नक्कली कागजात पेस गरी नेपाली नागरिकता लिने म्यानमारका नागरिक पक्राउ
वि.सं.२०७९ पुस ९ शनिवार १९:०१
shares

एक जना विदेशी नागरिकले झुटा विवरण पेस गरी नेपाली नागरिकता लिएको पाइएको छ । म्यानमारबाट आएका एक नागरिकले सर्लाहीमा बसेर नेपाली नागरिकता लिई मदरसामा पठनपाठन गराउँदै आएको खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
कार्यालयका एसपी कृष्णप्रसाद कोइरालाका अनुसार झुटा विवरण पेस गरी सर्लाहीको साविक त्रिभुवननगर गाविस-१ ठेगानामा नागरिकता लिएका ३९ वर्षीय मोहमद नुर आलमलाई काठमाडौंको कलंकीबाट पक्राउ गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा सन् २०१२ मा म्यानमारबाट बंगलादेश हुँदै नेपाल आई सर्लाहीस्थित साविक त्रिभुवननगर गाविस-१ मा बसी मदरसामा पढाउँदै आएका म्यानमारका नागरिक आलमले झुठा विवरण पेस गरी नेपाली नगरिकता लिएको पाइएको उनले बताए । सोही नागरिकताको आधारबाट उनले राहदानी विभाग काठमाडौंबाट राहदानीसमेत प्राप्त गरेको खुल्न आएको छ ।
झुट्टा विवरण पेस गरी नागरिकता र राहदानी लिएर सरकारी लिखत दुरुपयोग गरेको अभियोगमा आलमलाई लिखतसम्बन्धी कसुरमा थप अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको एसपी कोइरालाले बताए ।
























