गृहपृष्ठ बालुवाटारमा बसेको १० दलको बैठक निष्कर्षविहीन, आज फेरि बस्दै
बालुवाटारमा बसेको १० दलको बैठक निष्कर्षविहीन, आज फेरि बस्दै
उपराष्ट्रपति निर्वाचनबारे समझदारी कायम गर्न भन्दै बसेको १० दलको बैठक बिनानिष्कर्ष टुंगिएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा बुधबार साँझ बसेको बैठक आज बिहीबार बस्ने गरी टुंगिएको नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले जानकारी दिए ।
बैठकमा एउटै उम्मेदवार बनाउने विषयमा छलफल भएपनि कुनै सहमति हुन सकेन । बैठकपछि माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले भने, ‘सकारात्मक छलफल भएको छ । भोलि बसेर एउटा धारणा बनाउने कुरा भएको छ ।’
गठबन्धनका ठूलो चार दल नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा, यादवको पक्षमा छन् । चार दलबीच मंगलबार पनि छलफल भएको थियो । १० दलको बैठकमा पनि उनीहरुले साझा उम्मेदवार बनाउनुपर्नेमा जोड दिएका थिए । तर साना दलहरु ममताको पक्षमा छन् ।
बालुवाटार बैठकमा जनमत पार्टीका अध्यक्ष सीके राउतले उपराष्ट्रपति चुनावमा मित्रवत प्रतिस्पर्धा गर्ने प्रस्ताव गरेका थिए । उनले बरु केन्द्र र प्रदेशको सरकार पनि छाड्न तयार रहेको बताएको एक नेताले सुनाए ।
बैठकमा आम जनता पार्टीका अध्यक्ष प्रभु साहले पनि उपराष्ट्रपति, प्रदेश २ को मुख्यमन्त्री र उपचुनावबारे प्याकेजमा सहमति गर्नुपर्ने प्रस्ताव राखेका थिए । उनको संकेत जसपाले उपराष्ट्रपति दिए प्रदेश २ को मुख्यमन्त्री र बारा २ को हुने उपचुनावको उम्मेदवारमा अरुलाई समर्थन गर्नुपर्ने थियो । तर जसपा अध्यक्ष उपेन्द्र यादवले तत्काल उनको प्रस्तावलाई अस्वीकार गरेका छन् ।
सहमति नजुट्ने संकेत देखेपछि माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले दलहरुबीच छुट्टाछुट्टै छलफल गर्ने र भोलि संयुक्त बैठक बसेर साझा उम्मेदवार खोज्ने बताएका छन् । साथै उनले सात प्रदेशको मुख्यमन्त्रीबारे नयाँ शिराबाट सहमति खोज्ने बचन समेत नेताहरुलाई दिएका छन् ।
प्रकाशित समय : ०६:५० बजे



















