global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ विश्वमा चिनियाँ पर्यटकको दबदबा

विश्वमा चिनियाँ पर्यटकको दबदबा

विश्वमा चिनियाँ पर्यटकको दबदबा

निनाम लोवात्ती

लगभग चार वर्षअघि अर्थात् सन् २०१९ को डिसेम्बर अन्तिमतिर छिमेकी देश चीनबाट फैलिएको कोभिड-१९ ले विश्वभरि महामारीको रुप लिएपछि अधिकांश देशले आफ्नाे देशमा विदेशीहरुलाई भ्रमणका लागि रोक लगायो । जसले गर्दा लगभग एक वर्षसम्म विश्व पर्यटन बजारले नराम्रोसँग मार खेप्नु पर्‍याे । फलतः विश्व भ्रमण गर्न निक्लने पर्यटकको संख्या पनि घट्यो, सन २०१९ को तुलनामा, सन् २०२० मा । स्मरण रहोस्, सन २०१९ को तुलनामा, सन् २०२० मा लगभग ८८ प्रतिशतले पर्यटक आगमन दर घटेको थियो । फलस्वरुप सन् २०२० मा केवल २० दशमलव तीन मिलियन चिनियाँ पर्यटक मात्रै विश्व भ्रमण गर्न निक्लेका थिए । नेपालमा चाहिँ सन् २०२० मा १९ हजार २५७ जना, सन् २०२१ मा छ हजार १९८ जना र सन् २०२२ मा नौ हजार ५९९ जना चिनियाँ पर्यटक भ्रमण गर्न आएका थिए ।

भनिन्छ, सन् २०१९ मा मात्रै १५५ मिलियन चिनियाँहरु पर्यटक भई विश्वका वभिन्न देशमा भ्रमण गर्न निक्लेका थिए । तर कोभिड-१९ ले महामारीको रुप लिएपछि चिनियाँ पर्यटकको विश्व भ्रमण गर्ने क्रम पनि लगभग शून्यमा झर्यो । त्यसो त ऊ बेला कोरोना महामारी चाँडै समाप्त हुने अपेक्षा गरिएको थियो । तर, व्यापक खोप अभियानका वाबजुद अझै पनि यो पूर्णत नियन्त्रणमा आइसकेको छैन । जे-जस्तो भए तापनि सन् २०२३ मा चाहिँ विश्व घुम्न निक्लने चिनियाँ पर्यटकको संख्या उल्लेख्य रुपमा वृद्धि हुने प्रक्षेपण गरिएको छ । यसको पुष्टि विदेश भ्रमणमा जाने चिनियाँ पर्यटक सम्बन्धमा अध्ययन गर्ने एक स्वतन्त्र संस्था ‘चाइनिज आउटबाउन्ड टुरिज्म रिसर्च’ (कोटरी) ले गरेको हो । कोटरीकोले गरेको अनुमानअनुसार सन् २०२३ मा ११० मिलियन चिनियाँ पर्यटक विश्वका विभिन्न देशको भ्रमण गर्न निक्लनेछन् । त्यसैले सन् २०२३ देखि विश्वमा फेरि चिनियाँ पर्यटकहरुको दबदबा बढ्दै जाने देखिन्छ ।

यसरी कोरोना महामारी सुरु हुनु अघिसम्म चिनियाँ पर्यटकको विश्वभरि नै दबदबा रहेको थियो । खासमा विश्वमा धेरै घुम्न निक्लने पर्यटकको संख्या र विश्वकै धेरै खर्च गर्ने पर्यटक दुवै क्षेत्रमा चिनियाँ पर्यटक एक नम्बरमा रहने गरेका थिए । लगभग तीन वर्षपछि अर्थात् सन् २०२३ सुरु भएलगत्तै फेरि विश्वभरि नै पर्यटनले लय समात्ने आशा गरिएको छ । त्यसमा पनि लभगभ तीन वर्षसम्म कतै पनि घुम्न जान नपाएका चिनियाँ पर्यटकको भ्रमणले विश्वका धेरै देशको अर्थतन्त्रलाई भरथेग गर्ने आशा गरिएको छ ।

यसको एउटै मात्र कारण भनेको सन् २०२३ को फेब्रुअरीदेखि चीन सरकारले आफ्ना देशका नागरिकलाई दुई चरणमा विश्वका विभिन्न देशमा पर्यटक भई समूहमा घुम्न जान दिने निर्णय गरेको छ । जसलाई ‘एप्रुभ डेस्टिनेसन स्टाटस’ (एडीएस) भन्ने गरिन्छ । कोरोना महामारीपछिको लगभग तीन वर्षपछि चीन सरकारले त्यसरी दुई चरणमा आफ्ना देशका नागरिकलाई समूहमा विदेशी घुम्न जाने अनुमति अर्थात् ‘एप्रुभ डेस्टिनेसन स्टाटस’ (एडीएस) दिएकोले गर्दा अबका दिनमा चिनियाँ पर्यटकको विश्व पर्यटन बजारमा एकतर्फी दबदबा रहने देखिन्छ ।

चीन सरकारले पहिलो र दोस्रो चरण गरेर जम्मा ६० वटा देशमा मात्रै आफ्ना नागरिकका लागि एडीएस जारी गरेको छ । विस्तारै चीन सरकारले अन्य देशका लागि पनि आफ्ना देशका नागरिकलाई पर्यटक भई समूहमा घुम्न जान दिनका लागि एडीएस दिने नै छ । गत जनवरीको २७ तारिखका दिन आफ्ना देशका नागरिकलाई पर्यटकका रुपमा समूहमा भ्रमण गर्न जान दिनका लागि २० वटा देशलाई एडीएस दिँदा त्यो सूचीमा नेपाल परेको थिएन ।

यसरी चीन सरकारले पहिलो चरणमा आफ्ना देशका नागरिकलाई समूहमा पर्यटक भई घुम्न जानका लागि दिएको अनुमति अर्थात् ‘एडीएस’ मा परेका २० वटा देशको सूचीमा नेपाल नपरे तापनि दोस्रो चरणमा भने नेपाल पनि चिनियाँ पर्यटकका लागि घुम्न पाउने देशको सूचीमा परेको छ । यसले गर्दा नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटक ठूलो संख्यामा बढ्ने आशा जगाएको छ । त्यसो त सन् २०२३ को जनवरी र फेब्रुअरीमा क्रमशः १४ सय ३६ र २२ सय ३२ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरिसकेका छन् ।

हो, पछिल्लो पटक चीन सरकारले आफ्ना देशका नागरिकलाई दुई चरणमा गरेर विश्वका विभिन्न देशमा समूहमा भ्रमण गर्न जान अनुमति दिएको ४०+२० वटा देशमा नेपाललाई पनि पारेकोमा त्यसका लागि हामीले चीन सरकारलाई धन्यवाद दिनुपर्छ । साथै पछिल्लो पटक ‘कोटरी’ले सन् २०२३ मा ११० मिलियन चिनियाँ पयर्टक विश्व भ्रमण गर्न निक्लने जुन प्रक्षेपण गरेको छ, ११० मिलियन चिनियाँ पर्यटक कहाँ जालान् ? सबै देशका सरकार प्रमुख, पर्यटन व्यवसायी र पर्यटनविदहरुको नजर चिनियाँ पर्यटकमा परेको देखिन्छ । हो, त्यसैले हामीले पनि सन् २०२३ मा विश्व भ्रमण गर्न निक्लने ति चिनियाँ पर्यटकमध्ये एक प्रतिशत चिनियाँ पर्यटकलाई मात्रै नेपालमा आकर्षित गर्न सकेको खण्डमा हाम्रा लागि त्यही नै ठूलो उपलब्धि हुने देखिन्छ ।

प्रकाशित समय : १४:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु