एस पोलिटब्युरो बैठक : अध्यक्ष नेपाल र खनालको आ–आफ्नै मत
वि.सं.२०७९ पुस १८ सोमवार १५:३९
shares

सोमबार पोलिटब्युरो बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी प्रचण्ड नेतृत्वको सरकारमा सामेल नहुने बताए ।
उनले आफ्नो पार्टीले वर्तमान राजनीतिक परिस्थितिमा ठिक गरिरहेको उल्लेख गर्दै कसैको पक्षमा नरहेको दाबी गर्दै भने, ‘देशको राजनीतिक आफ्नै जटिलता छन्। हाम्रो पार्टी सत्तारुढ गठबन्धनमा सामेल हुन सक्दैन । कुनै पनि शक्तिको पछि लाग्दैन । हामी आफ्नो देश अघि बढाउन चाहन्छौं । हामी देशको हितलाई केन्द्रविन्दुमा राखेर अघि बढ्न चाहन्छौं ।’
तर, पूर्वप्रधानमन्त्री तथा एसका सम्मानित नेता झलनाथ खनालले वामपन्थी दलहरूबीच कार्यगत एकता भए सरकारमा जाने मात्रै बताएनन् पोलिट्ब्युरो बैठकमा लिखित प्रस्ताव समेत राखेका छन् ।
तत्काल पार्टी एकता हुन सक्ने अवस्था नरहेकाले वामपन्थी दलहरुबीच कार्यगत एकता भएमा सरकारमा सहभागी हुन सकिने खनालको प्रस्तावमा उल्लेख छ ।
आ‐आफ्ना दृष्टिकोण, विचार नीति र सिद्धान्त रहेका वामपन्थीहरुलाई अहिले मिलाउन र एकरुपता कायम गर्न नसकिने भन्दै उनले साझा सवालमा कार्यगत एकता गर्नुको कुनै विकल्प नरहेको बताए । बैठकमा अध्यक्ष नेपाल र सम्मानित नेता खनालबीच भिन्न मत देखिएको हो ।
अब एकीकृत समाजवादीमा पनि सरकारमा सामेल हुने कि नहुने ? अध्यक्ष र सम्मानित नेताको मत आ–आफ्नै आएपछि नेताहरु अन्यौलमा परेका छन् ।
























