गृहपृष्ठ भारतलाई थप दुई आयोजनाको बिजुली बेच्न प्राधिकरणले पायो अनुमति

भारतलाई थप दुई आयोजनाको बिजुली बेच्न प्राधिकरणले पायो अनुमति

भारतलाई थप दुई आयोजनाको बिजुली बेच्न प्राधिकरणले पायो अनुमति

नेपाल विद्युत् प्राधिकरणले थप दुई आयोजनाको ४३ मेगावाट बराबर बिजुली भारतमा निर्यात गर्न अनुमति पाएको छ । भारतीय इनर्जी एक्स्चेन्ज (आईएक्स)को डे अहेड बजारमा प्रतिस्पर्धामार्फत थप ४३ मेगावाट बिजुली बेच्न प्राधिकरणले स्वीकृति पाएसँगै भारतमा बिजुली निर्यात हुने आयोजनाको संख्या १० पुगेको छ ।

अहिले काबेली बी १ को २४.२५ मेगावाट र तल्लो मोदी आयोजनाको १९.४ मेगावाट बिजुली भारतमा बेच्न प्राधिकरणले स्वीकृति पाएको हो । अब नेपालले १० आयोजनाको कुल ४५२ मेगावाट बिजुली भारतलाई बेच्न स्वीकृति पाएको छ । हाल भने प्राधिकरणले बिजुली आयात गर्न थालेको छ । नदी प्रवाहमा आधारित जलविद्युत् केन्द्रहरुबाट उत्पादन कम हुन थालेपछि विद्युत् निर्यात बन्द गरी आयात थालिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

प्राधिकरणले आईएक्सको प्रतिस्पर्धी बजारमै विद्युत् बिक्री र खरिद गर्दै आएको छ । नेपालले यसअघि नै भारतमा बिजुली निर्यात गर्न अनुमति पाएका आयोजनाहरुमा चिलिमे, सोलुखोला, मर्स्याङ्दी, मध्य मर्स्याङ्दी, त्रिशुली, देवीघाट, कालीगण्डकी ए र लिखु छन् ।

गत १९ जेठदेखि ३ पुससम्ममा प्राधिकरणले ११ अर्ब १६ करोड ३० लाख रुपैयाँको विद्युत भारततर्फ निर्यात गरेको थियो । देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट विद्युत निर्यात गरी प्राधिकरणले ११ अर्ब १६ करोड ३० लाख रुपैयाँ (६ अर्ब ९७ करोड ६९ लाख भारु) आर्जन गरेको छ ।

सुरुमा दुईवटा जलविद्युत केन्द्रहरुबाट उत्पादित ३९ मेगावाट विद्युतलाई स्रोत मानी दैनिक रुपमा आईएक्समा बिक्री सुरु गरिएको थियो । त्यसपछि २७ जेठबाट ६ वटा जलविद्युत केन्द्रबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री गरिएको थियो । प्राधिकरणले गत १८ र ३० कात्तिकबाट थप दुई जलविद्युत केन्द्रबाट उत्पादित विद्युत निर्यात गर्न स्वीकृति पाएको थियो ।

प्रकाशित समय : ०७:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु