nmb bank

गृहपृष्ठ सत्ताको नेतृत्व : प्रचण्ड बलिया बन्दै, गगन एक्लिँदै, ओली अभावमा, देउवा दबाबमा

सत्ताको नेतृत्व : प्रचण्ड बलिया बन्दै, गगन एक्लिँदै, ओली अभावमा, देउवा दबाबमा

सत्ताको नेतृत्व : प्रचण्ड बलिया बन्दै, गगन एक्लिँदै, ओली अभावमा, देउवा दबाबमा

आजभन्दा झण्डै डेढ दशकअघि ‘नयाँ नेपाल’ भन्ने शब्दावली निकै प्रयोगमा थियो । चोक चौतारो/चियापसलदेखि नेतागणका भाषणहरुमा नयाँ नेपालको चर्चा हुन्थ्यो । जनतामा नयाँ नेपालको बेग्र प्रतिक्षा थियो । तर अहिले नयाँ नेपाल, आफ्नै सपनाको मलामी जाँदै गरेको शोकमग्न यात्री जस्तो बनेको छ । किनकि न नेपाल नयाँ बन्यो, न नेपाललाई नयाँ बनाउने नयाँ अनुहार नै आउन सके । बरु २०६२/६३ अघि नयाँ नेपालको रटान लगाएर तर मारेकाहरुमा नयाँ नेपाल भन्ने जाँगरसमेत छैन । के हामीलाई गणतन्त्रअघिको अघिकै नेपाल चाहिएको हो ? किनकि नेतृत्व उही छ । शैली उही छ । पात्र र प्रवृत्ति उही छ । हरेक निर्वाचनमा जनताले केही नयाँ हुन्छ भन्ने विश्वासका साथ मत खन्याउँछन् । तर मतकै बलमा नयाँ नेपालका पुराना अनुहारहरु सत्तामा पुग्छन् । पञ्चायतमा यीनै थिए । दरबारका पालामा यीनै थिए । गणतन्त्रका मालिक पनि यीनै छन् । अब फेरि देउवा, प्रचण्ड र ओलीकै हातमा सत्ता जाँदैछ । नयाँ नेपालमा गगनहरु प्रधानमन्त्री बन्ने सम्भावना छैन । नयाँ नेपालमा रविहरु उठेका छन् तर अडिन पाएका छैनन् । बरु विधि, पद्धति र नैतिकताले नदिएपनि सिंहासनको ¥याल चुहाइरहेका खिलराज रेग्मीहरु राष्ट्रपतिको लोभमा बालुवाटारको चक्कर लगाइरहेका छन् । गैरराजनीतिक व्यक्तिलाई राष्ट्रप्रमुख बनाउन नाटकिय गृहकार्य चलेको विषयले तरंग ल्याएको छ । यहाँ जसले जे गरेपनि छुट छ । हिजो गठबन्धनलाई गठे भन्ने नेकपा एमालेका अध्यक्ष केपी ओली र ओलीलाई राप्रपासँग तालमेल गरेकै कारण भड्किएको प्रतिगामी प्रेतआत्मा भन्ने प्रचण्ड–माधव र देउवाहरु नै सत्ता जोडघटाउको चुरो विन्दुमा छन् । सत्ताको नेतृत्वमा उनीहरु नै पुग्ने भन्नेमा दुईमत रहेन । तर कसरी सरकार बनाउँछन् भन्ने विषय चासोमा छ । किनकि दर्जनभन्दा बढी त प्रधानमन्त्रीकै आकांक्षी छन् । त्यसो भए कसरी बन्ला सरकार ? आज हामी सतहमा आएका केही परिदृश्यलाई केलाएर विश्लेषण गर्दछौं ।

मतदान सकिएको करिव एक महिनापछि निर्वाचन आयोगले राष्ट्रपतिलाई अन्तिम मत परिणामसहितको निर्वाचन प्रतिवेदन बुझाएको छ । निर्वाचनको अन्तिम परिणाम घोषणासँगै नयाँ सरकार गठन र संसदको अधिवेशन आह्वानको बाटो खुलेको छ । आगामी पाँच वर्षका लागि प्रतिनिधिसभाका २७५ सदस्य चुनिएका छन् । प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० जना सदस्यको अन्तिम परिणाम गत बिहीबारमात्रै आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाएको छ । अब निर्वाचित सदस्यहरुको नामावली राजपत्रमा प्रकाशित भएपछि उनीहरुको शपथग्रहणको प्रक्रिया अघि बढ्नेछ ।

