गृहपृष्ठ लकडाउनको ‘मोडालिटी’बारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै
लकडाउनको ‘मोडालिटी’बारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै
कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका विषयमा छलफल गर्न आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषद् बैठकमा जारी लकडाउनको मोडालिटीका बारेमा निर्णय हुने बताइएकाे छ ।
बिहीबार बिहानदेखि काठमाडौंको न्युरोड, असन लगायतका क्षेत्रमा पसल खुलेपछि लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा सरकाले निर्णय गर्न लागेको हो । लामो समयको लकडाउनले जीविकोपार्जनमा समस्या भएको र राजस्व पनि गुमेपछि सरकारलाई लकडाउन खुकुलो पार्नुपर्ने दबाव छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको मोडालिटीबारे बुधबार साँझ स्वास्थ्यविद्, अर्थविद्, योजनाविद्लगायत अन्य सरोकारवालाहरूसँग पाँच घण्टा छलफल गरेका थिए । सो क्रममा अधिकांश सहभागीहरूले लकडाउन खुकुलो बनाउन प्रधानमन्त्रीलाई सुझाव दिएका थिए । विज्ञहरुले विभिन्न प्रकारका विकल्प दिएका छन् । प्रभावित क्षेत्रलाई वर्गीकरण गरेर लकडाउनको स्वरुप त्यसैअनुसार बनाउनु पर्नेमा विज्ञको जोड छ ।
प्रधानमन्त्रीले अहिले विभिन्नथरी विचार आएको भन्दै लकडाउन खुकुलो पार्ने कि नपार्ने ? यदि पार्ने हो भने कसरी पार्न सकिन्छ ? भनेर सुझाव लिएका थिए । यस्तै क्वारेन्टाइनको व्यवस्थापन कसरी गर्ने ? विदेशबाट आएका नेपालीलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा पनि प्रधानमन्त्रीले राय संकलन गरेका छन् ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन घोषणा गरेको छ । पछिल्लोपटक थपेको म्यादअनुसार आगामी जेठ ३२ गते लकडाउनको अवधि सकिँदैछ ।
नेपालमा बुधबार मात्रै २०१ जना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय पुगेकाे छ । हालसम्म कोरोनाकै कारण नाै जनाको मृत्यु भइसकेको छ ।
प्रकाशित समय : १८:२४ बजे



















