गृहपृष्ठ काठमाडौंका १० निर्वाचन क्षेत्रमा महाभिडन्तकाे तयारी, यस्तो छ चुनावी प्रक्षेपण

काठमाडौंका १० निर्वाचन क्षेत्रमा महाभिडन्तकाे तयारी, यस्तो छ चुनावी प्रक्षेपण

काठमाडौंका १० निर्वाचन क्षेत्रमा महाभिडन्तकाे तयारी, यस्तो छ चुनावी प्रक्षेपण

काठमाडौंका दश निर्वाचन क्षेत्रमा गठबन्धनबाट १० उम्मेदवार दिन हानथाप चलिरहेको छ । गठबन्धनविरुद्ध चुनावी मैदान छिरेको नेकपा एमाले पनि उम्मेदवार चयनको अन्तिम तयारीमा छ ।

यहाँ गठबन्धनबाट काँग्रेसले ६ सिट, माओवादीले २ सिट, एकीकृत समाजवादी र जसपाले १÷१ सिट पाउने गरी सहमतिको खाका तयार भएको छ । यता एमाले र राप्रपाबीच तालमेलको तयारी चलिरहेकाले दश निर्वाचन क्षेत्रमध्ये राप्रपाले २ सिट आफ्नो भागमा पार्दैछ । तर काठमाडौंका दश निर्वाचन क्षेत्रमा दलहरुको चासो र उम्मेदवारका अनुहार हेर्दा चुनाव महाभिडन्तमै जाने पक्का देखिन्छ ।

एक नम्बर निर्वाचन क्षेत्र

यो नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहको पकड क्षेत्र हो । तर गत निर्वाचनमा तत्कालिन विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले झण्डै सिंहलाई गुल्ट्याएका थिए । एमालेको अघोषित समर्थन पाएका मिश्रसँग सिंहले मात्र ८ सय १९ मतले जितेका थिए ।

अहिले यो क्षेत्र गठबन्धनबाट काँग्रेसले पाउने भएपछि सिंह पुनः उम्मेदवार बन्ने निश्चित भएको छ । उनीहरुलाई राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम र पूर्वडीआइजी रमेश खरेलले चुनौती दिइरहेका छन् । कतिसम्म भने, काठमाडौंका मेयर बालेन शाहकै हवला दिएर चुनाव जित्नेसम्मको तयारी उनीहरुको छ ।

तथापी यही असोज १२ मा राप्रपा प्रवेश गरेका मिश्रले शुक्रबारमात्रै काठमाडौं एकबाट चुनाव लड्ने गरि उम्मेदवारी घोषणा गरेका छन् । यसपटक पनि एमालेको समर्थन पाउने सम्भावना छ ।

दुई नम्बर क्षेत्र

यहाँ गठबन्धनबाट माओवादी केन्द्रले भाग पाउने निश्चित जस्तै छ । ६४ को निर्वाचनमा माधवकुमार नेपाललाई हराएर झक्कु सुवेदीले निर्वाचन जितेको इतिहास दोहोर्‍यान माओवादी लालायित देखिएको छ । यहाँ माओवादीले पूर्वसभामुख ओनसरी घर्ति, पूर्वमुख्यसचिव लिलामणि पौडेल र नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङमध्ये एकलाई उठाउने तयारी गरेको छ । तर घिसिङले यहाँ भन्दा तीन नम्बर क्षेत्रलाई रोजाइमा परेका छन् ।

उनीहरुका विरुद्ध राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरण भण्डारीलाई उठाउने एमालेको तयारी छ । बर्षौदेखि एमालेबाट जितेर रजगज चलाएका माधवकुमार नेपालले भने पार्टी विभाजनपछि यो निर्वाचन क्षेत्रमा लड्ने आँट गुमाएका छन् ।

तीन नम्बर क्षेत्र

यो निर्वाचन क्षेत्र गठबन्धनबाट काँग्रेसले पाउने निश्चित भएसँगै यहाँ चार जना बढीको आकांक्षा छ । पहिले चुनाव लड्दै आएकी अम्बिका बस्नेत समानुपातिकमा गएपछि अहिले पूर्वमेयर सन्तोष चालिसे र हरिबोल भण्डारी जस्ता नेताहरुको हानाथाप छ । तर उनीहरुविरुद्ध एमालेबाट निवर्तमान सांसद कृष्णकुमार राई नै भिड्न खोजेका छन् । पार्टीको पूर्व जिल्ला अध्यक्षसमेत रहेकाले उनको सम्भावना यहाँ बलियो छ । एमाले र राप्रपाबीच तालमेल भए यो क्षेत्र राप्रपाले पाउने छ ।

तथापी गठबन्धनको कमजोर उम्मेदवार र आफ्नो पकडसमेत खोजिरहेका स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछाने यहाँबाट चुनाव लड्न खोजिरहेका छन् । यहाँ नभए दुई नम्बर क्षेत्र वा चितवनतिर लाग्ने रविको रणनीति छ ।

चार नम्बर निर्वाचन क्षेत्र

काठमाडौं– ४ यस्तो निर्वाचन क्षेत्र हो, जहाँ तेस्रोपटक एमालेका राजन भट्टराई र काँग्रेसका गगन थापा भिड्दैछन् । यहाँ यसअघि दुवैपटक थापाले जितेका छन् भने भट्टराई यसलाई अन्तिम अवसरका लागि उपयोग गर्न खोजिरहेका छन् । यद्यपी प्रमुख दलहरुलाई चुनौती दिन यहाँ स्वतन्त्र उम्मेदवार अर्जुन प्रसाईले पनि दाबी गरेका छन् । तर काँग्रेसका थापाकै सम्भावना बलियो देखिएको छ ।

पाँच नम्बर निर्वाचन क्षेत्र

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल चुनाव लड्नेमात्रै पक्का छैन, यहाँ गठबन्धनविरुद्ध जित्ने सम्भावना पनि छ । त्यसैकारण यहाँ गठबन्धनका दलहरुले हत्तपत्त आटेका छैनन् । हानथापपछि काँग्रेसले उम्मेदवार दिने पक्का बनेको छ । विगतमा पोखरेलविरुद्ध हार ब्यहोरेका काँग्रेस प्रवक्ता प्रकाशशरण महत समानुपातिक बाटोबाट सुरक्षित बनेपछि यहाँ अर्थविद् स्वर्णिम वाग्ले र नैनसिंह महरको सम्भावना छ । पूर्व विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले समेत यहीबाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी छन् ।

६ नम्बर निर्वाचन क्षेत्र

गत निर्वाचनमा वाम गठबन्धनलाई पराजित गर्दै चुनाव जितेका पूर्वरक्षामन्त्री भिमसेनदास प्रधान यसपाली यहाँ ह्याट्रिक गर्ने मुडमा छन् । यो क्षेत्र पनि काँग्रेसकै पोल्टामा परेपछि काठमाडौंका पार्टी सभापति सबुजकृष्ण बानियाँले समेत आफुले अवसर पाउनुपर्ने दाबी गरेका छन् । तर सिटौला समूहको एकमात्र प्रतिनिधि भएकाले दासको सम्भावना बलियो छ ।

विगतमा एमालेका योगेश भट्टराईदेखि माओवादीका झक्कु सुवेदीसम्मले चुनाव हारेको यो क्षेत्रमा यसपाली एमालेले प्रदेश सांसद योगेन्द्र संग्रौलासहित आधा दर्जन नेताको नाम सिफारिस गरेको छ । भर्खरै पार्टी प्रवेश गरेका पूर्वआइजीपी सर्वेन्द्र खनालको रोजाई पनि यही क्षेत्र बनेको छ । स्वतन्त्र पार्टीको तर्फबाट शिशिर खनाल पनि मैदान छिरेका छन् ।

७ नम्बर क्षेत्र

यो निर्वाचन क्षेत्रलाई गठबन्धनले जसपालाई भाग लगाएको छ । सामान्य प्रशासनमन्त्री समेत रहेका जसपा नेता राजेन्द्र श्रेष्ठ नै यहाँ गठबन्धनको उम्मेदवार बन्नेछन् । यही क्षेत्रमा निर्वाचन जितेका रामवीर मानन्धर भने एमालेको सिफारिसमै नपरेपछि काठमाडौंका पूर्वमयेर विद्यासुन्दर शाक्यले टिकट पाउने सम्भावना छ ।

८ नम्बर क्षेत्र

गठबन्धनबाट एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ मैदानमा होमिँदैछन् । पर्यटनमन्त्री समेत रहेका श्रेष्ठले गत निर्वाचनमा एमालेबाट चुनाव जितेका थिए । पार्टी विभाजपछि उनी गठबन्धनको उम्मेदवार बनेपनि यहाँ एमालेको कुनै अनुहार बाहिरिएको छैन । उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले चुनाव नलड्ने बताएपछि युवा नेतृत्व वा अध्यक्ष ओलीका साला पर्ने राजेश शाक्यलाई उठाउने एमालेको तयारी छ । तर सबैलाई भारी, स्वतन्त्र उम्मेदवारी भन्दै सुमन सायमी मैदान छिरेका छन् । अन्य केही स्वतन्त्रको दाबेदारी रहेपनि पत्याउन सक्ने अनुहार देखिएको छैन ।

नौं नम्बर क्षेत्र

यो क्षेत्र गठबन्धनले माओवादी केन्द्रलाई दिएको छ । यद्यपी एमालेका तर्फबाट पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठ यहाँको बलियो दाबेदार हुन् । माओवादीका हितमान शाक्य र श्रेष्ठबीच कडा टक्कर पर्नेछ । कोर नेवारी क्षेत्र रहेको यहाँ केही स्वतन्त्र उम्मेदवार पनि आकांक्षी देखिन्छन् ।

१० नम्बर क्षेत्र

काठमाडौंका १० क्षेत्रमध्येको १० औं नम्बर निर्वाचन क्षेत्रमा भने गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका राजन केसी एकल सिफारिसमा परेको छन् । र यो क्षेत्र काँग्रेसले पाउने सम्भावना रहेपछि उनी ढुक्क देखिन्छन् । उनीसँग एमालेले कसलाई उठाउने एकीन गरेको छैन ।

काठमाडौंको जित हारले नेताको भविष्यमात्रै सुनिश्चित गर्नेछैन, हार्नेको राजनीति सधैंका लागि चट गर्नेछ ।

प्रकाशित समय : १३:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु