global ime bank Long Banner Ad

गृहपृष्ठ चीनमा भूकम्प : वर्षा र बाढीपहिरोका कारण उद्धारमा बाधा

चीनमा भूकम्प : वर्षा र बाढीपहिरोका कारण उद्धारमा बाधा

चीनमा भूकम्प : वर्षा र बाढीपहिरोका कारण उद्धारमा बाधा

चीनको दक्षिणपश्चिमी पहाडी क्षेत्रमा गएको शक्तिशाली भूकम्पपछि वर्षा, बाढी र पहिरोका कारण बेपत्ता भएका दर्जनौं व्यक्तिको खोजी कार्य बिहीबार पनि प्रभावित भएको छ ।

गत सोमबार सिचुवान प्रान्तको काङदिङ सहरबाट करिब ४३ किलोमिटर दक्षिणपूर्वमा १० किलोमिटर गहिराइमा केन्द्रविन्दु रहेको ६.६ म्याग्निच्यूडको भूकम्प जाँदा केन्द्रविन्दु नजिकै रहेको गान्जी प्रान्तमा ४६ जनाको मृत्यु भएको छ भने छिमेकी याआन सहरमा ३६ जनाको मृत्यु भएको सरकारी प्रसारक सीसीटीभीले जनाएको छ ।

अन्य २७० भन्दा बढी घाइते भएका छन् भने बेपत्ताको संख्या ३५ रहेको सीसीटीभीले जनाएको छ। राष्ट्रिय मौसम सेवाले जारी गरेको ‘भौगर्भिक विपत्तिको जोखिम’को चेतावनी बिहीबार रातिसम्म जारी रहेको छ ।

केही क्षेत्रमा भारी वर्षाका साथै शुक्रबारसम्म मध्यम वर्षा जारी रहने पूर्वानुमान गरिएको छ । ‘भूकम्पपछिको भौगर्भिक अवस्था स्वाभाविक रूपमा कमजोर रहेको र थप वर्षाको प्रभावले पहिरो र भूस्खलन निम्त्याउन सक्ने भएकाले स्थानीय क्षेत्रमा विपत्तिबाट सतर्क रहन आवश्यक छ,’ चीनको मौसम प्रशासनले जनाएको छ ।

पिपुल्स लिबरेशन आर्मी, अर्धसैनिक प्रहरी र अग्नि उद्धार सेवाले यस क्षेत्रमा दश हजारभन्दा बढी उद्धारकर्मीहरू तैनाथ गरेका छन् । उनीहरूले दुर्गम ग्रामीण इलाकामा पहिरोभित्र फसेका मानिसको खोजी अभियान जारी राखेका छन् । उद्धारकर्ताहरूले पराकम्पनका कारण आएको बाढी र पहिरोको सामना गर्दै गाउँलेहरूलाई भत्किएका घरहरूबाट अन्यत्र स्थानान्तरण गरेका छन् । प्रायः इलाकामा उनीहरूलाई डोरी र स्ट्रेचरमा राखेर पहाडी इलाकाहरू पार गर्नुपरेको थियो ।

सरकारी स्वामित्वको पिपुल्स डेली अखबारका अनुसार गान्जी र याआनका १२४ अस्थायी स्थानमा २२ हजारभन्दा बढी मानिसलाई सारिएको छ । शिमियान काउन्टीको एक विद्यालयका २१ हजारभन्दा बढी विद्यार्थी र कर्मचारीलाई भूकम्प गएको एक मिनेटभित्रै सुरक्षित स्थानमा सारिएको समाचारमा जनाइएको छ ।

उक्त क्षेत्रका करिब एक हजार ८०० विद्यालय बुधबारसम्म खुलेका छन् । स्थानीय अधिकारीहरूले हालसम्म एक करोड ४० लाख अमेरिकी डलरभन्दा बढी प्रकोप राहत सहयोग प्राप्त गरेका छन् । सिचुआन सरकारले आपतकालीन सूचना जारी गर्दै स्थानीय अधिकारीहरूलाई प्रभावित व्यक्तिहरूको लागि राहत वितरण गर्न आग्रह गरेको छ ।

प्रकाशित समय : १६:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु