गृहपृष्ठ कोरोना संक्रमण घटेपछि ल्याइएन खोप
कोरोना संक्रमण घटेपछि ल्याइएन खोप
कोरोना भाइरसको संक्रमण घट्दै गएपछि भाइरसविरुद्ध खोप आएको छैन । संक्रमण घट्दै गएको र ठूलो संख्यामा खोप मौज्दात रहेकाले तीन महिनादेखि कोरोना भाइरसविरुद्ध खोप नल्याइएको हो ।
कोरोना भाइरसको संक्रमण घट्दै र खोपको माग पनि कम भएपछि खोप नल्याइएको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाप्रमुख डा. सुरेन्द्र चौरसियाले जानकारी दिए । कोरोना संक्रमण कम हुँदै जानु, खोप लगाउने मानिसको संख्या कम हुनु र नेपालमा ठूलो संख्यामा खोप मौज्दात भएकाले थप खोप नल्याइएको हो । अहिले संक्रमण दर एक प्रतिशतभन्दा पनि कम रहेको छ । यही पुस १ गते आठ सय ४६ जनाको परीक्षण गर्दा एक जनामा पनि संक्रमण देखिएको छैन ।
उनका अनुसार अन्तिम पटक भदौ २७ गते कोभ्याक्समार्फत १४ लाख ९९ हजार नौ सय ४० मात्रा खोप ल्याइएको छ । त्यसयता सरकारले खोप ल्याइएको छैन । ‘अहिले प्रदेश र जिल्लाबाट खोपको माग भएको छैन । माग नभएपछि त्यतिकै राख्नुपर्दछ भनेर हामीले खोप ल्याएका छैनौं,’ उनले भने, ‘तर बुस्टर डोजका लागि आवश्यक खोप भने ल्याउँछौं ।’
उनले खोपको माग कम भएपछि खोप नल्याइएको बताए । ‘नेपाल ल्याएर खपत नहुने र म्याद सकिने डरले सम्झौता गरेको खोप पनि अहिले ल्याएका छैनौं,’ उनले भने, ‘आवश्यकता अनुसार सम्झौता गरिएको खोप ल्याउँछाैं ।’ सम्झौता गरिएको मध्ये दुईपटक गरेर ३७ लाख मात्रा खोप भने नेपाल आइसकेको छ ।
बुस्टर डोजका लागि ल्याइने
सरकारले बुस्टर डोजका लागि भने खोप ल्याउने तयारी गरेको छ । पहिलो र दोस्रो मात्रा लगाएका लागि थप मात्रा लगाउन खोप ल्याउने थालेको आपूर्ति व्यवस्थापन शाखाप्रमुख चौरसियाले जानकारी दिए ।
नेपालमा संक्रमणको रोकथाम र नियन्त्रण गर्नका लागि पहिलोपटक भारतबाट सन् २०७७ माघ ८ गते १० लाख मात्रा खोप ल्याइएको थियो । त्यसपछि पटक पटक गरी अहिलेसम्म छ करोड ३२ लाख ७६ हजार सात सय १० मात्रा खोप आइसकेको छ । नेपालमा कोभिशिल्ड, भेरोसेल, मोर्डना, एस्ट्राजेनिका, जोन्सन एन्ड जोन्सन र फाइजर लगायतका कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ ।
नेपालले आफैं खरिद गरेर, दातृ निकायबाट अनुदान र कोभ्याक्स सुविधामार्फत कोरोना भाइरसविरुद्ध खोप ल्याएको छ । उनका अनुसार ४९ लाख २१ हजार छ सय ३२ मात्रा खोप मौज्दात रहेका छन् । सबैभन्दा बढी भेरोसेल ४३ लाख ६६ हजार एक सय ६६ मात्रा मौज्दात रहेको छ । यस्तै फाइजर ६० हजार सात सय ५६ मात्रा, फाइजर (बालबालिका)लाई लगाउने चार लाख ९४ हजार सात सय १० मात्रा मौज्दात रहेको छ । सबभन्दा बढी केन्द्रीय भण्डारण केन्द्र टेकुमा ४० लाख मात्रा भेरोसेल मौज्दात रहेको छ ।
नेपालमा कूल लक्षित जनसंख्यामध्ये ९९.५ प्रतिशतमा पहिलो मात्रा र ९५.७ प्रतिशतमा पूर्ण मात्रा खोप लगाइसकेको छ । यस्तै कूल जनसंख्याको ७९.५ प्रतिशत पहिलो मात्रा र ७६.५ प्रतिशत पूर्ण मात्राको खोप लगाइसकेका छन् ।
प्रकाशित समय : १७:१० बजे



