आयोगका अनुसार प्रतिनिधिसभामा निर्वाचित भएका सदस्यमध्ये ९१ जना महिला छन् । १८४ जना पुरुष छन् । दलगत हिसाबले नेपाली कांग्रेसबाट ८९, नेकपा एमालेबाट ७८, नेकपा माओवादी केन्द्रबाट ३२, राष्ट्रिय स्वतन्त्र पार्टीबाट २०, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट १४, जनता समाजवादी पार्टीबाट १२, नेकपा एकीकृत समाजवादीबाट १०, जनमत पार्टीबाट ६, लोकतान्त्रिक समाजवादी पार्टीबाट ४, नागरिक उन्मुक्ति पार्टीबाट ३, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाबाट १–१ जना सदस्य निर्वाचित भएका छन । ५ जना स्वतन्त्र निर्वाचित भएका छन् । अब उनीहरु नै सरकार बनाउने शक्ति हुन् ।

संविधानको धारा ७६ को ८ बमोजिम ‘प्रतिनिधि सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको वा प्रधानमन्त्रीको पद रिक्त भएको मितिले ३५ दिनभित्र प्रधानमन्त्री नियुक्तिसम्बन्धी प्रक्रिया सम्पन्न गर्नुपर्नेछ’ भन्ने व्यवस्था छ । यो व्यवस्था अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपतिलाई बाटो खुलेको छ । अबको ३५ दिनभित्रै सरकार गठन गरिसक्नुपर्नेछ ।

अबको सरकारको नेतृत्वका लागि प्रमुख दलका पुराना पात्रहरु नै चर्चामा छन् । गठबन्धनबाट काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल प्रधानमन्त्रीको दाबी गरिरहेका छन् । त्यसमा गठबन्धनबाटै काँग्रेस महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्रीको बलियो दाबी पेश गरेका छन् । यो रेसमा नेपाली काँग्रेसको संस्थापनइतर समूहको नेतृत्व गरेका शेखर कोइराला आकांक्षी छन् । शशांक कोइराला र प्रकाशमान सिंहको दाबी रहेपनि उनीहरु रेशबाट बाहिरिने प्रशस्त संकेतहरु दिइरहेका छन् । फलतः गठबन्धनभित्रबाट प्रमुख दाबेदारका रुपमा देउवा, प्रचण्ड र गगन–शेखर प्रस्तुत हुने सम्भावना बलियो छ । अरुका आ–आफ्नै स्वार्थ जोडिएका छन् । जसका विषयमा पनि आज हामी चर्चा गर्दछौं ।

यो त भयो गठबन्धनको कुरा । गठबन्धनविरुद्धै प्रतिपक्ष गठबन्धन बनाएर चुनावमा गएका र दोस्रो ठूलो मत ल्याएका एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको एक्ला दाबेदार हुन् । पार्टीभित्र निर्विकल्प र निर्विवादित अवस्थामा उनी प्रधानमन्त्रीको उम्मेदवार बनेका छन् । तर ओलीको दाबेदारी ‘फुस्रो विरुवाको फुस्रै पात’ बनेको छ । किनकि एमालेको पक्षमा बहुमत आएको छैन भने सरकार गठनका लागि चाहिने शक्तिहरु पनि अधिकांश गठबन्धनकै फेभरमा छन् । यस्तो बेला एमाले नेतृत्वमा सरकार बन्ने सम्भावना अभावमा परेकाे छ । तर राजनीति र सत्ता सम्भावनाको खेल हो । सम्भावना हरेक विषयको हुनसक्छ । तथापी अहिलेको बस्तुस्थितिले एमालेलाई किनाराकृत गर्ने सम्भावना बलियो छ । र बहुमतका आधारमा समेत गठबन्धन सुविधा नजिक छ । यसकारण सरकारको नेतृत्वका लागि पहिलो लडाइँ गठबन्धनभित्रै हुनेछ । र त्यसको सुरुआत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् । आफुलाई सम्भावित प्रधानमन्त्रीको दाबेदार बनाएर निर्वाचनमा गएका प्रचण्डले सत्ता गठबन्धनकै सरकार बन्ने विषयमा पटकपटक बोलेपनि आफैले नेतृत्व गर्ने स्पष्ट अडान लिएका थिएनन् । तर बुधबार कास्कीको अन्नपूर्ण गाउँपालिका पुगेर बोलेका प्रचण्डले केही समयमै सरकारको नेतृत्वमा पुग्दै गरेको दाबी थिए । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै पुगेर देउवासँग प्रधानमन्त्रीको औपचारिक आकांक्षा व्यक्त गरेको छ । जसले देउवालाई झनै ठूलो दबाब दिने काम गरेको छ ।

