गृहपृष्ठ टिकट बाँडफाँडमा सत्ता गठबन्धनको सकस
टिकट बाँडफाँडमा सत्ता गठबन्धनको सकस
जाजरकोटवासीले सशस्त्र युद्धमा माओवादी नेताको संरक्षण मात्रै गरेनन् शान्ति प्रक्रियापछि सत्ता र शक्तिमा पुर्याउने काम पनि गरे । शान्ति प्रक्रियामा आइसकेपछि जाजरकोटको निर्वाचन क्षेत्र माओवादीको विकल्प नै बनेन । २०६४ सालको निर्वाचनदेखि जाजरकोटवासीेले माओवादी केन्द्रका नेताहरुलाई पद र प्रतिष्ठाको स्वाद चखाउँदै आए ।
जसको अनुभव हाल कर्णाली प्रदेशका इन्चार्ज कालिबहादुर मल्लसँग पनि छ । माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतसँग पनि छ । २०७० सालको निर्वाचनमा जाजरकोटबाट निर्वाचित शक्ति बस्नेत ०७४ सालको निर्वाचनमा वाम गठबन्धनबाट उम्मेदवार भएर निर्वाचित भए ।
प्रचण्डसँगको सिधा सम्पर्कले प्रनिनिधिसभाका लागि जाजरकोटबाट शक्तिको विकल्प माओवादी केन्द्रले बिरलै रोज्छ र छन् । प्रचण्डको प्रमुख स्वकीय सचिव हुँदै स्वास्थ्यमन्त्रीदेखि गृहमन्त्रीसम्म भइसकेका शक्ति बस्नेतसँग यसअघिको चुनावमा कांग्रेस नेता राजीव विक्रम शाहले चुनाव लडेका थिए ।
दोस्रो संविधान सभाको निर्वाचनमा जाजरकोटका दुई क्षेत्रबाट राजीव र शक्ति निर्वाचित भएका थिए । पछि आएर प्रतिनिधिसभाका लागि एउटै निर्वाचन क्षेत्र भयो ।
यसपछि कांग्रेसबाट राजीव र माओवादीबाट शक्ति प्रतिस्पर्धा हुने गरेको छ ।

राजीव राजनीतिज्ञभन्दा समाजसेवीका रुपमा बढी चिनिने गरेका छन् । शक्ति माओवादीभित्र गनिने नेतामा पर्छन् । यी दुवै नेताको जाजरकोटमा प्रभाव उत्तिकै छ ।
जाजरकोटमा महामारी र विपद् आउँदा राजीवको नाम नलिने सायदै छन् । त्यो २०७७ को कोरोनाकालमा होस् या २०६६ को झाडापखाला । राजीवले आफैँ हेलिकोप्टर लिएर जाजरकोटका गाउँ–गाउँ पुगेका थिए । त्यसकारण पनि जाजरकोटबासी राजीवलाई सदनमा देख्न चाहन्छन् । तर, चुनाव हो भन्न सकिँदैन ।
कांग्रेसको प्रभाव कति ?
कुनै पनि संगठन बलियो हुन नेतृत्व बलियो हुनुपर्छ । नेताको प्रभाव समुदायमा हुनुपर्छ । अनि, संगठन पनि त्यहीँ गतिमा हिँड्छ । तर, जाजरकोट कांग्रेसमा त्यो थिएन । जाजरकोट कांग्रेसका तत्कालिन सभापति दीपकजंग शाह नै चुनावमा लोकप्रिय मत ल्याउँदैन थिए । दीपकजंगको सदरमुकाम खलंगाका केही घरहरु बाहेक खासै गाउँ–बस्तीमा उनको प्रभाव छैन र थिएन । सभापति जाजरकोटको भए पनि दीपकजंग काठमाडौँमै बस्ने गर्थे । यसकारण पनि उनको प्रभाव जाजरकोटमा घट्दो थियो ।
त्यतिबेला सभापतिको प्रभाव खस्किँदो भए पनि २०७४ सालको निर्वाचनमा कांग्रेसबाटै जाजरकोट क्षेत्र नम्बर १ बाट चुनाव लडेका वेदराज सिंहको प्रभाव भने भिन्न थियो र छ । बहसका हिसाबले अरु नेता उनको छेउछाउ पुग्दैनन् । बेदराजले ०७४ को निर्वाचनमा तत्कालीन वाम गठबन्धनलाई चुनौती दिँदै करिब १३ हजार मत प्राप्त गरेका थिए । माओवादीको प्रभाव क्षेत्रबाटै वेदराज चुनाव लडेका थिए ।
माओवादी उम्मेदवारलाई बिदा गर्ने दाउमा रहेका वेदराजले १२ हजार ८ सय ७८ मत प्राप्त गर्दा तत्कालीन विजयी हुने वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका गणेशप्रसाद सिंहले १६ हजार ९ सय ११ मत ल्याएका थिए ।
