nmb bank

गृहपृष्ठ आर्थिक प्रभावमा टिकट वितरण गरेको एमाले र कांग्रेसका नेतामाथि आरोप

आर्थिक प्रभावमा टिकट वितरण गरेको एमाले र कांग्रेसका नेतामाथि आरोप

आर्थिक प्रभावमा टिकट वितरण गरेको एमाले र कांग्रेसका नेतामाथि आरोप

एमाले बाराका दुईजना उम्मेदवारमाथि पैसाको बलमा टिकट हात पारेको कार्यकर्ताहरूले आरोप लगाएका छन् । जिल्लाको क्षेत्र नम्बर १ ‘क’ बाट मधेस प्रदेश सभा सदस्यमा एमाले उम्मेदवार त्रिलोकी चौधरी र क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार इकवाल मियाँमाथि पार्टीका नेताहरूलाई आर्थिक प्रभावमा पारेर टिकट हात पारेको आरोप लागेको हो ।

मधेस प्रदेश कमिटीका एवं पूर्व प्रदेश सभा सदस्य चौधरी र लोपाका नेता मियाँले अप्रत्याशित रूपमा टिकट हात पारेपछि कार्यकर्ताहरूले यस्तो आरोप लगाउन थालेका हुन् । टिकट वितरणमा आर्थिक चलखेल भएको भन्दै त्रिलोकी चौधरीविरुद्ध एमाले कार्यकर्ताहरूले बागी उम्मेदवारीसमेत दर्ता गरेका छन् । प्रतिनिधिसभा सदस्य मियाँविरुद्ध पार्टी कार्यकर्ताको उम्मेदवारी नपरे पनि आन्तरिक रूपमा एमाले कार्यकर्ताहरू असन्तुष्ट देखिएका छन् ।

पार्टीका नेताहरूले आर्थिक चलखेलमा परेर चौधरीलाई टिकट दिएको भन्दै एमाले मधेस प्रदेश सदस्य एकबहादुर श्रेष्ठ र जिल्ला कमिटी सदस्य शिवनारायण चौधरीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । साविक निजगढका गाविसका पूर्वअध्यक्ष श्रेष्ठ र साविकको धोदर्पा गाविसका उपाध्यक्ष चौधरीको उम्मेदवारीले पार्टीको आधिकारिक उम्मेदवार चौधरीको अवस्था कमजोर देखिएको छ ।

एमालेभित्रको विवादले कांग्रेस उम्मेदवार रमेश दंगाललाई प्रत्यक्ष फाइदा पुग्ने भएको छ । चौधरीको टिकटलाई लिएर एमाले कार्यकर्ता पंक्तिभित्रको असन्तुष्टि मनोनयन पत्र दर्ता गर्ने दिनमा देखिएको थियो । आक्रोशित कार्यकर्ताहरूको एउटा समूहले चौधरीले भरेर दाखिला गर्न लागेको मनोनयन पत्र खोसेर च्यातेका थिए । विवादकै कारण चौधरीले अन्तिम अवस्थामा मात्रै मनोनयन पत्र दाखिला गरेका थिए । यसअघि सभासद् हुँदा पार्टी कार्यकर्ताहरूसँग सल्लाह नै नगरी कमिशन लिएर सांसद विकास कोष र प्रदेश सरकारको बजेट वितरण गर्ने गरेको चाैधरीमाथि आरोप छ ।

निर्वाचन अधिकृतको कार्यालय कोल्हबीमा मनोनयन पत्र दाखिला गर्ने क्रममा कार्यकर्ताहरूको घेराउमा परेका चौधरी स्वयंले पनि पार्टीको टिकट ल्याउने क्रममा आफ्नो तर्फबाट २५ लाख रुपैयाँ खर्च भएको स्वीकार गरेका थिए । केही कार्यकर्ता र नेताहरूले चौधरीको खर्च भएको भनिएको रकम फिर्ता गरेर शिवनारायण चौधरीलाई टिकट दिने प्रस्ताव गरेपछि चौधरीले सो कुरा स्वीकार गरेको एमाले कार्यकर्ताहरूले बताएका छन् ।

चौधरीलाई टिकट दिने क्रममा जिल्ला कमिटी र प्रदेश कमिटीका केही पदाधिकारीले आर्थिक लेनदेन गरेको एमाले कार्यकर्ताहरूको आरोप छ । तर रकम फिर्ता गर्ने सर्तमा पनि पार्टीको टिकट फिर्ता गर्न नमानेपछि अन्तिम अवस्थामा चौधरीले नै मनोनयन दर्ता गरेका थिए ।

प्रतिनिधिसभा सदस्यका उम्मेदवार मियाँमाथि पनि त्यस्तै आरोप छ । यसअघि सो क्षेत्रबाट सर्वसम्मत सिफारिस भएका र लोकप्रिय मानिएका देवनारायण चौधरीको साटो मियाँले टिकट पाएपछि कार्यकर्ता र सर्वसाधारणले यस्तो आरोप लगाउन थालेका हुन् ।

सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार किसान श्रेष्ठको जित सहज हुने गरी आर्थिक प्रभावमा परेर क्षेत्रमा अलोकप्रिय रहेका मियाँलाई टिकट दिइएको आरोप छ । यसअघि राजपाबाट सांसदमा विजयी मियाँलाई मनोनयन पत्र दाखिला हुने अघिल्लो दिनको बिहान मात्रै अध्यक्ष केपी ओलीले पार्टीको सदस्यता र उम्मेदवारको टिकट एकैसाथ दिएका थिए ।

देवनारायण चौधरीलाई भने पार्टीले क्षेत्र नम्बर ४ ‘क’ बाट प्रदेश सभा उम्मेदवार बनाएको छ । एकल सिफरिसमा परेको चौधरीले स्वीकार गरेपछि मियाँविरुद्धको असन्तुष्टि बाहिर नपोखिएको हो । तर उक्त क्षेत्रमा पनि ठूलो संख्यामा पार्टी कार्यकर्ताहरू असन्तुष्ट बनेका छन् । मियाँको टिकटको लागि भएको भनिएको खर्च पनि समाजवादीका उम्मेदवार श्रेष्ठले नै बेहोरेको चर्चा छ । पूर्वएमालेका नेता श्रेष्ठ ठूला व्यवसायीको रुपमा रहेका छन् ।

टिकट वितरणमा आर्थिक चलखेल भएको भनेर सार्वजनिक भएका कुराहरुले आगामी निर्वाचनमा एमालेलाई प्रत्यक्ष असर पर्ने देखिएको छ । एमालेको राम्रो जनाधार भएको र जित्ने अवस्थमा रहेको क्षेत्र नम्बर १ ‘क’ को टिकट वितरणमा आर्थिक चलखेलको प्रसंगले एमाले उम्मेदवार चौधरीको अवस्था कमजोर बनेको छ ।

सो क्षेत्रमा कांग्रेसका रमेश दंगाललाई चिठ्ठा पर्ने अवस्था उत्पन्न भएको छ । तर उनीमाथि पनि कांग्रेस सहमहामन्त्री उमाकान्त चौधरीलाई एक करोड रुपैयाँ बुझाएर टिकट हात पारेको आरोप छ । चुनावको टिकट वितरणमा भएको आर्थिक लेनदेनले कार्यकर्ताहरुमा असन्तुष्टि बढाएको र यसको सत्यतथ्य छानबिन गर्नुपर्ने इमान्दार कार्यकर्ताहरूले माग गरेका छन् ।

प्रकाशित समय : १७:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु