गृहपृष्ठ सामाजिक सुरक्षालाई बृहत सहभागितामूलक योजना बनाइनुपर्छ : श्रममन्त्री
सामाजिक सुरक्षालाई बृहत सहभागितामूलक योजना बनाइनुपर्छ : श्रममन्त्री
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सामाजिक सुरक्षा योजनालाई बृहत सहभागितामूलक योजना बनाउनुपर्नेमा जोड दिएका छन् ।
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सामाजिक सुरक्षा योजनामा सहभागी गराउने उद्देश्यले आज गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आयोजना गरेको कार्यक्रममा उनले उक्त योजना भर्खरै सुरुआत भएकाले वास्तविक श्रमिकमैत्री बनाएर अघि बढ्नुपर्ने बताए ।
सामाजिक सुरक्षा योजनालाई सफल बनाउन एनआरएनको भूमिका महत्त्वपूर्ण हुने भन्दै उनले श्रम स्वीकृति लिएका वा नलिएका सबै नेपालीलाई कानूनी दायरामा ल्याउन सरकारले विशेष पहल सुरु गर्ने बताए । त्यसका लागि एनआरएनएसँगको सहकार्य महत्त्वपूर्ण हुने उनको भनाइ थियो । ‘श्रमिकको सुरक्षा र उनीहरूको श्रमको सम्मानका लागि पनि सरकार सरोकारवाला र गन्तव्य मुलुकका सरकारसँग संवाद गरेर अघि बढ्छ,’ उनले भने, ‘योजनाको फाइदाबारे सबैलाई बुझाउनु जरुरी छ ।’
श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले योजनामा आबद्ध हुन आग्रह गर्दै गन्तव्य मुलुकहरूसँग श्रम सम्झौतालगायत नीतिगत र सरकारी प्रक्रियागत काम सुरु भएको मन्त्री भण्डारीले बताए । कार्यविधि कार्यान्वयनका क्रममा देखा पर्ने समस्या र उल्झनलाई क्रमशः समाधान गर्दै जाने उनको भनाइ थियो ।
सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले श्रमिकलाई अभिमुखीकरणका लागि निरन्तर कार्यक्रम, अनलाइन कक्षा, २४ घण्टे कल सेन्टरसहित एनआरएनएको सञ्जालसहित बैंकिङ च्यानललाई प्रयोग गरिने बताए । कार्यक्रममा एनआरएनएका कार्यकारी अध्यक्ष डा. बद्री केसीले निरन्तर प्रयास र सहकार्यको प्रतिफलका रूपमा कोषले वैदेशिक रोजगारीमा रहेका श्रमिकले पेन्सन सहितको सुविधा पाउने गरी योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सुरु गरेकामा आभार व्यक्त गरे ।
योजनाको सफलताका लागि कोषको केही रकम रोजगारदातालाई पनि तिर्न लगाउनुपर्नेमा उहाँले जोड दिए । योजना सुरुआत हुनु सकारात्मक भए पनि त्यसमा परिमार्जन आवश्यक भएको उनको भनाइ थियो । अध्यक्ष केसीले सरकारको योजनालाई सफल बनाउन एनआरएनले पहलकदमी लिने र आफ्नो जिम्मेवारी ठानेर सबै श्रमिकलाई पनि योजनामा सहभागी गराउने बताए ।
एनआरएनएका अर्का अध्यक्ष कुल आचार्यले सबै वैदेशिक रोजगारीमा रहेकाहरूलाई योजनामा जोड्न देशैपिच्छे अभियान चलाउन आवश्यक रहेको र त्यसका लागि एनआरएनएले सरकारसँग प्रत्यक्ष रूपमा सहकार्य गर्ने बताए । सामाजिक सुरक्षा कोषको योजना सरकारको मात्रै नभई एनआएनएले सन् २०११ देखि उठाउँदै आएको एजेण्डा पनि भएकोले संसारभर रहेका नेपाली श्रमिकको सपना पूरा भएको जिकिर गर्दै उक्त योजनालाई सफल बनाउनु जिम्मेवारी र कर्तव्यसमेत भएको उल्लेख गरे ।
प्रकाशित समय : १८:५७ बजे


