माओवादी र एमाले मिलेर बनेको ठुलो शक्तिलाई बेदराजले टक्कर दिएका थिए । बेदराजको क्षेत्रबाट प्रतिनिधिसभाका लागि राजीवलाई उत्तिकै मत आएको थियो । क्षेत्र नम्बर २ मा भने कांग्रेसबाट तत्कालीन जाजरकोट सभापति दीपकजंग शाहले टिकट लिए । उनको घट्दो प्रभावबीच पनि १० हजार मत प्राप्त गरे । विजयी भने वाम गठबन्धनका उम्मेदवार करवीर शाही भए । दीपकजंगको पालामा जाजरकोट कांग्रेसले त्यति प्रभाव जमाउन सकेन ।
तर, समय बद्लियो । परिस्थिति बद्लियो । यतिबेला, जाजरकोटमा कांग्रेसको प्रभाव भने बढ्दो छ । १४औँ महाधिवेशनपछि बेदराज सिंह जाजरकोट कांग्रेसको नेतृत्वमा आएपछि कांग्रेस बलियो बन्दै गएको छ ।
पछिल्लोपटक एमालेका नेतादेखि माओवादीका युवा संगठन चलाइरहेकाहरु नै कांग्रेसमा प्रवेश गरेका छन् । जनस्तरमा कांग्रेस उस्तै रुपमा उभिएको छ । अब, जाजरकोटमा माओवादीलाई चुनौती दिने कांग्रेस बनेको छ । चुनावी प्रतिस्पर्धामा पनि एक्लै लडे प्रतिनिधिसभा र प्रदेशसभामा जित्ने दाउमा छ । त्यो संकेत वैशाखको स्थानीय तहको निर्वाचनमा पनि देखियो ।

तीन स्थानीय तहमा प्रमुख जिताएर कांग्रेसले चार स्थानीय तहमा उपप्रमुख जिताएको छ । वडा तहमा पनि जनप्रतिनिधि त्यसरी नै जिताएको छ । त्यसकारण पनि जाजरकोटबाट प्रतिनिधिसभा एकमात्र क्षेत्रको टिकट कांग्रेसले पाउनुपर्छ भन्ने माग छ । यसका लागि कांग्रेसबाट राजीवविक्रम शाहको एकल उम्मेदवारी सिफारिस भएको छ ।
माओवादीको प्रभाव कति ?
२०६४ साल यताको चुनाव जाजरकोटमा माओवादीकै हो । जसलाई माओवादीले आफ्नो आधार इलाका भनेर भन्ने गर्छ । २०७४ सालको निर्वाचनमा वाम गठबन्धन भए पनि माओवादीले जाजरकोटमा आफ्नो वर्चश्व कायम गर्यो ।
प्रतिनिधिसभामा माओवादी केन्द्रका शक्ति बस्नेत विजयी भए । प्रदेश सभा (क) बाट पनि माओवादी केन्द्रका गणेशप्रसाद सिंह विजयी भए । यो साख भने स्थानीय तहको निर्वाचनमा जोगिएन । न ७४ सालको स्थानीय तहको साख जोगियो ।
माओवादी केन्द्रका प्रभावशाली नेता शक्तिकै गृह पालिकामा माओवादीले जित्न सकेन । त्यति मात्रै नभइ सात स्थानीय तहमा एक मात्रै सिट माओवादीले जित्यो । माओवादीले स्थानीय तहको निर्वाचनमा आफ्नो विरासत थाम्न सकिरहेको छैन ।
यसो हुनुको पछाडि माओवादी केन्द्रको जिल्ला नेतृत्वदेखि केन्द्रीय नेतृत्वसम्मको हात छ । यसको असर संघ/प्रदेशको निर्वाचनमा पनि निश्चित रुपमा पर्ने नै देखिन्छ ।
उम्मेदवार छान्न गठबन्धनको सकस
कांग्रेस जाजरकोटले नेता राजीव शाहको नाम एकल रुपमा प्रनिनिधिसभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरेको छ । यता माओवादी केन्द्रले पनि एकल रुपमै शक्ति बस्नेतलाई सिफारिस गरेको छ । सधैँ प्रतिस्पर्धामा रहेका राजीव र शक्तिमध्य टिकट पाउन कसले बाजी मार्ला ? यो कौतुहल स्थानीयमा मात्र होइन यो राजनीतिको चासोको केन्द्रमा पनि छ । जाजरकोटमा यसपाली के होला ? आम चासोको विषय बनेको छ ।
सिट बाँडफाँडको विषय टुंगिइसकेको छैन । गठबन्धन रहने कि नरहने ? भन्ने विषय पनि अहिले नै भनिहाल्ने स्थिति छैन । सिट बाँडफाँडको विषय सतहमा पुगे जाजरकोटबाट प्रतिनिधिसभाका लागि राजीव शाह पछि हट्न सक्छन् । पछि हटाइन सक्छ ।
कसरी ?
