गृहपृष्ठ बाइसे-चौबिसे राज्यदेखिका यी नाच

बाइसे-चौबिसे राज्यदेखिका यी नाच

बाइसे-चौबिसे राज्यदेखिका यी नाच

डम्मर बुढामगर

हरेक वर्ष माघ २ गते साँझदेखि ३ गते युवा समूहमा हातमा डम्फु बजाउँदै र खरानी दल्दै हिँड्छन् । त्यो समूहमा कोही थाग्नाभोक्टा लगाएका, कोही मुखुण्डो लगाएका हुन्छन् । यो दृश्यले धेरैलाई अचम्मित बनाउँछ । माघ २ गते साँझ पुतली बनाउन सुरु गरेदेखि ३ गतेसाँझ खोलामा नबगाउँदासम्म उनीहरुलाई बोल्न र खरानी छर्न छुट हुन्छ । यसलाई स्थानीयले कापै खेल्ने अर्थात् फागु हाल्ने भन्छन् ।

माघ ३ गते बिहानदेखि साँझसम्म भने पुतली जस्तै बनेका मान्छेहरु नाच्छन् । उनीहरुले सनदारमा फेटा, शरीरमा विभिन्न थरीका कपडा पहिरिएका हुन्छन् । पुतली जस्तै बनेका उनीहरु दिनभर नाच्छन् । त्यसलाई स्थानीयले ‘पुतली नाच’ भन्छन् । यो नाच कहिलेदेखि नाच्दै आएको भन्ने यकिन छैन तर स्थानीय वर्षौं पहिलेदेखि नाच्दै आएका छन् । माघ २ र ३ गते प्रदर्शन हुने यी संस्कृति छुट्टाछुट्टै भए पनि एकैदिन, एकैसाथ नाचिन्छ ।

माघ ३ गते त्यहाँ एउटा अचम्मको दृश्य देखिन्छ । एउटा मानिसलाई स्थानीयले अनुहार नचिनिने गरी कपडाले मुख बाँधेका हुन्छन् । त्यसलाई पशुलाई जस्तै दाम्लोले बाँधेर डोर्‍याइन्छ । बेलाबेलामा त्यसमाथि खरानी हाल्दिन्छन् । त्यो व्यक्ति मदिराले लठ्ठ परेको हुन्छ । त्यसलाई स्थानीय भालुको पित्त देखाउने संस्कृति भन्छन् । सोही दिन दिउँसो तरबार समाएका केही व्यक्ति नाच्छन् । त्यसलाई स्थानीय पट्टा नाच भन्छन् । पुतली नाच, पट्टा नाच, कापै नाच र भालुको पित्त देखाउने संस्कृति एकैदिन प्रदर्शन गरिन्छ ।

राजारानीको सम्झनामा नाचिन्छ पुतली नाच

बाइसे-चौबिसे राजाका पालादेखि नाच्दै आएको भनिए पनि यकिन मिति छैन । पाकापुर्खाले मनाउँदै आएको हुँदा आफूहरुले त्यसको निरन्तरता दिँदै आएको स्थानीय ८१ वर्षीय मानसिंह बुढामगर बताउँछन् । उनका अनुसार बाइसे-चौबिसे राज्य हुँदा यहाँ मगर राजा वीरमानले राज गरेको र राजाको मृत्युपछि सम्झनामा हरेक वर्ष माघे संक्रान्ति मेला मनाउने र पुतली नाच नाच्ने गरिन्छ ।

उनी भन्छन्, ‘म अहिले ८० पूरा भएर ८१ वर्षमा लागे, सानै हुँदा हाम्रो बाउबाजेले यो नाच नाच्ने गर्नुहुन्थ्यो, यो कहिलेदेखि नाचेको भन्ने उहाँहरुलाई पनि थाहा थिएन, हामी सयौँ वर्ष पहिलेदेखि हुँदै आएको मान्छौँ, बाजेहरुले यहाँ मगर राजाले राज्य सञ्चालन गरेको र राजारानी तथा उनीहरुको स्याहारसुसार गर्ने धाइमाको मृत्यु भएपछि यहाँका जनताले सम्झनामा यो नाच नाच्न थालेको हो भन्नुहुन्थ्यो, हामीहरुलाई पनि त्यस्तै लाग्छ ।’

उनका अनुसार माघ २ गते साँझ राजाको सम्झनामा पुतली बनाउने गरिन्छ । राजा, रानी र धाइमा गरी तीन मूर्ति जस्तो पुतली बनाइन्छ भने माघ ३ गते बालक, युवा र वृद्ध पुतलीको पहिरन गरेर बाजाको तालमा नाच्ने गर्छन् । माघ ३ गते भल्कोट गाउँबाट नाच्दै केही माथि पुग्ने र त्यहाँ बन्दुक पड्काउने, पुतलीलाई डोलामा डुलाउने र नाचिन्छ । साँझ परेपछि खोलामा सेलाइन्छ ।

स्थानीय डिलबहादुर घर्तीमगर पहिले यो नाच ननाच्दा गाउँमा अनिष्ट हुन्छ भनेर नाचलाई निरन्तरता दिइएको बताउँछन् । निसीखोला गाउँपालिका-६ का अध्यक्ष हेमबहादुर बुढा मगरले सयौँ वर्ष पहिले यहाँ मगर राजाले राज्य गरेको र उनको मृत्युपछि शोकमा परेका जनताले स्मृतिमा पुतली नाच नाच्न थालेको बताए ।

उनी यो संस्कृतिले यो ठाउँ र मगर समुदायको पहिचान बोकेको बताउँछन् । ‘यो ठाउँमा मगर राजाले राज्य गरेको एतिहास छ, यसलाई धेरैले मेटाउन खोजेको पाइन्छ, तर यहाँ हुने विभिन्न संस्कृतिले त्यो इतिहास संरक्षण गरेको छ,’ अध्यक्ष बुढामगर भन्छन्, “बुढापाकाले निकै मेहनतका साथ पुतली बनाउनेदेखि नाच्ने र खोलामा लगेर सेलाउनसम्म विधिपूर्वक गर्दै आउनुभएको छ, यो एउटा सिंगाे इतिहास हो ।’

सेनाको तालिम पट्टा नाच

पट्टा नाच पनि माघ ३ गते पुतली नाचसँगै नाचिन्छ । हातमा भाला तथा तरबार लिएर पुतली नाच्ने व्यक्ति नै यो नाच नाच्ने गर्छन् । बाइसेचौबिसे राजाका पालामा राजाका सिपाहीले गर्ने तालिमलाई अहिले पट्टा नाच भन्ने गरिएको स्थानीय नैनासिंह बुढामगर बताउँछन् । ‘पट्टा नाच र पुतली नाच एकैपटक नाचिन्छ, पुतली नाच्नेहरुले नै अहिले यो नाच नाच्ने गरेका छन्, यो हामीहरु सानैदेखि नाच्ने गर्थ्याैं, हाम्रो बाउबाजेले यसैगरी सिकाउनुभएको थियो, उहाँहरुले राजाका सेनाको तालिमलाई पट्टा नाच भनिएको हो भन्नुहुन्थ्यो, राजाका सेना पट्टाना नाच जस्तै गरी तालिम गर्थे रे, यो सयौँ वर्ष अगाडिको कुरा हो, यसको सबै इतिहास जान्ने पाका मान्छे छैनन्,’ उनले भने ।

पट्टा नाच्दा दुईतर्फ तरबार तथा ढाल राख्ने गरिन्छ र दुई जनाले त्यसलाई नचाउने गर्दछन् । तरबार नचाउँदा दुवैले एक अर्कालाई मार्न र आफू बच्न खोज्छन् । पुतली नाच्ने र तरबार नचाउने उनीहरु आफैँ गर्दछन् ।

देवी खुसी पार्न खेलिन्छ होरे कापै

स्थानीय युवा माघ १ गतेदेखि होरे कापै खेल्न सुरु गर्छन् । होरे कापै तिहारमा देउसी, भैलो खेले जस्तै हो । माघ १ गतेदेखि उनीहरु घरघरमा पुगेर खेल्ने गर्छन् र भुसा, रोटी, तरुल पैसा दानका रुपमा लिने गर्छन् । यसबेला कुनै पनि अश्लिल शब्द बोल्दैनन् । माघ २ गते होरे कापै खेल्ने हातमा डम्फु लिएर बजाउँदै भट्याउँछन् ।

पुतली बनाउने दिन माघ २ गते साँझदेखि ३ गते पुतली खोलामा लगेर नसेलाउञ्जेलसम्म भट्याउने गर्छन् । यसरी भट्याउँदा देवि खुसी हुन्छन् भन्ने मान्यता रहेको स्थानीय मानसिंह बुढा बताउँछन् ।

देवीलाई खुसी भालुको पित्त देखाइन्छ

माघ ३ गतेका दिन भल्कोट गाउँमा हुने पुतली नाचसँगै भालुको पित्त देखाइन्छ । पुतली नाच र कापैसँगै देखाइने भालुको पित्त देख्दा जो कोही पनि अचम्मित पर्छन् । स्थानीयले एक मानिसलाई नचिनिने गरी मुख छोपिदिए र खरानी लगाइदिएर नचिन्ने बनाइएको हुन्छ । त्यसलाई भालु भनिन्छ । रक्सी खुवाएर लठ्ठ भनेको उसलाई पशुलाई झैँ दाम्लोले बाँधेर लतारिन्छ ।

उसँगै दुई/चार जना रक्सीले लठ्ठिएका मान्छे हुन्छन् । उक्त अपरिचित मान्छेलाई मान्छेको भीडमा लगेर भालु आयो भन्दै उसलाई देखाइ खरानी, माटो हाल्दिने गर्दछन् । त्यसलाई भालुको पित्त भनिन्छ । यसरी भालुको पित्त देखाउँदा पितृ खुसी हुने र देवी हाँस्ने स्थानीय प्रमुखसिंह घर्ती मगर बताउँछन् । उनी भन्छन्, ‘यो त सयौँ वर्ष पहिलेदेखि चल्दै आएको चलन हो, अहिले भालु बन्न पनि मान्दैनन्, भालु भनेर पित्त देखाउँदा पनि राम्रो मान्दैनन्, यसरी त परम्परा हराउँछ, ठट्टा गर्नका लागि गरेको होइन, यसरी भालुको पित्त देखाउँदा देवी खुसी हुन्छन् भन्ने मान्यता छ, यो त हाम्रो बाउबाजेले गर्दै आएको कुरा हो ।’

यस्ता कला संस्कृतिको संरक्षणका लागि स्थानीय तिलाचन युवा क्लब सक्रिय बनेको छ । हरेक वर्ष क्लबले यसको व्यवस्थापन गर्दै आएको अध्यक्ष सञ्जु थापा मगरले बताइन् । पुराना कला संस्कृति यस ठाउँको पहिचान भएको भन्दै पुतली नाचसँगै अन्य संस्कृति संरक्षणका लागि बुढापाकाबाट युवालाई सिक्न प्रेरित गर्ने गरेको उनी बताउँछिन् ।

‘पुतली नाच देशकै गहना हो, यस्तो परम्परा अन्य कुनै ठाउँमा छैन, पछिल्लो समय लोप हुने अवस्थामा पुगेको छ, तर यसको संरक्षणका लागि हामीहरु लागि रहेका छौँ, यो अलिकति खर्चिलो पनि छ,’ अध्यक्ष थापाले भने, ‘पुतली नाच प्रदर्शनमा लाग्ने खर्चदेखि अन्य व्यवस्थापन हामीहरुले गरेका छौँ, सरकारले पनि यसतर्फ ध्यान दियो भने यसको संरक्षण युगौँसम्म हुने थियो ।’

गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले गाउँपालिका कला, संस्कृतिको केन्द्रबिन्दु भएको उल्लेख गर्दै पुतली नाच ऐतिहासिक भएको बताए । पुतली नाचको संरक्षण तथा प्रवर्द्धन गर्नका निम्ति गाउँपालिकाले आवश्यक बजेट विनियोजन गर्ने र यसलाई पर्यटनसँग जोड्ने उनी बताउँछन् । ‘पुतली नाच विशिष्ट संस्कृति हो, सयौँ वर्ष इतिहास बोकेको यो संस्कृति अहिले पनि जिवितै छ, यसको संरक्षणमा स्थानीय लाग्नुभएको छ, गाउँपालिकाले पनि बजेट विनियोजन गरेर संरक्षणमा लागेका छौं,’ अध्यक्ष घर्तीमगरले भने, ‘पुतली नाचसँगै यहाँका गाउँहरु थुप्रै संस्कृति छन्, तिनीहरुको प्रवद्र्धनका लागि हामीहरु गम्भीर भएर लागेका छौं ।’

प्रकाशित समय : १८:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु