global ime bank Long Banner Ad

गृहपृष्ठ क्वारेन्टिन अवधि पूरा नगरी घर पठाइएकामध्ये ३ जनामा कोरोना संक्रमण

क्वारेन्टिन अवधि पूरा नगरी घर पठाइएकामध्ये ३ जनामा कोरोना संक्रमण

क्वारेन्टिन अवधि पूरा नगरी घर पठाइएकामध्ये ३ जनामा कोरोना संक्रमण

वीरेन्द्रनगर नगरपालिकाले भारतबाट आएका नागरिकलाई क्वारेन्टिन अवधि पुरा नगरी घर फर्काउने गरेको छ । यसरी नगरपालिकाले घर फर्काएका ११ जना युवामध्ये तीन जनामा कोरोना पोजेटिभ देखिएको छ ।

वीरेन्द्रनगर नगरपालिका- ९, अलायाचौर शिवटोलका २६ वर्षीय युवक, धरमपुर टोलका ४० पुरुष र अर्का १४ किशोरमा मंगलबार कोरोना पुष्टि भएको हो । कोरोना पोजेटिभ देखिएपछि बुधबार बिहान उनीहरुलाई कर्णाली प्रदेश अस्पताल तथा वीरेन्द्रनगर नगरपालिकाको स्वास्थ्य महाशाखाको टोलीले घरबाटै ल्याएर आइसोलेसनमा राखेको छ ।

गत जेठ ६ गते सुनौली नाका हुँदै सुर्खेत आइपुगेका उनीहरु जनउच्च माध्यमिक विद्यालयको क्वारेन्टिनमा बस्दै आएका थिए । गत जेठ १५ गते उनीहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेर रिपोर्ट नआउँदै १८ गते घर फर्काईएको थियो । क्वारेन्टिन अवधि पुग्न दुईदिन अगाडि घरपुगेका उनीहरुको बुधबार रिपोर्ट पोजेटिभ आएको हो ।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार कम्तिमा १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने भए पनि उनीहरुलाई १२ दिनमै घर फर्र्काइएकाले कोरोनाको संक्रमण समुदाय स्तरमा फैलने त्रास बढेको सामाजिक अभियन्ता बखत शाहीले बताए । वीरेन्द्रनगर नगरपालिका- ९ निवासी शाहीले नागरिकलाई आतंकित पार्नेगरी क्वारेन्टिनमा बसेकाहरुको पीसीआर रिपोर्ट नआउँदै र क्वारेन्टिन अवधि नपुग्दै लापरबाहीपूर्ण तरिकाले घर पठाएको बताए । ‘समुदाय स्तरमा कोरोनाको संक्रमण फैलिए जिम्मेवारी को हुन्छ ?’ उनले प्रश्न गरे, ‘आज क्वारेन्टिन व्यवस्थित गर्न नसक्ने नगरपालिकाले भोलि महामारी नियन्त्रण गर्न सक्दैन ।’ प्रदेश सरकार तथा स्थानीय सरकारलाई समेत पटक-पटक सुझाव दिँदा पनि लापरबाही गरेको उनले सुनाए ।

गत फागुनमा वीरेन्द्रनगर- ९, अलायाचौरबाट संक्रमित युवाहरु सहित चारजना रोजगारीका लागि भारत गएका थिए । भारतको हाजमगढमा मजदुरी गर्दै आएका उनीहरु कोरोनाको संक्रमण फैलन थालेपछि मे ५ तारिखमा भारतबाट हिँडेका थिए । संक्रमित युवासँगै सोही स्थानबाट सँगै भारत गएर आएकामध्ये दुई जनामा संक्रमण पुष्टि भएको हो । गोरखपुरबाट नेपाल आउन छिटो पर्ने भए पनि सुनौली नाका हुँदै आउँदा ५ दिन बाटोमा हिँड्नुपरेको उनीहरुमध्ये एक जनाले बताए ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको क्वारेन्टिनमा ७ दिन बसेका उनीहरु आरडीटी परीक्षणपश्चात रिपोर्ट नेगेटिभ आएपछि वीरेन्द्रनगर नगरपालिकाले पठाएको गाडीमा घर आएका थिए । ६ गते वीरेन्द्रनगर आइपुगेपछि जनउच्च माध्यमिक विद्यलायको क्वारेन्टिनमा बसेको र ९ दिनको दिन जेठ १५ गते टिप्परमा चढाएर स्वाब आफूहरुले रिपोर्ट नआउँदासम्म घर नजाने र पछिल्लो लटमा ल्याएका २ सय जनाबाट छुट्टै राख्न आग्रह गरे पनि नगरपालिकाले एकै ठाउँमा कोचाकोच राखेको उनीहरुको गुनासो छ ।

‘फर्कंदा हामी सुरक्षित आएका थियौं । जब पछिल्लो लटमा भारतबाट आएका दुईसय जना र हामीहरुलाई सँगै राखियो, त्यसपछि भने हामीलाई संक्रमणको शंका लागेको हो,’ भारतबाट आएका एक युवकले भने । १४ दिन क्वारेन्टिनमै बस्छौं भन्दासमेत १२औं दिनमै आफूहरुलाई नगरपालिकाले घर पठाइदिएको उनको भनाइ छ । पहिलो रिपोर्ट नेगेटिभ आए पनि आफ्नो पुनः परीक्षण गरिनुपर्ने उनको माग छ ।

वीरेन्द्रनगर नगरपालिकाका स्वास्थ्य महाशाखाका भुपेन्द्रदेव गिरीले क्वारेन्टिन अवधि पूरा गरेरै उनीहरुलाई घर पठाएको दावी गरे । ‘हामीले वडा अध्यक्षसँग समन्वय गरी होम आईसोलेसनमा बस्नेगरी घर पठाएका हौं । उहाँहरुले भनेजस्तो छुट्टै राख्न सक्ने अवस्था पनि थिएन ।’ त्यस समयमा पीसीआर जाँच गर्ने मेसिनसमेत बिग्रिएकाले रिपोर्ट ढिला आएको उनको भनाइ छ । नगरपालिकामा एकहजार जनाभन्दा धेरै आइसोलेसनमा रहेको र समस्या थपिँदै गएको उनले बताए ।

उनीहरुसहित वीरेन्द्रनगर- १ का ८ जनामा समेत मंगलबार कोरोना पोजेटिभ देखिएको थियो ।

मन्त्रालयको रिपोर्टमा गलत ठेगाना 

सामाजिक विकास मन्त्रालयले मंगलबार वीरेन्द्रनगर नगरपापालिका- १ र ३ मा गरी ११ जनामा कोरोना पुष्टि भएको तथ्यांक सार्वजनिक गरे पनि उनीहरुको ठेगाना भने गलत राखिएको छ । वीरेन्द्रनगर नगरपालिका- ९, अलायाचौरका २ जना र वीरेन्द्रनगर- २ र ९ को सिमानामा बस्दै आएका १४ वर्षीय बालकमा कोरोना पुष्टि देखिए पनि मन्त्रालयले भने वडा नं. ३ का नागरिकमा कोरोना पुष्टि भएको तथ्यांक सार्वजनिक गरेको थियो ।

ठेगाना गलत भएको कारण आफूहरुलाई संक्रमित खोज्न केही असजिलो भएको वीरेन्द्रनगर नगरपालिकाका स्वास्थ्य महाशाखाका भुपेन्द्रदेव गिरीले बताए । उनले सामाजिक विकास मन्त्रलायले निकालेको प्रेस विज्ञप्तिमा संक्रमितको ठेगाना गलत भए पनि आफ्नो नगरपालिकामा भित्रिएका नागरिकहरुको नामावली, उमेर र फोन नम्बर राखिएकाले केही सहज भएको उनले बताए ।

सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख लक्ष्मीनारायण तिवारीले यस विषयमा आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए ।

प्रकाशित समय : १८:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु