काठमाडौंवासीको हितमा काम नगर्ने भए सिंहदरबार र राजधानी सार्नुहोस्, आपत्ति छैन : बालेन शाह
वि.सं.२०७९ चैत ३० बिहीवार १३:५९
shares

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले काठमाडौंवासीको हितमा काम नगर्ने भए प्रमुख प्रशासननिक केन्द्र सिंहदरबार अन्यत्र सार्न संघीय सरकारलाई सुझाव दिएका छन् ।
आफ्नो कार्यमा संघीय सरकारले असहयोग गरेको भन्दै काठमाडौं महानगरले सिंहदरबार सहितका स्थानको फोहोर उठाएको छैन । यसपछि बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं महानगर मेयर शाहको अभिव्यक्ति गैरजिम्मेवार रहेको र आफ्नो जिम्मेवारी पूरा गर्न भनेको थियो ।
यसपछि बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले काठमाडौंवासीको हितमा काम नगर्ने भए सिंहदरबार अरु पालिकामा सार्न भनेका हुन् । काठमाडौंवासीलाई राजनीति नचाहिएको भन्दै उनले काठमाडौंवासीलाई आफ्नो सम्पदा, संस्कृति, कला, सभ्यता चाहिने बताएका छन् ।
काठमाडौंको हितमा काम गर्न र नगर्ने भए सिंहदरबार नै सार्न भन्दै शाहले फेसबुकमा लेखेका छन्, ‘कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस् । हामी काठमाडौंवासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस् । हामीलाई हाम्रो सम्पदा, संस्कृति, कला, सभ्यता चाहिन्छ, राजनीति हैन ।’
























