गृहपृष्ठ …तर प्रचण्डको मन पग्लिएन

…तर प्रचण्डको मन पग्लिएन

…तर प्रचण्डको मन पग्लिएन

जनयुद्धका सुप्रिमो, पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार जुम्ला पुगे । सत्ता गठनबन्धनतर्फका उम्मेद्वारका लागि मत माग्न उनी जुम्ला पुगेको बुझ्न कठिन थिएन ।

स्वभाविक थियो, जुम्ला विमानस्थलमा हेलिकोप्टरबाट झर्नुअघि नै नेकपा माओवादी केन्द्रका सुप्रिमो प्रचण्डलाई स्वागत गर्नेको लामै लर्को देख्न सकिन्थ्यो । यही लर्कोेमा एक ब्यक्ति पनि थिए, जो त्यहाँ सयपत्रीको माला हातमा लिएर आफ्नो पार्टीका सुप्रिमोलाई स्वागत गर्ने तयारी ‘पोजिसन’मा थिए । ती ब्यक्ति अरु कोही नभएर माओवादी केन्द्रका नेता नरेश भण्डारी हुन् ।

प्रचण्डसहित सभालाई सम्बोधन गर्न जुम्ला पुगेका सबैजसोलाई नरेश औपचारिकता दर्शाइरहेका थिए । उनले बोलेको सहजै सुनिन्थ्यो, ‘जुम्लामा स्वागत छ ।’

स्वागतकै क्रममा प्रचण्ड जब नरेश नजिकै पुगे, टक्क रोकिए । प्रचण्डको नजर नरेशमाथि पर्‍यो । नरेशको नजर पनि आफ्ना पार्टी कमाण्डरमाथि पर्ने नै भयो । दुबैको आँखा चार भए । धेरै बेरसम्म एकआपसमा हेराहेर भयो । आँखा जुध्यो ।

यो हेराहेर र आँखा जुधाई सामान्य थिएन । यसले केही कथा भन्न खोजेको प्रतीत हुन्थ्यो । यो भेटले केही ब्यथा बयान गरिरहेको जस्तो लाग्थ्यो ।

यस्तो किन भयो ?

यो भेटघाटभित्र केही अन्तर्य लुकेको छ । जस्तो कि सबैजसो राजनीतिक दलहरुभित्र हुन्छ, उहीँ चुनावमा टिकट वितरण र गुटको राजनीति । कथा–ब्यथाको परकम्प यहीँबाट उठेको थियो ।

२०७४ को प्रदेशसभाको निर्वाचनले नरेशका लागि खुसी ल्याएको थियो । जुम्लाबाट विजयी भएका उनी कर्णाली प्रदेश सरकारको मुख्यमन्त्रीको दाबेदार थिए । चुनाव जिते पनि पार्टीभित्रको गुटगत राजनीतिमा नरेश एक्लो बृहस्पती जस्तो बने । जबकि माओवादी केन्द्रबाट निर्वाचित कालिकोटका महेन्द्रबहादुर शाही पार्टीभित्रको आन्तरिक गुट निर्माणमा बलियो देखिए ।

परिणाम के भइदियो भने यहीँ पार्टीभित्रको आन्तरिक द्वन्द्धको हुण्डरीमा परेर मुख्यमन्त्री पदको बलियो दाबेदार मानिएका ‘कर्नर’मा पारिए । उनी मुख्यमन्त्रीको दौडमा पछि परे । आन्तरिक मामिला तथा कानुन मन्त्रीमा चित्त बुझाउन बाध्य भए, उनी । अझ यसमाथि भइदियो के भने मन्त्री पदको आफ्नो कार्यकाल पनि पुरा गर्न दिइएन उनलाई ।

यी सबै प्रकरणमा स्वंयम पार्टी सुप्रिमोले पनि उनीमाथि वक्र दृष्टि राखे ।

राजनीतिको अर्को नाम धैर्यता हो भन्ने बुझेका नरेशका लागि ०७९ को चुनाव कुरेर बस्नुको विकल्प थिएन । तर, पार्टी अध्यक्ष प्रचण्डले नरेशलाई प्रदेश न त संघ कतैको पनि टिकट दिएनन् ।

माओवादी केन्द्रभित्र विकासको मोडल र माओवादबारे बुझाउने नेताका रुपमा कर्णाली भेगमा परिचित छन्, नरेश । तर पार्टी हाइकमाण्डले उनीमाथि ‘राजनीतिक हाराकिरी’ गरिदियो । परिणाम, अवसरबाट बन्चित गरेपछि जनताका समस्या र समाधानका योजनाहरु संसद्मा आफ्नै आवाजमा पु¥याउने उनको अभिलाषा अधुरै रहयो ।

अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले भीम रावल र घनश्याम भुषाललाई अपनाएको शैली नअपनाएको भए कुनै दुईमत थिएन, जुम्लाबाट टिकट पाउनेमा उनी पहिलो नम्बरमा थिए । उनको प्रभाव पनि उत्तिकै थियो । उनीभन्दा सिनियर नेता निवर्तमान प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतले चुनाव नलड्ने घोषणा गरेपछि उनी बलियो विकल्प थिए । तर, ०६९ मा माओवादीबाट विद्रोह गरेकै कारण, माओवादी सही दिशामा आउनुपर्छ भनेकै कारण नरेशलाई प्रचण्डले जानीजानी दोस्रोपटक पछाडि धकेलेको आम बुझाइ छ ।

पहिलोपटक, नरेश मुख्यमन्त्रीको बलियो दाबेदार मात्रै थिएनन् तत्कालिन नेकपाका धेरै सांसद्को साथ पनि थियो । तर, उनलाई पाखा लगाएर प्रचण्डले मुख्यमन्त्री पद कालिकोटका महेन्द्र शाहीको पोल्टामा पारिदिए । जसबाट माओवादी केन्द्रकै सांसदले आन्तरिक रुपमा असन्तुष्टी जनाएका थिए । तर प्रचण्डको मन नपग्लिएपछि नतिजा नरेशको पक्षमा भइदिएन । दोस्रोपटकको मौकामा पनि पार्टी अध्यक्ष प्रचण्डले उनीमाथि पूर्वाग्रहको हथौडा ठोक्न असहज महसुस गरेनन् ।

जुम्लाको सभामा सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड । तस्बिर : विजयी रावत

 

तर, निष्ठा र सिद्धान्तको राजनीति गर्ने भनेर स्थानीय भेगमा चिनिएका नरेशले जुम्ला विमानस्थल प्राङ्गणमा खुला हृदयकासाथ प्रचण्डलाई पर्खिरहेका थिए, आफ्नै ठाउँमा फुलेको सयपत्री अर्थात ‘हजारी’को माला लिएर ।

हेलिकोप्टरबाट ओर्लनासाथ सुप्रिमो प्रचण्ड र नरेशका आँखाले धेरै कुरा बताइरहेको अनुमान गर्न सकिन्थ्यो । केही समयपछि मञ्चमा अध्यक्ष प्रचण्ड पुगे । उनको बोल्ने पालो आयो र आफ्नो चीरपरिचित अन्दाजमा भाषण ठोके, ‘माओवादी केन्द्रले सरकार बनाउँछ र त्यो सरकारमा जुम्लाले फुलमन्त्री पाउँछ ।’

तस्बिर क्रमशः अध्यक्ष प्रचण्ड, माओवादी केन्द्र कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्ल, माओवादी नेता नरेश भण्डारी र कांग्रेस नेतृ कान्तिका सेजुवाल । तस्बिर :  विजयी रावत

 

आफ्नो मन्तब्यको दौरान प्रचण्डले नरेशको काँधमा चुनाव जिताउने जिम्मेवारी रहेको आसय त प्रकट गरे तर नरेशको राजनीतिक जीवनमाथि भने प्रकाश पार्न चाहेनन् ।

र, नरेशसँग स्वागतका बेलामा जस्तै आँखा जुधाएर प्रचण्ड जुम्लाबाट बिदा भए । अर्को गन्तब्यतिर लम्किए । आफ्ना पार्टी सुप्रिमो आकाशमा उड्दै गर्दा नरेशको नजर एकटकले त्यहीँ उडिरहेको हेलिकप्टरमाथि केन्द्रित देखिन्थ्यो ।

प्रकाशित समय : १६:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु