जोशीको घोषणा– काँग्रेससँगको वार्ता समाप्त भयो
वि.सं.२०७९ चैत २९ बुधवार १०:४९
shares

नेपाली कांग्रेस स्वतन्त्र अभियान चलाउँदै आएका गोविन्दराज जोशीले नेपाली कांग्रेससँगको वार्ता आजदेखि समाप्त भएको घोषणा गरेका छन् ।
कांग्रेस नेताहरुसँगको वार्ता झुक्याउने प्रयत्न मात्र भएको र गोविन्दराज जोशी समेतको कारबाही फिर्ता भयो भनेर झुटो प्रचार गरिएको भन्दै जोशीले आजदेखि वार्ता समाप्त भएको घोषणा गरेका हुन् ।
वैशाख १० गते तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदैछ । यसै सन्दर्भमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गोविन्दराज जोशीका छोरा दीपकबीच संवादसमेत भएको थियो । तर देउवाले कारबाही फुकुवाको पत्र र जोशी तिरका कार्यकर्ता व्यवस्थापनमा चासो नदेखाएपछि वार्ता निष्कर्षविहिन बनेको हो ।
तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा कांग्रेसले गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ । कांग्रेस छाडेर स्वर्णिम वाग्ले रास्वपाबाट उम्मेदवार बनेका छन् । कांग्रेस नेताहरुले भने जोशीलाई फकाउने प्रयास गर्दै आएका छन् । तर जोशीले आज विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘उहाँहरूले वार्तामा मूल समस्या समाधान गर्ने चासो नदेखाउनु भएका कारण वार्ता समाप्त भयो ।’
तनहुँ १ मा जोशीसँग निर्णायक मत छ ।

