अब अहिलेकै अवस्थामा प्रचण्ड प्रधानमन्त्री बन्ने सम्भावना छ त ? आधारहरुलाई हेर्दा छ । प्रचण्ड गठबन्धनको बलियो नेता हुन् । उनी प्रधानमन्त्री बन्ने हैसियत पनि राख्छन् । र, अहिलेको निर्वाचनले उनलाई प्रधानमन्त्री बन्ने ठाउँमा पनि पुर्‍याएको छ ।

तर उनको पक्षमा बहुमत छैन । पार्टी मात्र ३२ सिटमा खुम्चिएको छ । संसदीय राजनीतिमा तेस्रो दल बनेको माओवादी सरकारको नेतृत्व गर्ने स्पष्ट हैसियतमा पनि छैन । तथापी गठबन्धनभित्र सहमति हुँदा उनको बहुमत पुग्छ । नेपाली काँग्रेसको ८९ सिटसहित अन्य दलको समर्थन पाउँदा प्रचण्ड प्रधानमन्त्री बन्न सक्छन् । किनकि उनी गठबन्धनभित्रको निर्णायक शक्ति पनि हुन् । यो निर्वाचनमा कुनै पनि दलको प्रचण्ड बहुमत नआएपछि तेस्रो ठूलो मत ल्याएर पनि निर्णायक बन्ने सौभाग्य पाएका प्रचण्ड सत्ता बार्गेनिङको मियो पनि बनेका छन् । ओलीलाई देखाएर देउवा अत्याउने अनि सत्ता हत्याउने प्रचण्डको ‘ओपन सेक्रेट’का अघि मैं हुँ भन्नेले एमालेले पनि माथ खाएको छ । झन बालुवाटार र बालकोटको एकसाथ उठबसले देउवालाई दबाब र ओलीलाई लोभ देखाउने काम गरेको छ । अब गठबन्धनकै बलमा प्रधानमन्त्री भए ठिक, नत्र ओलीसँगको सहकार्यमै भएपनि सरकारको नेतृत्व गर्ने सम्भावनामाथि माओवादी खेलिरहेको छ । गत बुधबार विहान बालकोटमा एमाले अध्यक्ष ओलीसँग माओवादीका महासचिवले दुईघण्टा संवाद चलाएका थिए । त्यसले नेपाली काँग्रेस झनै सशंकित बनेको छ । किनकि माओवादीको मुल उद्देश्य नै जोसँग मिले पनि प्रधानमन्त्री हुनै पर्ने गरि प्रकट भइरहेको छ ।

यदि प्रचण्डबाट प्रधानमन्त्रीको भाग खोसिएर पनि उनी स्थिर रहनसके सत्ताको नेतृत्व गठबन्धनभित्रकै अर्काे दलमा जानेछ । त्यो दल नेपाली काँग्रेस नै हो । जहाँभित्र सबैभन्दा धेरै प्रधानमन्त्रीको प्रतिस्पर्धा छ ।

त्यहाँ वरिष्ठ नेता रामचन्द्र पौडल जीवनकालको अन्तिमपटक पनि पुरा नभएको सपना साकार बनाउनका लागि दौडधुप गरिरहेका छन् । यसै पनि १७ पटक चुनाव हारेको ट्याग पौडेलकै नाममा छ । उनी १८ औं पटक प्रयास गर्दैगर्दा बुधबार नै देउवासँग भेटेर सहमतिमै आफ्नो नाम संसदीय दलमा प्रस्ताव गर्न आग्रह गरेका थिए । तर देउवाले सोचौंला भन्दै फर्काईदिए । यद्यपी रामचन्द्र पौडेल भए प्रधानमन्त्री नभए राष्ट्रपतिका लागि पनि देउवालाई दबाब दिइरहेका छन् । पौडेल जस्तै प्रधानमन्त्रीको दाबी गरेका शशांक कोइराला र प्रकाशमान सिंहको हैसियत केही थान मन्त्रीका लागि मात्रै हुनेछ । तर महामन्त्री गगनकुमार थापा जब्बर बनेर उदाएका छन् ।

उनी देशको नेतृत्व गर्न सक्षम पनि छन् । अहिलेको पुस्ताले समय सुहाउँदो नेतृत्व खोजिरहँदा गगन ‘प्रफेक्ट’ पनि हुनसक्छन् । तर गगनको पक्षमा पार्टीभित्र बहुमत छैन । किनकि प्रधानमन्त्री बन्नका लागि अंकगणित चाहिन्छ । पार्टीभित्र जितेका मध्ये ५१ प्रतिशत सांसद आफ्नो पक्षमा मत दिनुपर्छ । संसदीय दलको चुनाव जितिसकेपछि मात्रै प्रधानमन्त्री बन्न पाइने हो । जहाँ गगनको मतभार निकै थोरै छ । तथापी पुस्तान्तरणको मुद्धासहित गगन थापालाई प्रधानमन्त्री बनाउनका लागि नेताहरुको दौडधुप चलेको विषय पनि सतहमा छ ।

काँग्रेस संस्थापनइतरका नेता तथा गगन थापाका ससुरा अर्जुननरसिंह केसीले प्रचण्ड, बाबुराम भट्टराई र एमाले अध्यक्ष ओलीसँग भेटेर संवाद गरेका छन् । यसविषयलाई लिएर उनी गगन थापाका लागि दौडधुपमा रहेको सन्देश पनि गएको छ । किनकि उनले अब पुस्तान्तरण र नेतृत्वमा नयाँ आउन आवश्यक रहेको वकालत गरिरहेका छन् ।

अब सबैभन्दा ठूलो विषय अंकगणित हो । जसमा गगन पछि छन् । समानुपातिकमा परेका ३२ जनामध्ये देउवाको पक्षमा २३ जना छन् भने ९ जनाइतर समूहका छन् । प्रत्यक्षमा जितेका ५७ मध्ये १६ जना शेखर–गगन समूहका छन् । विश्वप्रकाश महामन्त्री लडेको प्रकाशमान सिंह समूहका सात जनाले कसलाई समर्थन दिन्छन् स्पष्ट नभएपनि प्रकाशमान सिंहले गगनलाई समर्थन दिने छैनन् । गगनको प्रस्तावक बन्ने घोषणा गरेका अर्का महामन्त्री विश्वप्रकाश शर्माले कति सांसद तान्न सक्छन् यो प्रश्न पनि अहम् छ ।

महाधिवेशनमा देउवाविरुद्ध गएका विमलेन्द्र निधि अहिले समानुपातिक बिकेका छन् । पुस्तान्तरणकै मुद्धा बोक्ने प्रदीप पौडेलसम्मका व्यक्तिले हिम्मत गर्ने देखिएको छैन । फलतः कुल ८९ मध्ये मात्र २५ जनाको साथमा गगनले संसदीय दलको चुनाव लड्नुपर्नेछ । त्यसमा पनि यो समूहको नेतृत्व गरेका शेखर कोइराला आफैले संसदीय दलको निर्वाचन लड्ने तयारी गरेका छन् । यसअघि पनि अंकगणित प्रधान हुने भन्दै ‘स्टन्ट’ गर्न नहुने बताउँदै आएका शेखरले सकभर गगनलाई रोक्न खोजेको थिए । यसले यही समूहभित्र फुट निम्त्याउने खतरा बढेको छ । यदि यस्तै भए स्वतः गगनलाई पराजयको यात्रा गराउने निश्चित जस्तैछ । तर नेतृत्व पुस्तान्तरणको पक्षमा उभिएका हरेक सांसदले आफुलाई समर्थन दिने गगन–विश्वको बुझाई छ । यसले विद्रोह निम्त्याउने खतरा पनि बढेको छ । किनकि हरेक मुद्धामा सँगसँगै उभिदै आएका शेखरले संसदीय दलको तयारी गर्नु देउवातिर लच्किएको संकेत पनि हो । यतिबेला शेखरको लाइन प्रधानमन्त्रीको आफ्नो दाबी पनि त्याग्ने र गगनलाई पनि रोकेर पार्टी एकताको सन्देश दिँदै देउवालाई नै प्रधानमन्त्रीमा समर्थन गर्ने भन्नेसम्मको छ । बरु केन्द्रमा केही मन्त्री र केही प्रदेशको नेतृत्व आफ्नो पक्षले लिनुपर्ने मत देखाइरहेका छन् ।

अन्तिम कार्यकालमा रहेका देउवालाई नचिढ्याएर आगामी महाधिवेशन वा निर्वाचनपछि कोइराला विरासत फर्काउने लोभ पनि शेखरमा पलाएको छ । त्यसकारणबाट आगामी प्रधानमन्त्री पनि देउवा नै हुने देखिन्छ ।

संसदीय दलमा स्पष्ट बहुमतमा रहेका देउवालाई हराउनसक्ने अर्काे नेता पनि देखिँदैन् । तर गगनले हारेर भएपनि स्थापित हुने गरि संसदीय दलको नेतामा चुनाव लड्ने घोषणा गरेका छन् । किनकि देउवासँग लडेर हार्न पाएमात्रै पनि गगनको राजनीतिक जित हुनेछ । यसले चुनावमा प्रधानमन्त्रीको एजेन्डा लिएर जितेको विषयमा जनतालाई जवाफ दिन पनि सजिलो बनाउनेछ ।

देउवाले नेतृत्व पुस्तान्तरण नै चाहेको भए आफ्नै समूहका पूर्णबहादुर खड्का, प्रकाशशरण महत, रमेश लेखक वा एनपी साउद जस्ता व्यक्ति नै अघि सार्थे । तर उनी ज्योतिषीले गरेको भविष्यवाणीकै आधारमा सातौंपटक पुर्‍याउने लाइनमा छन् । यद्यपी समय र आवश्यकता फेरिएको छ ।

देउवा २०५२ सालमा प्रथम पटक प्रधानमन्त्री बन्दाभन्दा आज देश धेरै जवान बनेको छ । देशको जनसंख्याले नयाँ आकार ग्रहण गरेको छ  । सिंगो देशले देउवा र उनको पुस्ताको सम्मानजनक बिदाइ खोजेको छ । देउवाले घोषणापत्र लेख्ने जिम्मा युवा महामन्त्रीद्वयलाई दिए जस्तै अब त्यो कार्यान्यवनको जिम्मा पनि युवाहरुलाई दिनुपर्छ भन्ने आवाज बलियो बन्दै गएको छ । कांग्रेस संसदीय दलको नेताको निर्वाचन त्यसैको प्रस्थानविन्दु हुनुपर्छ भन्ने आवाजले देउवामा प्रेसर थपेको छ ।

अब माधवकुमार नेपाल पनि प्रधानमन्त्री कै रेसमा छन् । किनकि हार्दा पनि माधव नेपाल प्रधानमन्त्री बनेको देश हो । न्यायालयका प्रमुख खिलराज रेग्मीलाई ल्याएर सरकार प्रमुख बनाएको देश पनि यही हो । यहाँ को प्रधानमन्त्री बन्छ कुनै टुंगो हुँदैन । त्यसैकारण आफ्नो पार्टी राष्ट्रिय दल नबनेपनि माधव एकैबर्षका लागि देउवा–प्रचण्डसँग प्रधानमन्त्री मागिरहेका छन् ।

तर गठबन्धनभित्र विमेल आएर सरकार बन्ने अवस्था नभएको देशको नेतृत्व एमालेको भागमा जाने सम्भावना पनि छ । यसका लागि एमाले नेताहरु अंकगणित र सरकार गठनका विकल्पमाथि हिसावकिताव गरिरहेका छन् ।

सत्ताको नेतृत्वमा को पुग्छ भन्ने विषय राष्ट्रपति र सभामुख लगायतका पदमा हुने सहमतिले समेत निर्धारण गर्नेछ । यसका लागि सबै दलका सबै नेताहरु यतिबेला मुलतः दौडधुपमा केन्द्रीत बनेका छन् । निष्कर्षमा, को बन्छ प्रधानमन्त्री ? भन्ने प्रश्नको जवाफ, ‘काँग्रेसको भागमा पुगे देउवा, माओवादीको भागमा परे प्रचण्ड र एमालेको भागमा परे ओली नै अबको प्रधानमन्त्री बन्नेछन् ।’

प्रकाशित समय : १३:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु