global ime bank Long Banner Ad

गृहपृष्ठ प्रधानमन्त्रीले बोलाएको बैठकमा गएनन् मेयर बालेन

प्रधानमन्त्रीले बोलाएको बैठकमा गएनन् मेयर बालेन

प्रधानमन्त्रीले बोलाएको बैठकमा गएनन् मेयर बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले बोलाएको बैठकमा गएनन् । प्रधानमन्त्री नै सहभागी हुने बैठकमा नगएपछि मेयर बालेन र सिंहदरबारबीचको मतभेद अझै नटुंगिएको स्पष्ट संकेत देखिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै अध्यक्षता गरेको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित ५ संघीय मन्त्री बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेल, नुवाकोटका संघीय सांसदहरु, ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनसहित नेपाल सरकारका सचिवहरू, उपत्यकाका नगर प्रमुखहरू उपस्थित थिए।

सो बैठकमा काठमाडौं महानगरबाट प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीमात्रै सहभागी भए । फोहोर विसर्जनस्थल रहेको बञ्चरेडाँडाको प्रभावित क्षेत्रका मेयरसमेत सहभागी बैठकमा बालेनको अनुपस्थितिबारे पनि चर्चा भयो ।

अर्थमन्त्री प्रकाशशरण महतले सिंहदरबारमा बोलाइएको उच्चस्तरीय बैठकमा काठमाडौंका मेयर नआउनु उचित नभएको बताए । ‘फेसबुक र ट्विट अनेक लेखेर बस्ने तर, आधिकारिक रुपमा बोलाउँदा चाहिं नआउने रु’ महतको भनाइलाई उद्धृत गर्दै ती मेयरले भने,‘आफ्ना कुरा राख्न त प्रधानमन्त्रीले बोलाएको बैठकमा आउनुपर्ने हो, राम्रै हुन्थ्यो ।’

काठमाडौंको फोहोर व्यवस्थापन समस्या बर्षा नजिकिएसँगै चर्किने निश्चित जस्तै छ । सरकार, काठमाडौं महानगरपालिका र डम्पिङ साइट रहेको क्षेत्रका स्थानीय तहहरुबीचको असमझदारीका कारण पटकपटक फोहोर व्यवस्थापनको काम आम समस्या बनिसकेको छ ।

बैठकमा सहभागी सांसदहरुले मेयर शाह किन अनुपस्थित भनेर खोजी गरेका थिए ।

सम्बन्धित निकायका कर्मचारी र सरोकारवालाबाट फोहोर व्यवस्थापनबारे जानकारीपछि दिगो व्यवस्थापनका विषयमा छलफल भयो । प्रधानमन्त्रीले वर्षामा पनि फोहोर व्यवस्थापन नरोकिने गरी तयारी गरेर अघि बढ्न निर्देशन दिए ।

बैठकमा काठमाडौं महानगरपालिकाका तर्फबाट सहभागी प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले फोहोर व्यवस्थापनका लागि महानगरले गर्दै आएका कामहरुबारे जानकारी गराएका थिए । विगतमा सरकारले फोहोर व्यवस्थापनका विषयमा महानगरपालिकासँग सम्झौताबमोजिम कार्य नगरेको भन्दै मेयर शाहले चैत अन्तिम साता सिंहदरबारको फोहोर उठाउन बन्द गराएका थिए ।

त्यसका पछि वाग्मती किनारका सुकुम्बासी हटाउन संघीय सरकारले असहयोग गरेको मेयर शाहको आक्रोश समेत जोडिएको थियो । त्यसबेला महानगरपालिकाले करिब दुई सातासम्म सिंहदरबारको फोहोर उठाएको थिएन । मेयर शाहले सिंहदरबारको फोहोर नउठाउने अभिव्यक्ति दिएपछि उनीविरुद्व सर्वोच्च अदालतमा रिट परेको थियो।

संविधानले तोकेको अधिकार क्षेत्रबमोजिम स्थानीय तहले फोहार उठाउँदिन भन्न नमिल्ने भन्दै सर्वोच्चले तत्काल फोहोर उठाउन निर्देशन दिएको थियो । त्यसपछि करिब दुई सातासम्म रोकिएको फोहोर उठाउने कार्य १२ बैशाखदेखि महानगरपालिकाले आफैँले थालेको थियो ।

त्यसपछि फोहोर व्यवस्थापनका विषयमा मेयर शाहले उठाएका सवालमा सरकारसँग संवाद भएको छैन ।महानगरपालिकाले सिंहदरबारको फोहोर उठाउन थालेपछि डम्पिङ साइट रहेको बञ्चरेडाँडा क्षेत्रका स्थानीय तहले विगतमा भएका सम्झौता कार्यान्वयनको प्रश्न उठाएका थिए ।

प्रकाशित समय : २१:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु