global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ नेपाली स्रष्टाका स्वर लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी अभिलेखमा

नेपाली स्रष्टाका स्वर लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी अभिलेखमा

नेपाली स्रष्टाका स्वर लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी अभिलेखमा

काठमाडौं । नेपाली, नेपालभाषा र मैथिली भाषाका एक दर्जनभन्दा बढी नेपाली स्रष्टाले आफ्नै स्वरमा वाचन गरेका रचनाका अंश लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी डिजिटल अभिलेखमा समावेश भएका छन् ।

यससँगै यो ध्वनि अभिलेख विश्वभरका पाठक, अध्येता र अनुसन्धानकर्ताका लागि खुला भएका छन् ।

दक्षिण एसियाली साहित्यिक ध्वनि अभिलेख परियोजनाअन्तर्गत ती ध्वनि सामग्री हालै नयाँ डिजिटल स्वरूपमा सार्वजनिक गरिएको हो । एक वर्ष लामो पुनर्संरचना तथा अनलाइन प्रस्तुतीकरण परियोजनापछि लाइब्रेरी अफ कङ्ग्रेसले ती अभिलेखलाई विश्वव्यापी अध्ययन र अनुसन्धानका लागि सहज पहुँचमा ल्याएको जनाएको छ ।

लाइब्रेरी अफ कङ्ग्रेसले यसअघि सन् २००४ मा माधव घिमिरे, मोहन कोइराला, मदनमणि दीक्षित, ध्रुवचन्द्र गौतम, बानीरा गिरि, भुवन ढुङ्गाना र दिनेश अधिकारीका आफ्नै स्वरमा वाचन गरिएका रचनाहरू सङ्कलन गरेको थियो । पछिल्लो परियोजनाले त्यस परम्परालाई विस्तार गर्दै समकालीन नेपाली, नेपालभाषा र मैथिली साहित्यका स्रष्टाका स्वरलाई पनि अन्तरराष्ट्रिय साहित्यिक अभिलेखमा समेटेको हो ।

नयाँ सङ्ग्रहमा अभि सुवेदी, अशेष मल्ल, कालीप्रसाद रिजाल, कृसु क्षेत्री, नारायण ढकाल, प्रतिसरा सायमी, भुवनहरि सिग्देल, मनु मञ्जिल, माया ठकुरी, मोमिला, राजेन्द्र विमल, शारदा शर्मा, श्रवण मुकारुङ, सरुभक्त, धीरेन्द्र प्रेमर्षी र ज्ञानुवाकर पौडेललगायतका स्रष्टाले आफ्नै स्वरमा वाचन गरेका रचनाका अंश समावेश छन् ।

साहित्यकार कृसु क्षेत्रीका अनुसार यी ध्वनि अभिलेखले सिर्जनालाई मात्र नभई स्रष्टाको उच्चारण, लय, भावप्रवाह र भाषिक संस्कृतिलाई समेत भावी पुस्ताका लागि सुरक्षित गरेका छन् ।

बङ्गलादेश, भारत, नेपाल, पाकिस्तान र श्रीलङ्काका २० भाषामा सिर्जना गर्ने एक सयभन्दा बढी प्रतिष्ठित लेखकको सहभागिता रहेको एसएएलआरपी दक्षिण एसियाली साहित्यिक ध्वनि सम्पदाको एक महत्वपूर्ण परियोजना हो । उपन्यास, कथा, नाटक, कविता र निबन्धलगायत विविध विधाका रचनालाई समेट्ने यस सङ्ग्रहले क्षेत्र, भाषा, शैली र विषयवस्तुको विविधतालाई एउटै अभिलेखमा समेटेको छ ।

सन् २००२ मा सुरु भएको एसएएलआरपीअन्तर्गत ध्वनि अभिलेखसँगै लेखकका तस्बिर र सङ्क्षिप्त जीवनी पनि उपलब्ध छन् । यी सामग्रीहरू ‘साउथ एसियन डिजिटल कलेक्सन’ मार्फत विश्वव्यापी अध्ययन र अनुसन्धानका लागि खुला गरिएको छ ।

साहित्यकार क्षेत्रीले यस नयाँ डिजिटल प्रस्तुतीकरणले नेपाली, नेपालभाषा र मैथिली साहित्यका सशक्त स्वरलाई अन्तरराष्ट्रिय साहित्यिक समुदायसँग जोड्ने महत्वपूर्ण सेतु निर्माण गरेको बताए। उनका अनुसार एसएएलआरपी ध्वनि अभिलेखको सङ्ग्रह मात्र नभई बीसौँ र एक्काइसौँ शताब्दीको दक्षिण एसियाली साहित्यिक चेतना, सांस्कृतिक स्मृति र सिर्जनात्मक उत्तराधिकारलाई संरक्षण गर्ने महत्वपूर्ण दस्तावेजका रूपमा स्थापित भएको छ ।

प्रकाशित समय : ०८:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु