nmb bank

गृहपृष्ठ बजेट विनियोजन भएर पनि योजना कार्यान्वयन भएनन्

बजेट विनियोजन भएर पनि योजना कार्यान्वयन भएनन्

बजेट विनियोजन भएर पनि योजना कार्यान्वयन भएनन्

म्याग्दीको मालिका गाउँपालिका–३ र ४ को सिमानामा पर्ने अदिभारामा मोटरेबल पुल निर्माणका लागि गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ देखिनै बजेट बिनियोजन गरेर वार्षिक योजना पुस्तिका (रातो किताब)मा समावेश गरेको थियो ।

लागत अनुमानको २० प्रतिशत बजेट विनियोजन र स्रोत सुनिश्चितता नहुँदा प्रदेश सरकारको वार्षिक योजनामा समावेश भए पनि पुल निर्माण अघि बढ्न सकेको थिएन । वार्षिक योजनामा समावेश हुन थालेको दुई वर्षपछि भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले अदिभारा सडक पुल निर्माणको प्रक्रीया अघि बढाएको छ ।

पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख गुरुदत्त अधिकारीले स्रोत सुनिश्चितता र थप बजेटको व्यवस्थापन भएपछि पुल निर्माणको ठेक्का प्रक्रिया अघि बढाउन लागिएको जानकारी दिए । “पच्चीस मिटर लामो सडक पुलको डिपिआर तीन वर्षअघिनै बनेको थियो”, उनले भने, “चालु आवमै कूल लागतको २० प्रतिशत पुग्ने गरी थप बजेट व्यवस्थापन र बहुवर्षीय ठेक्काका लागि स्रोत सुनिश्चितता भएको पत्र आएको छ । अब योजना कार्यान्वयनको प्रक्रिया अघि बढाउँछौँ ।”

कूल र छ करोड नौ लाख लागत अनुमान गरिएको पुल निर्माणका लागि अघिल्लो आव २०७८/७९ र चालु आव २०७९/८० मा रु ५०/५० लाख विनियोजन भएको थियो । कूल लागत अनुमानको २० प्रतिशतभन्दा बढी बजेट विनियोजन र स्रोत सुनिश्चितता भएका आयोजनाको मात्र ठेक्का लगाउन पाउने नीतिगत व्यवस्थाका कारण पुल निर्माणको काम अघि बढ्न सकेको थिएन् ।

चालु आवमा सो पुल निर्माणका लागि अपुग थप रु ९१ लाख थप बजेट व्यवस्थापन गरेर अर्थ मन्त्रालयले हालै बहुवर्षीय योजनाका लागि स्रोत सुनिश्चितता गरी ठेक्का लगाउन सहमति दिएको हो । अदिभारामा मोटरेबल पुल नहुँदा मालिका गाउँपालिकाको वडा नम्बर २ र ३ नम्बर वडाका बासिन्दालाई पालिकाको केन्द्र दरवाङ आउन जान समस्या भएको थियो ।

प्रकाशित समय : १०:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु