global ime bank Long Banner Ad

गृहपृष्ठ रोकिएको कृषि सम्बन्धी बीमालेख एक महिना पछि जारी

रोकिएको कृषि सम्बन्धी बीमालेख एक महिना पछि जारी

रोकिएको कृषि सम्बन्धी बीमालेख एक महिना पछि जारी

सरकारले अनुदान दिन रोकेपछि रोकिएको कृषि सम्बन्धी बीमालेख जारी गर्ने कार्य मंगलबारबाट शुरु गरिएको छ । नेपाल बीमक संघका महासचिव अशोककुमार खड्काले विज्ञप्ति प्रकाशित गरी जेठ ७ गतेदेखि बीमालेख जारी गर्न बन्द गरिएको प्रति क्षमा मागेर जारी गराएका छन् ।

सरकारले २०६९ सालदेखि कृषक र कृषिलाई प्राथमिकता दिई कृषि बीमा शुल्कमा क्रमशः अनुदान दिंदै आएकोमा २०७७ सालदेखि करीब ३ अर्ब अनुदान रकम बाँकी थियो । महासचिव खड्काका अनुसार बीमकहरुले उक्त रकम बारम्बार पहल गर्दा पनि नपाएपछि बाध्य भएर बीमालेख जारी गर्न बन्द गरिएको थियो ।

कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालको अध्यक्षतामा जेठ ३० गते बसेको बैठकले हाल केही रकम उपलब्ध गराई बाँकी रकम उपलब्ध गराउने प्रतिबद्धता जारी गरेकाले मंगलबारबाट उक्त कृषि बीमालेख जारी सुचारु गरिएको बीमक संघद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

सरकारले कृषि बीमा वापत कम्पनीहरुलाई पहिलो किस्ता वापत ७२ करोड रुपैयाँ निकासा गरेको छ । सरकारले बजेटमार्फत कृषि तथा पशुपन्छी बीमामा ८० प्रतिशत रकम अनुदान दिने घोषणा गरेको थियो । तर, घोषणा गरेअनुसार सरकारले समयमै अनुदान नदिएपछि बीमा कम्पनीहरुले यो बीमा पोलिसी बिक्री बन्द गरेका थिए ।

नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीका अनुसार सरकारले करिब ३ अर्ब अर्थात २ अर्ब ९४ करोड रुपैयाँ अनुदान दिन बाँकी थियो । जसमध्ये पहिलो चरणमा ७२ करोड रुपैयाँ दिने भएसँगै अझै सरकारले २ अर्ब २२ करोड रुपैयाँ निकासा गर्न बाँकी छ । अध्यक्ष क्षेत्रीका अनुसार अब दोश्रो चरणको रकम आगामी साउनभित्रमा निकासा गर्ने सम्भावना बढी रहेको छ ।

गत जेठ ३० गते कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भसालको अध्यक्षतामा मन्त्रालयका दुबै सचिवहरुको संयुक्त सहभागितामा बसेको बैठकमा अनुदान रकम तत्काल उपलब्ध गराउने प्रतिवद्धता भएको छ ।

यदि असार मसान्त सम्ममा पनि सरकारले अनुदान रकम नदिएमा पुनः बीमालेख बन्द गरिने संघले चेतावनी दिएको छ । नेपाल सरकारले २०६९ सालदेखि कृषक र कृषिलाई प्राथमिकता दिई कृषि बीमाशुल्कमा क्रमशः अनुदान दिँदै आएको छ ।

बीमक संघका अनुसार सरकारले २०७७ सालदेखिको कृषि बीमाको अनुदान बापत करिब ३ अर्ब रुपैयाँ दिन बाँकी रहेको छ । त्यस्तै, हाल निकासा भएको उक्त रकम नेपाल बीमा प्राधिकरणको खातामा जाने र त्यसपछि मात्रै कम्पनीहरुलाई वितरण गरिने छ । चरणवद्ध रुपमा रकम निकासा भएपनि कम्पनीहरुले कृषि बीमा पोलिसी बिक्रि खुल्ला गरेको हो ।

प्रकाशित समय : ०६:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु