गृहपृष्ठ स्थगन भएकामध्ये दुई स्थलमा मतदान जारी
स्थगन भएकामध्ये दुई स्थलमा मतदान जारी

यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा राजनीतिक विवादका कारण स्थगित भएकामध्ये दुई मतदानस्थलमा आज मतदान भइरहेको छ ।
स्थगित भएकामध्ये नवलपरासीपूर्व जिल्लाको देवचुली नगरपालिका-४ स्थित शान्ति सिर्जना आधारभूत विद्यालयमा आजै मतदान कार्य प्रारम्भ भएको छ भने सुर्खेत जिल्लाको सिम्ता गाउँपालिका-६ स्थित सिम्ता बहुमुखी क्याम्पस र गुल्मी जिल्लाको कालीगण्डकी गन्या भगवती मावि अर्वेनीमा यही मंसिर ६ गते मतदान हुने कार्यक्रम रहेको छ ।
निर्वाचन आयोगले प्रारम्भिक सूचनामा स्थगित भएका मतदानस्थलको संख्या १५ भनिएकामा आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) मा प्राप्त पछिल्लो अद्यावधिक जानकारीअनुसार चार वटा मतदानस्थलमा मात्र स्थगित देखिएको छ । स्थगित भएका १५ वटा मतदानस्थलमध्ये बाजुराका ११ वटा मतदान स्थलमा मंसिर ४ गते नै राजनीतिक सहमतिबाट पुनः मतदान प्रारम्भ भई मतदान सम्पन्न भएको छ ।
स्थगित भएकामध्ये बाजुरा जिल्लाको बूढीनन्दा नगरपालिका-५ स्थित नन्देश्वरी मावि, पीपलचौर मतदान केन्द्रमा मात्रै पुनःमतदानको मिति तय हुन बाँकी रहेको छ ।
प्रकाशित समय : ११:४७ बजे