टाइगर कप : उपाधि हाेडमा आर्मी र एपीएफ
वि.सं.२०७९ माघ १२ बिहीवार १४:१५
shares

विभागीय टोली त्रिभुवन आर्मी क्लबले पोखरामा जारी तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको छ ।
पोखरा रंगशालाको प्रांगणमा बिहीबार सम्पन्न महिलातर्फको दोस्रो सेमिफाइनलमा आर्मीले न्यु डायमन्ड युथ स्पोर्टस् क्लबलाई ३-१ को सेटमा पराजित गरेको हो । पहिलो सेट २३-२५ ले गुमाए पनि आर्मीले उत्कृष्ट पुनरागमन गर्दै त्यसपछिका तीन सेट २५-१३, २५-२२ र २५-१२ ले आफ्नो पक्षमा पारेको हो । समूह चरणमा आर्मी दोस्रो तथा न्यु डायमन्ड तेस्रो हुँदै सेमिफाइनल प्रवेश गरेका थियाे ।
आर्मीले शुक्रबार हुने फाइनलमा अर्को विभागीय टोली नेपाल एपीएफ क्लबको सामना गर्नेछ । साबिकको विजेता एपीएफ घरेलु टोली गण्डकी प्रदेशलाई २५-१३, २५-१७ र २५-२१ ले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा गत आइतबारदेखि सुरु भएको प्रतियोगितामा महिलातर्फ ४ र पुरुषतर्फ ५ टोलीको सहभागिता रहेको छ । महिलातर्फ एपीएफ, आर्मी, डायमण्ड र गण्डकीको तथा पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, सेन्ट जोसेफ वाज स्पोर्टस् क्लब श्रीलंका, नेपाल पुलिस, एपीएफ र गण्डकी प्रदेश गरी ५ टोलीको सहभागिता रहेको छ ।
पहिलो संस्करणमा पुरुषतर्फ गण्डकी र महिलामा पुलिस तथा दोस्रो संस्करणमा महिलातर्फ एपीएफ र पुरुषतर्फ आर्मी च्याम्पियन बनेको थियो । महिला र पुरुष दुवैतर्फको विजेताले समान ५ लाख र उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछन् ।
























