गृहपृष्ठ भ्रष्टाचारीको बचाउमा किन उत्रिन्छन् ओली ?
भ्रष्टाचारीको बचाउमा किन उत्रिन्छन् ओली ?
नक्कली शरणार्थीको फाइल खुल्दा उत्पन्न तरंगको इपीसेन्टर बनेपछि एमालेमा खैलाबैला सुरु भएको छ । आफूसमेत तानिने खतरा बढेपछि सिंहदरबार पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले रायमाझी पक्राउ सम्बन्धमा प्रश्न उठाए ।
पूर्वउप्रधानमन्त्री भइसकेको तथा ठुला पार्टीकै नेतृत्वमा रहेकाहरु तानिन थालेपछि यसले धेरेको मुटु ढुकढुक बनाउन थालेको छ ।
जहाँ आफ्ना पार्टी सचिव टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप र पार्टी उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतिकविरुद्ध पक्राउ पुर्जी जारी भएपछि एमाले सबैभन्दा बढी झस्किएको छ ।
पार्टी अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई फकाउन सिंहदरबार नै पुगे । उनीहरुलाई शंकाकै भरमा मात्र नभई प्रमाणका आधारमा प्रहरी पक्राउ गरेको हो । फलतः ओली दौडधुप चलाएर आफ्ना नेता बचाउने अभियानमा छन् ।
योबीचमा तीन जनालाई पक्राउ गरेर अनुसन्धान थाले लगत्तै एमालेकै एक पूर्वमन्त्रीले बयानका क्रममा अन्य व्यक्तिको नाम नलिने वातावरण बनाउन सहयोगी नै खटाएका थिए । ठगीमा संलग्नहरूलाई जोगाउन भनेर गत वर्ष विभिन्न व्यक्तिहरूले पैसा उठाएको खुलासा पक्राउ परेकाहरुले गरेका छन् । तर, आफू मात्र फस्ने देखेपछि उनीहरूले पैसा उठाउनेहरूको नाम पनि प्रमाणसहित अहिले धमाधम खुलाउन थालेका छन् । केही पीडितहरूले नै अन्य उच्चपदस्थ व्यक्तिविरुद्ध पनि किटानी जाहेरी दिएका छन । जसमा तत्कालिन सरकारमा रहेका एमालेका अन्य नेताहरुसमेत डामिने खतरा बढेपछि तर्सिएका ओलीले रायमाझीको बचाउ नै गरेका हुन् ।
तत्कालिन समयमा ओली प्रधानमन्त्री रहेका थिए भने ३० जेठ ०७६ मा गृहमन्त्री रामबहादुर थापा ‘बादल’को निर्णयअनुसार पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा भुटानी शरणार्थी सम्बन्धी समस्याको स्थायी समाधानका लागि कार्यदल बनेको थियो । कार्यदलको गठन र त्यसको प्रतिवेदन नै ठगीको प्रमुख आधार बनेको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरू बताइरहँदा यसबारे आफुलाई पहिल्यै थाहा भएको ओलीले बिहिबार अभिव्यक्ति दिएका छन् । तर थाहा पाएर पनि ओली किन बचाउमा लागिपरे ? यसले उनीमाथि नै प्रश्न उठाएको छ ।
फलतः प्रतिवेदनमा पैसा बुझाउनेहरूको नाम थपेर ठगी गरियो । जसमा तत्कालिन गृहमन्त्रीका सल्लाहकार इन्द्रजित राईले विशेष भूमिका खेले । ठगीको योजनामा सुरुदेखि नै उनको संलग्नता अनुसन्धानमा देखिएको छ भने सरकारी कागजातमा पहुँच बनाउने तथा अप्रत्यक्ष रूपमा सिंगो गृह मन्त्रालयले नै सघाएको देखिएको छ । जसले अब लहरो तान्दा छोरामात्रै नभई बादलसम्म र नैतिक जिम्मेवारीका रुपमा ओलीसम्मै पुग्ने खतरा बढेको छ । फलतः यो तानिएको हो कि तनाईएको हो भन्ने विषयमा छलफल गरिरहेको भन्दै ओलीले राजनीतिक रंग दिने संकेत गरिसकेका छन्।
नेपाल प्रहरीका पूर्वडीआइजी हेमन्त मल्ल पनि यो प्रकरणमा राजनीतिक रंग आउनसक्ने आशंका गर्छन् । विगतमा ललितानिवास जग्गा प्रकरणमा समेत राजनीतिक नेतृत्व जोडिन थालेपछि मुद्धा कमजोर बनाइएको उदाहरण दिँदै मल्लले यसमा ठगी, सरकारी कागजात किर्ते, अख्तियारीको दूरुपयोग तथा यसरी प्राप्त रकम कालोधनकै रुपमा छ कि कता गयो भन्ने विषय समेत जोडिने बताउँछन् । जसले अझै अरु हाई प्रोफाइलसमेत तानिने सम्भावना बढी छ । त्यतिबेला सरकारमा एमाले भएकै कारण एमालेको झस्काईसँग मुद्धाको बाँकी कारबाहीको भविष्य जोडिने प्रष्ट छ ।
ओलीको यो सक्रियताकै बीच रायमाझी पक्राउ परेर छाडिएको त हैन भन्ने गाईगुई समेत चलेको छ । यद्यपी हिजोसम्म आफ्नो सम्पर्कमा रहेको बताउने ओलीसमेत यस विषयमा अलमलमा देखिन्छन् । यो मुद्धामा प्रचण्ड र ओलीको भेट हुनु र उनले प्रचण्ड थ्रेड नै गर्नुले कतै खोलिएको फाइल पनि नेतृत्वकै स्वार्थमा बन्द हुने त हैन भन्ने आशंका समेत उब्जिएको छ । जहाँ कतै सरकारले पनि प्रतिपक्षीलाई तह लगाउने अस्त्रका रुपमा समेत यसलाई अघि सारेको त हैन भन्ने अर्को आशंकासमेत उत्पन्न भएको छ । जसको सत्यतथ्यका लागि निरन्तर खबरदारी आवश्यक छ ।
प्रकाशित समय : ०८:०४ बजे



















