काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विमान दुर्घटना : जाँच आयोग गठन, सोमबार शोक बिदा

9.07K
shares

सरकारले पोखरामा आज बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन पाँच सदस्यीय जाँच आयोग गठन गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा त्यस्ता दुर्घटनाहरु दोहोरिन नदिनका लागि अपनाउनुपर्ने सुझाव सहितको प्रतिवेदन दिन आयोग गठन गरेको हो ।

आयोगको संयोजकमा पूर्वसचिव नागेन्द्र घिमिरे रहेकाे सरकार प्रवक्ता एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । आयोगका सदस्यमा हवाई विज्ञद्वय दीपकप्रकाश बास्तोला (अवकाशप्राप्त उपरथी) र सुनिल थापा (अवकाशप्राप्त क्याप्टेन) तथा हवाई मर्मत इञ्जिनियर एकराजजंग थापा छन् । आयोगको सदस्यसचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् ।

आयोगलाई ४५ दिनको समयावधि तोकिएको छ । आयोगले दुर्घटनाको कारण पहिचान गर्नुका साथै आगामी दिनमा त्यस्ता दुर्घटना हुन नदिनका लागि गर्नुपर्ने कार्यका लागि सुझाव सहितको प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ । प्रतिवेदन प्राप्त भएलगत्तै सरकारले सुझाव कार्यान्वयनको व्यवस्था मिलाउने प्रवक्ता पौडेलले बताए । गैरसैनिक हवाई उडान दुर्घटना जाँच नियमावली, २०७१ बमोजिम दुर्घटना जाँच आयोग गठन गरिएको हो ।

सरकारले दुर्घटनाको शोकमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले माघ २ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

‘आज बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले विमान दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ, दिवङ्गप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ, निधन भएका व्यक्तिका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ,’ उनले भने, ‘शोकपूर्ण घटनाका सन्दर्भमा भोलि माघ २ गते शोक मनाउने र एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।’