काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘अस्थिरतामार्फत मध्यावधि चुनाव हुनसक्ने आशंका बढ्दै गएपछि गठबन्धन ब्यूँत्याएका हाैं’

9.62K
shares

नेपाली कांग्रेसका प्रभावशाली मोहनबहादुर बस्नेतले पुस १० गतेको राजनीतिक कोर्ष करेक्सन भइसकेकाले अब नयाँ समझदारीका साथ दलहरू अघि बढ्ने बताएका छन् । बिहीबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वमन्त्री बस्नेतले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितको आठ दलीय गठबन्धनबीचको राजनीतिक समझदारीले देशलाई निकास दिने पनि बताए ।

उनले राष्ट्रिय राजनीतिमा नयाँ परिस्थिति सिर्जना भएको बताउँदै सम्हालिएर अघि बढ्नका लागि उत्साह राख्नुपर्ने र राजनीतिक निकासका लागि उच्च सुझबुझ राख्नुपर्ने बेला आएको भनाइ राखेका छन् । ‘कांग्रेस पार्टी र सभापति शेरबहादुर देउवाजीले दूरदर्शिता राख्नुभयो, हामीले राजनीतिक निकासका लागि दिशानिर्देश गर्ने, संवाद गर्ने र देशको अहिलेको आवश्यकतालाई बोध गरेर रुपान्तरणको बाटोमा अघि बढ्न प्रेरित गरेपछि अब देशले निकास पाउने आशा जागेको हो,’ उनले भने ।

पूर्वमन्त्री बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदको सम्बोधनका क्रममा पहिलेका त्रुटि सच्याएर जाने, संविधानको अक्षरश: पालना पर्ने र सबैलाई मिलाएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेपछि कांग्रेसले सहकार्यको प्रस्ताव अघि बढाएको बताए । ‘प्रधानमन्त्रीजीले सरकार राम्रोसँग चलाउछु र विकास निर्माणलाई तीव्र गतिमा अघि बढाउने संकल्प गर्नुभयो । बिना स्वार्थ काम गर्छु भन्ने उहाँको अभिव्यक्तिको आधारमा मैले संवादको थालनी गरेको हुँ,’ उनले भने ।

उनले सरकार गठनपछि एमालेको गतिविधि त्यति राम्रो नभएको आरोप लगाए । राप्रपा र रास्वपालाई राम्रा मन्त्रालय जिम्मा लगाउने र अस्थिरतामार्फत कुनै पनि बेला मध्यावधि चुनाव हुने अवस्था आउन सक्ने वातावरण बन्दै गएपछि कांग्रेसले चुनावी गठबन्धन ब्यूँत्याउन प्रयास थालेको उनको भनाइ छ । ‘प्रधानमन्त्रीजीले एमाले नेताको घरमा दिनैपिच्छे जानुपर्ने अवस्था आयो । कांग्रेसभित्र संविधानको रक्षाका लागि, राजनीतिक स्थिरताका लागि, विकासका लागि कांग्रेसले अग्रसरता दिनैपर्छ भन्ने बहस सुरु भयो ।’

‘वार्ताकारको गल्ती हामीले सच्यायौं’

कांग्रेस केन्द्रीय सदस्य बस्नेतले कांग्रेसको त्यही अग्रसरताका कारण पाँच दलीय गठबन्धन ब्यूँतिएको बताए । सुरुआतमा माओवादी उपमहासचिव वर्षमान पुन ‘अनन्त’सँग संवाद गरेको बताउँदै नेता बस्नेतले त्यसपछि क्रमशः सहकार्यमा पुगेको जानकारी दिए । उनले नयाँ राजनीतिक अध्याय सुरु भएको बताउँदै यसमा सत्ता स्वार्थ नरहेको दावी गरे । ‘राजनीतिक निकास र दलहरूबीचको सहकार्यलाई जीवन्त राख्न हामी सहकार्यमा पुगेका हौं,’ उनले भने ।

बस्नेतले पार्टीभित्रकै केही नेताका कारण गठबन्धन भत्किए पनि अन्ततः पुनर्मिलन भएको बताए । ‘कांग्रेसकै केही वार्ताकारहरूले राजनीतिक सुझबुझ राख्नसक्नु भएन । वार्ताकारहरूले जिम्मेवारी निभाउन सक्नुभएन । आउन सक्ने परिस्थितिजन्य क्रियाकलापहरू बुझ्न सक्नुभएन । सरकार बनाउने परिस्थिति रोकियो । र, अर्को परिस्थिति बन्यो, अहिले आएर त्यो अवस्था करेक्सन भइसकेको छ,’ उनले भने ।

पाँच दलीय गठबन्धन व्यूत्याउनेमध्ये एक सूत्राधार नेता बस्नेतले विगतमा संविधान र लोकतन्त्रको रक्षार्थ लडेका कांग्रेस, माओवादी, एकीकृत समाजवादी पार्टीहरूबीच एक ठाउँमा आउने वातावरण बनेपछि अब राजनीतिक उपलब्धिहरूको रक्षा गर्दै देशलाई विकास र समुन्नतिको बाटोमा अघि बढाउनुपर्ने बताएका छन् ।