चुनावमा अन्तर्घात गरेको भन्दै जसपाका ८० नेताविरुद्ध कारबाही सिफारिस
वि.सं.२०७९ फागुन २१ आइतवार ०६:४२
shares

जनता समाजवादी पार्टी (जसपा)ले निर्वाचनमा अन्तर्घात गर्ने ८० जना नेता, कार्यकर्तालाई कारबाही गर्ने प्रक्रिया अघि बढाएको छ । यसअघि बसेको केन्द्रीय कार्यकारिणी समितिको निर्णयबमोजिम छानबिन र कारबाही सिफारिस समितिले शनिबार अध्यक्ष उपेन्द्र यादवलाई प्रतिवेदन बुझाउँदै ८० जना नेता, कार्यकर्तालाई कारबाही गर्न सिफारिस गरेको हो ।
प्रतिवेदन बुझ्दै अध्यक्ष यावदले समितिको प्रतिवेदनमाथि केन्द्रीय समिति बैठकमा छलफल हुने र कारबाही प्रक्रिया अघि बढाउने बताए । चुनावमा घात अन्तर्घात गरेको भन्दै जसपामा पाँचथर, सुनसरी, मोरङ, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, मकवानपुर, धादिङ, काभ्रे, बर्दिया, सुर्खेत र कैलालीमा गरी ४८ जना केन्द्रीय कार्यसमिति सदस्यसहित १५२ जना नेता कार्यकर्ताविरुद्ध उजुरी परेको थियो ।
छानबिन समितिका संयोजक थापामगरले ती सबै ठाउँमा पुगेर स्थलगत अध्ययन र बयान लिएर प्रतिवेदन तयार गरिएको बताए । ‘त्यस हिसाबले कुनै न कुनै रुपमा पार्टीलाई अन्तर्घात हुने गरी धोका दिने काम गर्ने ८० जना नेता कार्यकर्तालाई कारबाही गर्नुपर्ने हाम्रो सिफारिस छ ।’
प्रवक्ता मनिष सुमनले समितिले बुझाएको प्रतिवेदनमाथि पार्टीको केन्द्रीय कार्यकारिणी समितिमा छलफल गरेर कारबाही प्रक्रिया अघि बढाइने बताए । हाल जसपामा २० सदस्यीय केन्द्रीय कार्यकारिणी समिति छ भने केन्द्रीय समितिमा पाँच सयभन्दा धेरै सदस्यहरू रहेका छन् ।

























