nmb bank

गृहपृष्ठ सर्वाधिक कमाई गर्ने यी हुन् ७ नेपाली चलचित्र

सर्वाधिक कमाई गर्ने यी हुन् ७ नेपाली चलचित्र

सर्वाधिक कमाई गर्ने यी हुन् ७ नेपाली चलचित्र

चलचित्र विकास बोर्डले वर्ष २०७९ मा प्रदर्शनमा आएका नेपाली र विदेशी चलचित्रको तथ्याङ्क सार्वजनिक गरेको छ ।

बोर्डका अनुसार २०७९ सालमा मा नेपाली ५२ र विदेशी ८३ गरी १३५ चलचित्र प्रदर्शन भए पनि एक सय ३२ वटा चलचित्रको कमाइ सार्वजनिक गरिएको हो । बोर्डको विवरणअनुसार चलचित्र ‘कबड्डी ४ : द फाइनल म्याच’ को सात लाख ६६ हजार सात सय टिकट बिक्री भएबापत २१ करोड ३८ लाख १३ हजार चार सय ६२ ग्रस व्यापार गरेको छ ।

विदेशीतर्फ कन्नड चलचित्र ‘केजीएफ च्याप्टर २’ले छ लाख ७७ हजार ६ सय ९९ टिकेट बिक्री भएबापत १९ करोड २९ लाख १३ हजार सात सय ५८ ग्रस कमाएको छ । नेपाली र विदेशीतर्फ सर्वाधिक कमाई गर्ने यी दुई चलचित्र हुन् । बोर्डले सार्वजनिक गरेको तथ्यांकमा सामान्य फरक भने पर्न सक्ने बक्सअफिस अधिकृत प्रवीण पाण्डेले जानकारी दिए ।

तथ्यांकअनुसार यस वर्षभरमा प्रदर्शन भएका चलचित्र शिवानीको पाँच वटा टिकट मात्रै बिक्री भएका छन् । जसबाट चलचित्रले पाँच सय २० ग्रस कलेक्सन गरेको छ । ‘सबै चलचित्र भवनमा बक्सअफिसको प्रविधि जडान भए पनि अनुगमनको अभावमा केही हेरफेर हुनसक्छ । केहीले नियतवश पनि गरिरहेका हुन्छन् । तर बोर्डले यसमा अनुमगन बढाएको छ,’ अधिकृत पाण्डेले भने, ‘हामीसँग रहेको आधिकारिक तथ्यांक सार्वजनिक गरेका हौं ।’

कबड्डी ४ : द फाइनल म्याच

‘कबड्डी’कै श्रृंखलाका रूपमा अगाडि बढिरहेको यो चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गर्नुभएको हो । बोर्डको विवरणअनुसार चलचित्र ‘कबड्डी ४ : द फाइनल म्याच’ को सात लाख ६६ हजार सात सय टिकट बिक्री भएबापत २१ करोड ३८ लाख १३ हजार चार सय ६२ ग्रस व्यापार गर्न सफल भएको छ । बाँसुरी फिल्मसको प्रस्तुतिमा तयार भएको चलचित्रमा सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारीलगायतका कलाकारको अभिनय छ ।

छक्का पञ्जा-४

हास्यकलाकारको समूहले टेलिशृङ्खलामा पाइरहेको लोकप्रियतालाई ठूलोपर्दामा ल्याउन अभिनेता दीपकराज गिरीले ‘६ एकान ६’ मार्फत चलचित्र निर्माण सुरु गर्नुभयो । त्यसपछि ‘वडा नम्बर ६’ हुँदै ‘छक्का पञ्जा’ निर्माण गरेको समूह अहिले यसकै श्रृंखलाई अगाडि बढाइरहेका छन् । गत फागुन १९ देखि प्रदर्शनरत चलचित्र ‘छक्का पञ्जा ४’ ले बोर्डको विवरणअनुसार छ लाख आठ हजार चार सय दुई टिकेट बिक्री भएबापत १६ करोड ९४ लाख ३४ हजार ६ सय ३४ ग्रस व्यापार गरेको छ । प्रदर्शनरत भएकाले यसको व्यापार अझै बढ्ने देखिन्छ । राजनीतिक विकृतिलाई प्रस्तुत गरिएको चलचित्रमा पिताको विरासत जोगाउन राजनीतिमा होमिएका दीपकराज गिरी (राजा) लाई खराब स्वभाव र शैलीको नेताका रुपमा चित्रण गरिएको छ । हेमराज विसीले निर्देशन गर्नुभएको चलचित्रमा नीर शाह, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, सुष्मा निरौला, वेदना राई, मलिना जोशी, सविन बाँस्तोला, रमेश बुढाथोकी लगायतको अभिनय छ ।

प्रेम गीत-३

‘प्रेम गीत’ को तेस्रो श्रृंखलाका रूपमा प्रदर्शन भएको ‘प्रेम गीत ३’ नेपालीसँगै हिन्दी भाषामा प्रदर्शन भएको थियो । सन्तोष सेन र छेतेन गुरुङले निर्देशन गरेकाे चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, मनिष राउत, सुनिल थापा र शिव श्रेष्ठ लगायतको अभिनय छ । प्रेम कथानक चलचित्रको पहिचान बनाएको श्रृंखलाबाटै अभिनेता खड्का अहिलेको उचाइमा पुगेका हुन् । चलचित्रले नेपाली भाषामा दुई लाख ६९ हजार सात सय ४४ टिकट बिक्री भएबापत सात करोड ७० लाख ३५ हजार पाँच सय ५८ र हिन्दी भाषामा ८३ हजार एक सय ४४ टिकेट बिक्री भएबापत दुई करोड २७ लाख २९ हजार तीन सय ६७ रुपैयाँको ग्रस व्यापार गरेको छ ।

महापुरुष

सर्वाधिक कमाई गर्ने चौथो चलचित्र ‘महापुरुष’ बनेको छ । चलचित्रले दुई लाख ४७ हजार पाँच सय १७ टिकेट बिक्री भएबापत सात करोड ३८ लाख ९० हजार ६ सय ७० रुपैयाँको ग्रस व्यापार गरेको छ । प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, नरेश पौड्याल, अरुण क्षेत्री, अञ्जना बराइली लगायतका कलाकारले अभिनय गरेका छन् ।

यसमा एक्लो जीवन बिताइरहेका अभिभावकको कथा र चाहनालाई देखाइएको छ । षट्कोण आर्ट्स प्रालिको ब्यानारमा निर्मित चलचित्रमा कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ र निर्माता दीपेश खत्री हुनुहुन्छ ।

दुई नम्बरी

दीपेन्द्र लामाको निर्देशनमा तयार भएको ‘दुई नम्बरी’ सर्वाधिक व्यापार गर्ने चलचित्रको पाँचौँ नम्बरमा छ । चलचित्रको एक लाख ४१ हजार ६ सय ३९ टिकेट बिक्री भएबापत तीन करोड ८४ लाख ७३ हजार पाँच सय २० को ग्रस कलेक्सन भएको छ । मित्रताको कथामा आधारित चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बुद्धि तामाङ, पुस्कर गुरुङ लगायतकाृ अभिनय  छ । भुटानी अभिनेत्री उगेन छोदेनले ‘दुई नम्बरी’ मार्फत नेपाली चलचित्रमा अभिनयको सुरुआत गरेकी छन् ।

फूलबारी

रामबाबु गुरुङले निर्देशन गर्नुभएको भएको चलचित्र ‘फूलबारी’ सर्वाधिक कमाई गर्ने चलचित्रको सूचीमा छैटौं स्थानमा छ । अवकाश प्राप्त शिक्षकको जीवनी देखाइएको चलचित्रमा विपिन कार्की, अरुणा कार्की, प्रियंका कार्की, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, गौमाया गुरुङ, साक्षी सिंह भण्डारीसहित विशेष भूमिकामा अभिनेता दयाहाङ राईले अभिनय गरेका छन् । चलचित्रले एक लाख २६ हजार एक सय ९० टिकेट बिक्री भएबापत तीन करोड ५२ लाख ८९ हजार चार सय ५९ रुपैयाँको ग्रस व्यापार भएको छ । अभिभावकले सन्तानबाट राख्ने अपेक्षा र सन्तानले भुलेको संस्कारलाई कथा बनाइएको चलचित्रमा किशोर मालपानीको कथा र उपेन्द्र सुब्बाको पटकथा लेखन रहेको छ ।

झिंगेदाउ

ज्ञानेन्द्र देउजाले निर्माण तथा निर्देशन गर्नुभएको चलचित्र ‘झिंगेदाउ’ सर्वाधिक कमाई गर्ने चलचित्रको सूचीको सातौं स्थानमा छ । बोर्डको विवरणअनुसार चलचित्र एक लाख २२ हजार दुई सय ९० टिकेट बिक्री भएबापत तीन करोड ४१ लाख १३ हजार दुई सय २३ रुपैयाँ ग्रस व्यापार गरेको छ । चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुसाल, कुशल विष्ट, हिउँवाला गौतम लगायतकाे अभिनय छ । स्वर्गीय भीमनिधि तिवारीको सोही नामको कृतिमा आधारित चलचित्र ‘झिंगेदाउ’ मा प्राचीन नेपाली समाजको कथा प्रस्तुत गरिएको छ । देउरानी-जेठानीको सामान्य झगडाबाट परिवारमा आउने आरोहअवरोहलाई प्रस्तुत गरिएको चलचित्रमा आमा र दुई दाजुभाइको भावनात्मक सम्बन्धलाई चित्रण गरिएको छ ।

प्रकाशित समय : १५:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु