गृहपृष्ठ दक्षिण अफ्रिकी रोजगारीको प्रलोभनमा परेर नठगिन विभागको आग्रह
दक्षिण अफ्रिकी रोजगारीको प्रलोभनमा परेर नठगिन विभागको आग्रह
वैदेशिक रोजगार विभागले दक्षिण अफ्रिकामा आकर्षक जागिरको प्रलोभन देखाएर ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै कामदारलाई प्रलोभनमा नपर्न आग्रह गरको छ ।
भारतमा रहेको दक्षिण अफ्रिकाको उच्चायुक्त र कन्सुलेट जनरलबाट जारी हुने पर्यटक भिसा दक्षिण अफ्रिका आउने प्रयोजनका लागि मात्र भएको हुँदा त्यस भिसाका आधारमा अफ्रिकामा रोजगारीजन्य काममा संलग्न हुन पाउने कानुनी व्यवस्था नभएको विभागको सूचनामा उल्लेख छ ।
आकर्षक सेवा सुविधासहितको पदमा काम लगाइदिने भन्दै त्यो गिरोहले नक्कली ‘वर्क पर्मिट’ बनाएर ठगी गर्ने गरेकाले प्रलोभनमा नपर्न विभागले सम्बन्धीत पक्षलाई जानकारी गराएको छ ।
भिसासम्बन्धी जानकारीका लागि सम्बन्धित देशको नियोग वा ती देश हेर्ने विदेशमा रहेको नेपाली नियोगमा सम्पर्क गरी आधिकारिक जानकारी लिन सकिने विभागका निर्देशक तथा सूचना अधिकारी गुरुदत्त सुवेदीले जानकारी दिए ।
मानव बेचबिखन तथा गैरकानुनी आप्रवासनमा संलग्न गिरोहले एक सय ५० भन्दाबढी व्यक्तिबाट लाखौँ रुपैयाँ सङ्कलन गरिरहेको र सामाजिक सञ्जालमा भ्रमपूर्ण विज्ञापन गरिरहेकाले त्यो गिरोहले पर्यटक भिसामा पठाउने प्रलोभन देखाउने गरेको उनको भनाइ छ ।
कुनै पनि देश जानका लागि सम्बन्धित देशको भिसा आवश्यकपर्ने हुँदा दक्षिण अफ्रिकाबाट युरोप, अमेरिकालगायतका देशमा जान सजिलो हुने कुरा भ्रामक र मिथ्या भएकाले त्यस्ता कुराको विश्वास नगर्न पनि विभागद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।
दक्षिण अफ्रिकाको सरकारी राजपत्रमा २ अगस्ट २०२२ मा प्रकाशित सूचनाअनुसार विशेष ज्ञान, सीप आवश्यकपर्ने एक सय ४० किसिमका दक्ष जनशक्तिको पदमा स्वदेशी नागरिकबाट पदपूर्ति नहुने अवस्थामा मात्र विदेशी नागरिकलाई रोजगारीमा लैजाने कानुनी व्यवस्था छ ।
प्रकाशित समय : १५:३७ बजे


















