गृहपृष्ठ आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याएको बजेटः कुन प्रदेशमा कति

आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याएको बजेटः कुन प्रदेशमा कति

आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याएको बजेटः कुन प्रदेशमा कति

गत साता सातै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट ल्याएका छन् । चालु आर्थिक वर्षको तलुनामा कतिपय प्रदेशले बजेट बढाएका छन् भने, केही प्रदेशले बजेट सन्तुलन गरेका छन् ।

कोशी प्रदेशमा भने बिहीबार नै बजेट ल्याइएको थियो । कोशीमा सरकार अल्पमतमा रहेका कारण अध्यादेशबाट बजेट ल्याएको हो । भने, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसभामा सम्बन्धित मन्त्रीले शुक्रबार बजेट कार्यक्रममा प्रस्तुत गरेका हुन् ।

कोशीमा अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बजेट प्रस्तुत गरेका हुन् । अन्य प्रदेशहरूले प्रदेशसभामा बजेट प्रस्तुत गरे पनि कोशीमा भने प्रदेशसभाको अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याइएको हो ।

प्रदेशको बजेट यस्तो छ ?

कोशीः ३६ अर्ब २४ करोड ३५ लाख १० हजार

कोशी प्रदेशमा आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि कुल ३६ अर्ब २४ करोड ३५ लाख १० हजारको बजेट ल्याइएको छ । त्यसमध्ये चालु खर्चतर्फ १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार, पुँजीगततर्फ १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार र वित्तीय व्यवस्थापनतर्फ १ अर्ब विनियोजन गरिएको छ ।

मधेशः ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार

मधेशका अर्थमन्त्री संजय कुमार यादवले शुक्रबार प्रदेशसभामा आर्थिक वर्ष २०८०÷८१ को लागि ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजारको बजेट प्रस्तुत गरे । त्यसमध्ये चालुतर्फ १८ अर्ब २१ करोड ७६ लाख १४ हजार (४१.३० प्रतिशत), पुँजीगततर्फ २५ अर्ब ६९ करोड ७० लाख १८ हजार (५८.२५ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ २० करोड (०.५४ प्रतिशत) विनियोजन गरिएको यादवले ल्याएका छन् ।

यस्तै, प्रदेश सरकारले चालु आर्थिक वर्षभन्दा करिब ४ अर्ब कम अकारको बजेट ल्याएको हो । चालु आर्थिक वर्षमा प्रदेशमा ४६ अर्ब ९१ करोड ४८ लाख ८८ हजारको बजेट ल्याएको थियो । त्यसमध्ये चालु आर्थिक वर्षमा ६५ प्रतिशत बजेट मात्र खर्च हुने प्रदेश सरकारको अनुमान छ ।

बागमतीः ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार

बागमतीका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले शुक्रबार प्रदेशसभामा आर्थिक वर्ष २०८०÷८१ का लागि ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँको बजेट प्रस्तुत गरे । त्यसमध्ये चालुतर्फ २६ अर्ब ७० करोड २७ लाख ६९ हजार र पुँजीगततर्फ ३५ अर्ब ५० करोड ६३ लाख ९ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

भने, चालु आर्थिक वर्ष २०७९÷८० मा बागमतीमा ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । चालु आर्थिक वर्षको तुलनामा ८ अर्ब कमको बजेट ल्याइएको हो ।

गण्डकीः ३३ अर्ब ४२ करोड ७२ लाख

गण्डकीका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले शुक्रबार प्रदेशसभामा आर्थिक वर्ष २०८०÷८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट प्रस्तुत गरे । कुल बजेटमध्ये चालुतर्फ १२ अर्ब १३ करोड ६७ लाख रुपैयाँ (३८.१ प्रतिशत) र पुँजीगततर्फ २० अर्ब १९ करोड ६२ लाख रुपैयाँ (६०.४ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ ५० करोड रुपैयाँ (१.५ प्रतिशत) छुट्याइएको छ ।

लुम्बिनीः ४० अर्ब ४७ करोड ९७ लाख

लुम्बिनीका आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले शुक्रबार प्रदेशभामा आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेट प्रस्तुत गरे । त्यसमध्ये चालुतर्फ १५ अर्ब ६३ करोड ३० लाख ९९ हजार र पुँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख १ हजार रुपैयाँ विनियोजना गरिएको छ ।

कर्णालीः ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार

कर्णालीका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार रुपैयाँको बजेट प्रस्तुत गरे । त्यसमध्ये चालुतर्फ ९ अर्ब २० लाख २४ हजार र पुँजीतर्फ १९ अर्ब ५७ करोड ७२ लाख ४३ हजार विनियोजन गरिएको छ ।

सुदूरपश्चिमः २९ अर्ब २६ करोड ५९ लाख

सुदूरपश्चिम सरकारले आर्थिक वर्ष २०८०÷८१ का लागि २९ अर्ब २६ करोड ५९ लाख रुपैयाँको बजेट प्रस्तुत गरे । त्यसमध्ये चालुतर्फ ९ अर्ब ५९ करोड रुपैयाँ र पुँजीगततर्फ १७ अर्ब २ करोड रुपैयाँ छुट्याइएको छ । सुदूरपश्चिममा चालु आर्थिक वर्ष २०७९÷८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजारको बजेट ल्याएको थियो ।

आकारका दृष्टिले बागमती प्रदेशको बजेट सबैभन्दा ठूलो छ । बागमतीमा कुल ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँको बजेट ल्याइएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशले ल्याएको बजेट आकारका दृष्टिले सबैभन्दा सानो छ ।

सुदूरपश्चिममा २९ अर्ब २६ करोड ५९ लाखको बजेट ल्याइएको छ । यसरी हेर्दा सुदूरपश्चिमको भन्दा बागमतीको बजेट दोब्बरभन्दा ठूलो छ ।

प्रकाशित समय : १४:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु