आर्थिक तरलताको संकटलाई बैंकहरुले अवसरका रुपमा हेरे : गोल्छा
वि.सं.२०७९ असोज ७ शुक्रवार ०७:४५
shares

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले बैंकहरुले अहिलेको तरलता संकटलाई अवसरको रुपमा हेरेको आरोप लगाएको छ । नाडा अटो शोको उद्घाटन समारोहमा बोल्दै महासंघका अध्यक्ष शेखर गोल्छाले तरलता संकटलाई बैंकहरुले नयाँ अवसर र सम्भावनाको रुपमा लिएको आरोप लगाए ।
‘तरलता अभावलाई बैंकहरुले नयाँ सम्भावनाको रुपमा हेरको छन् । अर्थ मन्त्रालय यसमा सचेत हुनपर्छ । कर्जाको ब्याजदर र स्प्रेड दर बढेको बढ्यै छ,’ उनले भने, ‘बेस रेटमा यति प्रतिशत प्रिमियम लिन्छौं भनेर गरेको सम्झौता १ वर्षसम्म परिवर्तन गर्न नपाइने भएपनि एक वर्ष नहुँदै परिवर्तन गरेका छन् ।’
बैंकहरुले धम्कीको शैलीमा ब्याजदर बढ्छ, भद्र सहमति टुट्यो भनिरहेको उनले बताए । अहिलेको संकट समग्र अर्थतन्त्रको भएका भन्दै यसमा कसैले अवसर देख्छ भने त्यसमा राष्ट्र बैंक र अर्थ मन्त्रालयल हेर्नुपर्ने उनले बताए ।
उनले आयातमा एलसी खोल्दा शतप्रतिशत नगद मार्जिनले कसरी आयात घट्छ ? भन्दै प्रश्न गरे । उक्त व्यवस्थाले बैंकको नाफा मात्रै बढेको उनको आरोप छ । यसले ठूला र सक्षम व्यसायीले मात्रै आयात गर्न सक्ने र साना व्यवसायीलाई समस्या पर्ने उनले बताए ।
बाह्य क्षेत्र र शोधनान्तर घाटामा सुधार हुन लागेको भन्दै अब रोकिएको आयात खुलाएर सरकारले सकारात्मक सन्देश दिनुपर्ने उनको भनाइ छ ।

























