गृहपृष्ठ आजदेखि मौसममा सुधार हुँदै
आजदेखि मौसममा सुधार हुँदै
नेपालको आसपासमा विकास भएको न्यूनचापीय प्रणाली कमजोर भएसँगै आजबाट मौसममा क्रमिक रूपले सुधार हुने भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार मनसुन सक्रिय रहे पनि न्यूनचापीय प्रणाली कमजोर रहेकाले मनसुन क्रमिकरूपमा सुधार हुँदै गएको छ ।
महाशाखाका मौसमविद् हीरा भट्टराईले अबको दुई दिनपछि नेपालको मौसममा पूर्णतया सुधार हुने बताए । मौसमविद् भट्टराईले भने, ‘मनसुन जारी रहे पनि वर्षा गराउने प्रणाली कमजोर भएको छ । आज कर्णाली र सुदूरपश्चिमका केही स्थान र पूर्वका धेरै स्थानमा वर्षा हुने देखिन्छ । भोलिदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशमा सुधार हुन्छ, बिहीबारदेखि देशैभर मौसम सफा रहन्छ ।’
जारी मनसुनका साथै आसपास विकास भएको न्यूनचापीय प्रणालीको प्रभावले विगत आठ दिनदेखि निरन्तरको वर्षा पछिल्लो तीन दिनयता खण्डितरूपमा मात्रै भइरहेको छ । मनसुन बाहिरिन भने अझै एक साता लाग्ने महाशाखाले जनाएको छ ।
हाल नेपालमा हरियाणा आसपास रहेकोे न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ ।
प्रकाशित समय : १०:३६ बजे




















