गृहपृष्ठ आँखाको नानीमा नेपाल आत्मनिर्भर छ : नेपाल आँखा बैंक

आँखाको नानीमा नेपाल आत्मनिर्भर छ : नेपाल आँखा बैंक

आँखाको नानीमा नेपाल आत्मनिर्भर छ : नेपाल आँखा बैंक

आँखा दान गर्नेको सङ्ख्या बढेसँगै  आँखाको नानीमा नेपाल आत्मनिर्भर बनेको नेपाल आँखा बैंकले बताएको छ ।

आँखा दानप्रतिको बद्लिँदो सकारात्मक सोचका कारण दाताको सङ्ख्या बढ्दै गएको बैंकका व्यवस्थापक शङ्करनारायण न्वयनाले बताए ।

आज यहाँ आयोजित ‘आँखादान तथा सामूहिक श्रद्धाञ्जलीसभा सम्बन्धी पत्रकार सम्मलेन’ मा सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले भने, “बैंकमा आँखाको नानी सुरुको अवस्थामा विदेशबाट झिकाइन्थ्यो भने अहिले आँखाको नानी देश भित्रबाटै सङ्कलन हुन्छ ।” उनका अनुसार अहिले बैंकले देशभित्र अन्य अस्पतालमा समेत प्रत्यारोपणका लागि आँखाको नानी उपलब्ध गराउँदै आएको छ ।

नेपाल आँखा बैंकमा हालसम्म एक लाखभन्दा बढी दाताले मृत्युपर्यन्त आँखाको नानी दान गर्ने प्रण गरिसकेको र भने १२ हजारभन्दा बढीले आँखाको नानी दान प्राप्त गरी पुनःदृष्टि प्राप्त गरेको उनले जानकारी दिए ।

बैंकले सन् १९९४ मा दुई दाताबाट आँखाको नानी सङ्कलन सुरु गरेको थियो । बैंकले हाल वार्षिक एक हजार तीन सय दाताबाट आँखाको नानी सङ्कलन गर्दै आएको छ । सन् २०१८ मा एक हजार एक सय ७८ दाता र सन् २०२२ मा एक हजार ४३ दाताबाट आखाँको नानी सङ्लग्न गरेर प्रत्यारोपण गरिएको छ ।

बैंकका निर्देशक डा लिना बज्राचार्यले आँखा दानप्रतिको बढ्दो सकारात्मक सोचका कारण दाताको सङ्ख्या बढेको बताए । उनले भने, “सुरुआतमा पशुपतिको आर्यघाटलगायत विभिन्न ठाँउमा गएर आँखा दानसम्बन्धी मानिसमा जनचेतना जगायौँ । अहिले मन्दिरदेखि अस्पतालसम्म दाताका आफन्तलाई ‘काउन्सिलिङ’ गरिरेहका छौँ । आँखा दानप्रतिको सोचमा सकारात्मक  परिवर्तन पाएका छौँ ।”

आँखा दानसम्बन्धी सचेतना बढे पनि अन्धविश्वास चुनौती बनेको उनी बताउछन् । “मृत्युपछि आँखाको नानी दान गर्नेको सङ्ख्या दोब्बरले बढेको छ । तर कतिपय अझै पनि अन्धविश्वासका कारण दान गर्न हिचकिचाउनुहुन्छ । उहाँहरूलाई हामी सक्दो काउन्सिलिङ गर्दै आएका छौँ”, उनले भने ।

नेपाल आँखा बैंकले सन् १९९४ देखि नै मृत्युपश्चात आँखाको नानी दान गर्ने दाताहरूबाट नानी सङ्कलन, परीक्षण र सञ्चयलगायत आवश्यक परेकालाई नानी उपलब्ध गराउने कार्य गर्दै आएको छ । बैंकले स्थानीय आँखा अस्पतालको समन्वयमा मेची, विराटनगर, लहान, हेटौँडा, भरतपुर, लुम्बिनी, पोखरा र कैलालीमा पनि क्षेत्रीय आँखा नानी सङ्कलन केन्द्रबाट आँखाको नानी सङ्कलन गरिरहेको छ ।

प्रकाशित समय : १९:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु