global ime bank Long Banner Ad

गृहपृष्ठ कोशी र गण्डकीमा आज पनि भारी वर्षा हुँदै

कोशी र गण्डकीमा आज पनि भारी वर्षा हुँदै

कोशी र गण्डकीमा आज पनि भारी वर्षा हुँदै

आज कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानबाहेक अन्य स्थानमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

महाशाखाका मौसमविद् अनुसार गत २४ घण्टामा कोशी प्रदेशको ताप्लेजुङमा भारी वर्षा भएको छ । गत चौबीस घण्टामा ताप्लेजुङको दोभान स्टेसनमा ५५.२ मिलिमिटर र ताप्लेजुङ स्टेसनमा ५१ मिलिमिटर वर्षा मापन भएको छ, यो भनेको भारी वर्षा हो ।

अन्त भारी वर्षाको सम्भावना नभए पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

जुन १४ तारिखमा नेपाल भित्रिएको मनसुन अहिले कोशी प्रदेशमा बढी सक्रिय छ । त्यसैले त्यहाँको वर्षा, बाढी र पहिरोले मानवीय क्षतिसमेत पुर्याएको छ । ताप्लेजुङको सिदिङ्वा–६ मेहेलेमा एकै परिवारका तीनसहित चार जना पहिरोमा परी बेपत्ता भएका छन् । सडक, पुल लगायतका संरचनामा क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डिएसपी राजन लिम्बुका अनुसार ताप्लेजुङको आकाश बादलले आज बिहान पनि पूरै ढाकेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार गएराति कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा भएको थियो । मौसमविद सन्जिब अधिकारीका अनुसार पाँचथरको फिदिममा गत १२ घण्टामा ४१.८ मिलिमिटर र तेह्रथुममा ३१.४ मिलिमिटर वर्षा भएको रेकर्ड छ । पाँचथरमा पनि पाँच जना बेपत्ता छन् भने केही घर बगेका छन् ।

आज पनि कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा र केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

प्रकाशित समय : ०९:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु