स्थानिय तहबाटै पुनः र व्यक्तिगत श्रम स्वीकृति जारी, रोकिएला ठगी ?
वि.सं.२०८० जेठ ३१ बुधवार ०७:४५
shares
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैशाख १ गतेदेखि अनलाइन प्रणालीबाटै श्रम स्वीकृति वितरण गर्ने व्यवस्था ल्याएको थियो । उक्त नियमअनुसार पछिल्लो समय धेरै स्थानिय तहबाटै पुनः र व्यक्तिगत श्रम स्वीकृति जारी गर्न थालिएकाे छ ।
स्थानिय तहले पनि वैदेशिक रोजगारीमा जाने कामदारलाई श्रम स्वीकृति जारी गर्न थालेका छन् । स्थानिय तहबाटै श्रम स्वीकृति वितरण गर्ने व्यवस्था लागू भएसँगै हेटौंडा उपमहानगरपालिकाले पहिलोपटक श्रम स्वीकृति वितरण गर्न थालेको छ ।
वैदेशिक रोजगारीमा जाने कामदारको हकमा यही सातादेखि व्यक्तिगत र पुनः श्रम स्वीकृति जारी गर्न थालिएको उपहानगरपालिकाका रोजगार संयोजक विजन श्रेष्ठले जानकारीले दिए ।
हेटौंडा उपमहानगरपालिकाले जस्तै अन्य स्थानिय तहले समेत पुनः र व्यक्तिगत श्रम स्वीकृति आगामी आर्थिक वर्षदेखि जारी गर्ने तयारीमा रहेकाे श्रम मन्त्रालयले जनाएको छ ।
यसअघि श्रम स्वीकृतिका लागि वैदैशिक रोजगार विभाग अन्तर्गतको श्रम कार्यालय धाउनुपर्ने बाध्यता थियो । स्थानिय तहबाट कामदारले श्रम स्वीकृतिका लिन श्रम स्वीकृति लिने व्यक्तिको राहदानी, एकप्रति पासपोर्ट साइजको फोटो, पारिवारिक विवरण, बैंक खाता, व्यक्तिगत इमेल आइडी, फोन नम्बर, रोजगारदाताले दिएको सम्झौतापत्र, राहदानीको प्रतिलिपिसहित सम्बन्धित स्थानिय तहमा पेश गर्नुपर्ने विभागले जनाएको छ ।
वैदेशिक रोजगारीका नाममा भइरहेको ठगि नियन्त्रण गर्ने कानुन र अधिकार पनि स्थानिय तहसँग भएको वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालले जानकारी दिए । सरकारले वैदेशिक रोजगारीकाे क्षेत्रलाई व्यवस्थित गर्नका लागि स्थानिय तहलाई श्रम स्वीकृतिका अधिकार दिएको उनको भनाइ छ ।
यस्तै, वैदैशिक रोजगार कल्याणकारी कोष, सामाजिक सुरक्षा कोष र बिमा रकमबापत तिर्नुपर्ने शुल्क तोकिएको बैंक खातामा जम्मा गरेपछि श्रम स्वीकृतिका लागि प्रक्रियाको काम सुरु हुन्छ । वैदेशिक रोजगारी क्षेत्रमा अहिले एजेन्ट र विचौलियाको विगविगी छ । जसका कारण स्थानिय तहका कर्मचारी र एजेन्टको मिलोमत्तोमा ठगि बढ्न सक्ने अशंका रोजगारविज्ञहरुको छ ।
अहिले केन्द्र र प्रदेशबाट मात्र श्रम स्वीकृति जारी गर्दा वैदेशिक रोजगारीका नाम ठगी बढ्दो छ भने, स्थानिय तहबाट श्रम स्वीकृति जारी गर्दा ठगी झन बढ्ने रोजगारविज्ञहरुले औल्याएका छन् ।
वैदेशिक रोजगारीको प्रलोभन देखाएर चालु आर्थिक वर्षको १० महिनामा गैरकानुनी बिचौलिया र एजेण्टहरुले झण्डै ७६ करोड रुपैयाँ ठगी गरेका छन् । यो ठगि व्यक्तिगत तर्फको भएको विभागको जनाएको छ ।
अहिले व्यक्तिगततर्फ दैनिक १ सय जनाभन्दा बढी कामदार वैदेशिक रोजगारीका नाम ठगिने गरेको विभागकै मासिक तथ्यांकमा उल्लेख छ । वैशाख महिनामा मात्रै एजेण्ट र बिचौलियाबाट भएको ठगीमा एक सय चार वटा उजुरी परेको छ । चालु आर्थिक वर्षको १० महिनामा नौ सय २५ वटा एजेण्ट र बिचौलियाबाट भएको ठगीको उजुरी विभागमा दर्ता भएका थिए ।
हाल वैदेशिक रोजगारीमा दैनिक १ हजार ३ सयभन्दा बढी नेपाली कामदार विदेशीने गरेको विभागको तथ्यांक छ । पछिल्लो समय स्थानिय तहले पनि वैदेशिक रोजगारी क्षेत्रका मुद्दा हेर्दै आएको छ भने रोजगारसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

























