गृहपृष्ठ लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्स कम्पनीबीच मर्जर सम्झौता
लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्स कम्पनीबीच मर्जर सम्झौता

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. र सगरमाथा इन्स्योरेन्स कम्पनी लि. का बीच मर्जरसम्बन्धी अन्तिम सम्झौता भएको छ ।
मंगलबार दुवै कम्पनीहरु एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धमा अन्तिम सम्झौता गरेका हुन् । सम्झौतामा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका अध्यक्ष मनोहर दास मुल र सगरमाथा इन्स्योरेन्स कम्पनीका अध्यक्ष रामकृष्ण मानन्धरले हस्ताक्षर गरे ।
उक्त कार्यक्रममा दुवै कम्पनीका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृतहरु लगायतका पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । उक्त सम्झौताअनुसार दुवै कम्पनी एक आपसमा गाभिएपश्चात बन्ने कम्पनीको नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड रहने सहमति भएको छ ।
मर्जरसम्बन्धी विशेष प्रस्ताव दुवै कम्पनीको आगामी हुने साधारण सभामा लगिनेछ । त्यसै गरी दुवै कम्पनीका बीचमा भएको प्रारम्भिक सहमती एवं डीडीए रिपोर्ट समेतका आधारमा सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. को शेयर आदान प्रदान अनुपात क्रमश १००:८० कायम रहनेछ ।
साथै दुवै कम्पनीको आ.ब. २०७८/०७९ को वित्तीय विवरण अनुसार प्रस्तावित बोनस शेयर वितरण पश्चात स्वाप रेसियो गणना गरी मर्जर पश्चात कायम हुने कम्पनीको चुक्ता पुँजी रु.२ अर्ब ६२ करोड २६ लाख ३८ हजार १९५ रुपैयाँ कायम रहनेछ ।
त्यसैगरी, मर्जर पश्चात बन्ने कम्पनी सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि. को सञ्चालक समितिमा दुवै कम्पनीको तर्फबाट ३/३ जना र एक जना स्वतन्त्र सञ्चालक रहने छन् भने सञ्चालक समितिको अध्यक्षमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका तर्फबाट र प्रमुख कार्यकारी अधिकृतमा सगरमाथा इन्स्योरेन्स कम्पनी लि. का तर्फबाट हाल रहेका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री रहने व्यवस्था गरिएको छ ।
प्रकाशित समय : १०:१८ बजे