यसका केही आधारहरु छन् ।
गठबन्धन कायम रहेको स्थितीमा रोल्पा, रुकुम र जाजरकोटका प्रतिनिधिसभाको प्रत्यक्षतर्फ माओवादीकै भागमा हुने छ । किनकि यी क्षेत्रहरुमा माओवादीका शीर्ष नेताहरु छन् । जो अहिले पनि सिट बाँडफाँडको कार्यदलमै सामेल छन् । प्रत्यक्ष निर्वाचित छन् ।
यसमा जनार्दन शर्मादेखि शक्ति बस्नेतसम्म पर्छन् । त्यसैले यी क्षेत्रबाट प्रतिनिधिसभा प्रत्यक्षका लागि माओवादी केन्द्र नै अघि सर्ने छ ।
शक्ति, माओवादी केन्द्रको शीर्ष नेतासँग निकट छन् । उनी आफैँ माओवादी केन्द्रको उपमहासचिव छन् । जाजरकोटबाट जित्लान् वा हार्लान् यो कुरा फरक हो । तर, गठबन्धनबाट टिकट पाउने पहिलो प्राथमिकतामा शक्ति पर्न सक्छन् ।
उनले सोझो रुपमा आफ्नो आधार मानिएको क्षेत्र कांग्रेसका राजीवलाई छोड्ने कुरा विश्लेषण र आँकलनभन्दा बाहिरको हो ।
माओवादी केन्द्रभित्रको टिकट बाँडफाँडको बिन्दुमा शक्ति आफैँ छन् । राजीवको हकमा यो लागु हुँदैन ।
राजीव अहिले कांग्रेसको निर्वाचित केन्द्रीय सदस्य छन् । उनी पिछडिएको क्षेत्रबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवानिकट मानिए पनि देउवासँग टिकटका लागि मरिहत्ते गर्न सक्ने पहुँच उनीसँग छैन । तर, यही कुरा शक्तिले आफ्ना पार्टी अध्यक्ष प्रचण्डसमक्ष गर्न सक्छन् । शक्ति यो क्षेत्रका निर्वाचित सांसद हुन । त्यसले पनि उनलाई केही सहज हुनेछ । सांसद भएर मन्त्री हुने लाइनमा छन् । माओवादीभित्र जाजरकोटमा शक्तिको विकल्प हालका लागि कोही पनि छैनन् ।
राजीवको विकल्प ?
कांग्रेसबाट एकल रुपमा उम्मेदवार सिफारिस भएका राजीवले प्रतिनिधिसभा उम्मेदवारका लागि टिकट पाएनन् भने प्रदेश गएर मुख्यमन्त्री बन्न प्रस्ताव आएको स्थितिमा उनी प्रदेशमा आउने सम्भावना पनि छ ।
जाजरकोट प्रदेश क्षेत्र नम्बर २ मा बलियो उम्मेदवार नभएका बेला राजीवलाई यो प्रस्ताव नआउला भन्न सकिँदैन । तर, राजीवको अडान भने संघमै छ । एक पटक संघको माननीय भइसकेका राजीव संघमै लड्न चाहन्छन्, जुन अस्वाभाविक पनि होइन ।
राजीवलाई जाजरकोट छोड्न कि शक्ति बस्नेत कि डोल्पा जानुपर्यो । नभए रुकुम जानुपर्यो । तर, शक्तिनिकट स्रोतका अनुसार ‘यस्तो सम्भावना छैन ।’
२०७४ सालको निर्वाचनमा ३२ हजारभन्दा बढी मत ल्याएर माओवादी केन्द्रबाट शक्तिबहादुर बस्नेत विजयी भएका थिए । त्यतिबेला प्रतिस्पर्धाका रुपमा उभिएका राजीवले २३ हजार २ सय ८९ मत ल्याएका थिए । मत संख्याको यो फराकिलो अन्तरले पनि राजीवको तुलनामा शक्तिको दाबी बलियो देखिन्छ ।
यदि गठबन्धन भएन भने त कांग्रेसबाट प्रतिनिधिसभाका लागि राजीव नै स्वभाविक उम्मेदवार बन्नेछन् । ०७४ मा दुई ठुला शक्ति मिलेर बनेको गठबन्धनलाई चुनौती दिँदै राजीवले २३ हजार मत प्राप्त गरेका थिए ।
गठबन्धन भएन भने शक्तिका लागि राजीव नै प्रमुख चुनौती हुनेछन् ।
प्रकाशित समय : १४:२४ बजे



















