गृहपृष्ठ नेपाल टेलिकमले भोलिदेखि ग्राहकलाई नि:शुल्क ई-सिम वितरण गर्दै
नेपाल टेलिकमले भोलिदेखि ग्राहकलाई नि:शुल्क ई-सिम वितरण गर्दै
नेपाल टेलिकमले आफ्ना ग्राहकहरूलाई ई-सिम वितरण गर्ने भएको छ । नेपाल टेलिकमले भोलिदेखि दूरसञ्चार कार्यालय सुन्धारा काउन्टरबाट आफ्ना ग्राहकहरूलाई नि:शुल्क ई-सिम वितरण गर्न लागेको हो ।
ई-सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकहरूले उक्त नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्ने टेलिकमले जनाएको छ । ‘हाल फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरूका पोस्टपेड र प्रिपेड सिमलाई नि:शुल्क ई-सिममा परिवर्तन गर्न सकिने छ । त्यसैगरी नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमा ई-सिम उपलब्ध गराइने छ भने नयाँ प्रिपेड सिमकार्ड लिन चाहने ग्राहकलाई भने निकट भविष्यमा सो सिम उपलब्ध गराइने छ,’ नेपाल टेलिकमको विज्ञप्तिमा भनिएको छ ।
ई-सिम सपोर्ट गर्ने मोबाइल सेट भएका नेपाल टेलिकमका पहिलेदेखिका ग्राहकले सो सिम लिनका लागि आवश्यक फारम भरेर बुझाउनु पर्नेछ । ई-सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो । ई-सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रूपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसबाट फोन गर्ने र डाटा चलाउनेलगायतका विभिन्न कार्य गर्न सकिन्छ ।
ई-सिम प्रयोगमा आएपछि सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन । मोबाइल सेटबाहेक ई-सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिन योग्य विभिन्न प्रकारका डिभाइसमा समेत प्रयोग गर्न सकिन्छ ।
प्रकाशित समय : २०:०२ बजे
















