गृहपृष्ठ पाँच महिनादेखि सिटामोलको अभाव

पाँच महिनादेखि सिटामोलको अभाव

पाँच महिनादेखि सिटामोलको अभाव

जुनिचाँदे गाउँपालिकामा पाँच महिनादेखि औषधि सकिएको छ तर अहिलेसम्म पनि आपूर्ति गरिएको छैन । एउटा प्राथमिक स्वास्थ्य केन्द्र, तीन स्वास्थ्यचौकी, सात आधारभूत स्वास्थ्य केन्द्र र ११ सामुदायिक स्वास्थ्य इकाइ रहेको जुनिचाँदेमा पाँच महिनादेखि औषधि अभाव भएको हो ।

बीस लाखभन्दा बढीको औषधि खरिद गर्दा बोलपत्र आह्वान गर्नुपर्ने भए पनि पटक–पटक ‘कोटेसन’ गरेर औषधि खरिद गरेको पाइन्छ तर यहाँ पाँच महिनादेखि औषधि अभाव भएको छ । दुई पटक थोरै परिमाणमा औषधि बोलपत्र आह्वान नगरी ल्याइएको गाउँपालिकाका अध्यक्ष बेदबहादुर शाहीले बताए । “औषधि छिट्टै आउँदैछ, स्वास्थ्य संयोजक काठमाडौँबाट आएपछि बाँड्ने योजना छ,” उनले भने ।

बिरामीलाई स्वास्थ्यकर्मीहरूले औषधि नदिने र सिटामोललगायत अन्य औषधिहरूसमेत निजी मेडिकलबाट किनेर खानोस् भनेर पठाउने गरेको स्थानीयले बताए । जुनीचाँदे–११ का कैलो नेपाली, दमले सताएपछि औषधि लिन स्वास्थ्य चौकी कोर्ताङ्ग जाँदा औषधि विना नै फर्किनुपरेको बताए । उनले भने, “स्वास्थ्य संस्थाका नानीहरूले मेडिकलबाट औषधि किनेर लिनु भनेका थिए, पैसा नभएपछि खाली हात घर फर्किएँ ।”

प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटमा भेटिएका जुनिचाँदे–४ का सकरे खड्काले स्वास्थ्य केन्द्रले सिटामोलसमेत नदिएको गुनासो गरे । केही दिनदेखि रुघाखोकी र ज्वरोले ग्रसित बन्नुभएका खड्काले भने, “उपचार गर्न आएको थिएँ, डाक्टरले सिटामोलसमेत दिएनन् ।” चिसोका कारण रुघाखोकी र ज्वरोले ग्रसित बन्न थालेपछि उपचारका लागि स्वास्थ्य संस्था जाने र खाली हात फर्किने कैलो र सकरे जस्तै धेरै बिरामी छन् ।

प्रकाशित समय : १५:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु