गृहपृष्ठ सीमित स्रोतका कारण केही योजनामा बजेट बिनियोजन भएन : पर्यटनमन्त्री किराती

सीमित स्रोतका कारण केही योजनामा बजेट बिनियोजन भएन : पर्यटनमन्त्री किराती

सीमित स्रोतका कारण केही योजनामा बजेट बिनियोजन भएन : पर्यटनमन्त्री किराती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सीमित स्रोत, कानुनी उल्झनका कारण कतिपय क्षेत्रमा बजेट बिनियोजन गर्न नसकिएको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा पर्यटन मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले मन्त्रालयसम्बन्धी शीर्षकमा अधिकतम कार्यक्रम समेटिए पनि कतिपय कार्यक्रम छुटेकामा आफू दुःखी रहेको बताए ।

“बजेटसँगै खुसी पनि बाँडियो भन्ने लागेको थियो । तर, बजेटसँगसँगै दुःख पनि बाँडिएछ”, उनले भने, “बजेट परेका योजनामा कम बजेट भएको छ भने बजेट नै नपरेका योजनामा त खुसी हुने कुरै भएन । अझ रिसाउनुभएको छ ।”

मन्त्री किरातीले आफूसँग आएका हजारौँ मागमध्ये छानेस सम्बन्धित मन्त्रालयमा पठाएको बताए । “बजेटको सीमाले कतिपय कार्यक्रम छुटेका छन् । स्वाभाविकरुपमा बजेट असन्तुलन हुन गएको छ, त्यसका निम्ति म यो सदनमा क्षमाप्रार्थी छु”, उनले भने ।

पर्यटनमन्त्री किरातीले नेपालमा विकासको ढाँचा सच्याएर सङ्घीयताको मर्म र भावनाअनुसार योजनाको वर्गीकरण र प्राथमिकीकरण गरिनुपर्ने उल्लेख गरे।

उनले नेपालको संस्कृति र प्रकृतिको संयोजनबाट स्थानीय स्वाद र स्वामित्वसहितको आजको पर्यटन विकास हुन जरुरी रहेको बताए । संसारले फोटोकपी गर्न नसक्ने, सगरमाथा, पशुपतिनाथ, लुम्बिनीलगायत सम्पदाको संरक्षण विकासमा ध्यान दिनुपर्ने उनहाँले उल्लेख गरे ।

पर्यटनमन्त्रीले भने, “आर्थिक वर्ष २०८०÷८१ का लागि मन्त्रालयमा बजेटको सीमा करिब ४५ प्रतिशतले घटेर आएको छ । यति हुँदा पनि सकेसम्म देशैभरि सञ्चालन हुनेगरी बढीभन्दा बढी कार्यक्रम समेटिएका छन् । प्रादेशिक सन्तुलनलाई ध्यान दिँदै प्रत्येक प्रदेशका महत्वपूर्ण सांस्कृतिक, धार्मिक एवं पर्यटकीय क्षेत्रको विकासलाई ध्यान दिएर बजेट विनियोजन गरिएको छ ।”

 

प्रकाशित समय : १७:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु