान लागेको उनले बताए ।
टोलीले स्थलगत भ्रमण पश्चात् त्यहाँको अवस्थाबारे चित्रण गर्दै तमु प्येल्हु सङ्घ केन्द्रीय समितिमा प्रतिवेदन प्रस्तुत गर्ने सङ्घ युकेका सचिव भेग गुरुङले जानकारी दिए । क्व्होलासोथारलाई पुर्खाहरूले क्होला सोँप्रे ट्होका नाममा पनि लिने गरेका बताउँदै उनले प्राचीन मौलिकताको उजागर गर्ने लक्ष्य राखिएको बताए ।
कास्की र लमजुङको सिमानामा रहेको क्होला सोँप्रे ट्हो तमु धर्मगुरुहरूले वाचन गर्ने गरेका बोँन धार्मिक ग्रन्थमा उल्लेख भएको जानकारी दिँदै सचिव गुरुङले सन् २००० मा क्याम्ब्रिज युनिभर्सिटी र पुरातत्व विभागद्वारा यसस्थलका बारेमा जानकारी लिन पहिलोपटक उत्खनन सुरु गरे पनि त्यसले अन्तिम रुप प्राप्त गर्न नसकेको बताए ।
क्व्होलासोथारको ऐतिहासिकता र महत्वलाई उजागर गर्नका लागि सुरु गरिने भ्रमणका क्रममा प्राप्त भएका जानकारी, विवरणलाई प्रतिवेदन बनाइ ती प्रतिवेदन एकिकृत गरी यस क्षेत्रको प्रवर्द्धन र विकासका लागि योजनासहित सरोकार भएका निकायहरूको ध्यानाकर्षण गराइने सङ्घका केन्द्रीय महासचिव हर्क गुरुङले बताए ।
सङ्घका केन्द्रीय अध्यक्ष ओमबहादुर गुुरुङले क्व्होलासोथारको संरक्षणसँगै प्रचारप्रसार र प्रवर्द्धन गर्न सकिएमा नेपालोै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने धारणा राखे । हालै तमु प्येल्हु सङ्घ हङकङको टोलीले उक्त क्षेत्रको स्थलगत अध्ययन तथा अवलोकन गरी फर्किसकेको छ ।
गण्डकी प्रदेशको लमजुङ जिल्लामा पर्ने क्व्होलासोथार गाउँपालिका उत्तर-पूर्वमा मर्स्याङ्दी गाउँपालिका, पश्चिममा कास्कीको सिमाना, दक्षिण-पूर्वमा बेँसीसहर नगरपालिका र दक्षिण(पश्चिममा मध्यनेपाल गाउँपालिकाको बीचमा अवस्थित छ ।
क्व्होलासोथार गाउँपालिकामा पर्यटकीय सम्भावना बोकेका, प्राकृतिक सुन्दरताले भरिएका क्षेत्र भएकाले यस क्षेत्रको पर्यटन प्रवर्द्धन गर्नु जरुरी रहेको सङ्घको भनाइ छ । क्व्होलासोथारबाट देखिने हिमाली श्रृङ्खलाको आकर्षणका साथै यहाँ रहेका ऐतिहासिक र पुरातत्विक सम्पदाको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा सङ्घले जोड दिएको छ ।
प्रकाशित समय : १७:१० बजे



















