गृहपृष्ठ यती एयरलाइन्सले गर्यो यात्रुसेवा वृद्धि
यती एयरलाइन्सले गर्यो यात्रुसेवा वृद्धि
निजी क्षेत्रको हवाई कम्पनी यती एयरलाइन्सले एक वर्षको अवधिमा १० लाखभन्दा बढी यात्रुलाई सेवा प्रदान गरेको छ ।
काठमाडौँबाट भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगञ्जलगायतका विमानस्थल र पर्वतीय उडान भर्दै आएको यती एयरलाइन्सले एक वर्षको अवधिमा १० लाख पाँच हजार छ सय ७७ यात्रुलाई यात्रुसेवा प्रदान गरेको हो ।
एयरलाइन्सले आज आफ्नो २४औँ वार्षिकोत्सवका अवसरमा जारी गरेको विज्ञप्तिमा एक वर्षमा १५ हजार नौ सय २५ वटा उडानमार्फत यात्रुलाई सेवा प्रदान गरेको जनाइएको छ । यतीले हवाइ सेवा प्रदान गरेका यात्रुमध्ये २७ हजार छ सय ६३ जना विदेशी रहेका छन् ।
एयरलाइन्सका प्रवक्ता एवं हवाई सुरक्षा प्रमुख सुदर्शन वर्तौलाले यतीले एक वर्षको अवधिमा एक लाख ५४ हजार दुई सय ८७ किलो कार्गो ढुवानी गरेको जानकारी दिए । ‘दुई वर्षअघि हामीसँग जहाज धेरै भए पनि सिट संख्या कम थियो, अहिले ठूला जहाज मात्र हुँदा सिट संख्या वृद्धि भएको अवस्था छ, अर्को वर्ष थप एउटा एटिआर-७२ ल्याएर यात्रु संख्या १५ लाख पुर्याउने लक्ष्य लिएका छौँ’, उनले भने ।
यतीले पाँच वटा एटीआर-७२ जहाजमार्फत देशका विभिन्न भू-भागमा उडान भर्दै आएकामा गत महिना थप एउटा एटीआर जहाज थप गरेको छ । एयरलाइन्समा हाल सात सय ३० कर्मचारी आबद्ध छन् । यती एयरलाइन्सले भगिनी संस्था तारा एयरमार्फत पनि सेवा प्रदान गर्दै आएको छ । ताराको तीन वटा ट्वीनअटर जहाजमार्फत नेपालगञ्जबाट हुम्ला, जुम्ला, रारा, बाजुरा, पोखराबाट मुस्ताङ र काठमाडौँ र रामेछापबाट लुक्ला, फाप्लुलगायतका स्थानमा सेवा दिँदै आएको छ ।
प्रकाशित समय : १५:०२ बजे


















