global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ नाइजेरियाली नागरिकलाई ठगीमा सघाएको आरोपमा १५ प्रहरीमाथि अनुसन्धान

नाइजेरियाली नागरिकलाई ठगीमा सघाएको आरोपमा १५ प्रहरीमाथि अनुसन्धान

नाइजेरियाली नागरिकलाई ठगीमा सघाएको आरोपमा १५ प्रहरीमाथि अनुसन्धान

ठगी कार्यका लागि विदेशी नागरिकलाई सघाएको आरोपमा अध्यागमन विभागले सुरक्षामा खटिएका १५ जना प्रहरीमाथि अनुसन्धान थालेको छ । उनीहरुमाथि विभागको हिरासतमा रहेका नाइजेरियाका नागरिक जेम्स एडी जेबीलाई फोन उपलब्ध गराएर ठगी कार्यका लागि सहयोग गरेको आरोप रहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआइजी विश्वराज पोखरेलले जानकारी दिए ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को अनुसन्धानमा सुरक्षामा खटिएका प्रहरीले सघाएको पाइएपछि विभागको सुरक्षामा रहेका सबै प्रहरीलाई नेपाल प्रहरीको दुई नम्बर गणमा राखेर अनुसन्धान थालिएको उनले बताए । घटनामा संलग्न देखिएको भन्दै सीआइबीले कारवाहीका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा पत्र पठाएको थियो । सोही पत्रको आधारमा अनुसन्धान प्रक्रिया अघि बढाइएको हो ।

अध्यागमन विभागको सुरक्षामा अर्काे टोली पठाइएको छ । एक हप्ताअघि नाइजेरियाका नागरिक जेबीले हिरासतबाटै अनलाइनमार्फत साथी बनाएर ठगी धन्दा चलाएको सीआइबीमा उजुरी परेको थियो । अनुसन्धानका क्रममा उनले ह्वाट्स् एपको प्रयोग गरी साथी बनाएर विभिन्न लोभ देखाई पैसा माग्ने गरेको खुल्न आएको छ । आफू अमेरिकी सैनिक भएको र सिरियाको मिसनका बेला अपरेशन गर्दा ९० लाख डलर भेटिएकाले अमेरिका पठाउने अवस्था नभएको उल्लेख गरी नेपाल पठाउन लागेको भन्दै पैसा माग्ने गरेका थिए ।

त्यसरी नेपालमा पठाएको पैसा लिन कूटनीतिक पासपोर्ट भएका आफ्ना सहयोगी नेपाल आउन लागेका बेला दुबईमा अड्किएकाले उसलाई निकाल्नका लागि पैसा चाहियो भनेर एक हजार २५ डलर मागेको पाइएको सीआइबीका निर्देशक डीआइजी सहकुलबहादुर थापाले जानकारी दिए । उनी नेपालमा लागुऔषध मुद्दामा छ वर्ष जेल सजाय पाएर छुटेका व्यक्ति हुन् । प्रवेषाज्ञा सकिएकाले उनलाई डिपोर्ट गरेर चैत १० गते नै पठाउन लागिएको थियो तर अन्तर्राष्ट्रिय उडान रोकिएपछि उनी अध्यागमन विभागको हिरासतमा रहेका थिए ।

प्रकाशित समय : ०१:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु