गृहपृष्ठ सिट बाँडफाँड कार्यदलले मंगलबार जिम्मेवारी टुंग्याउने
सिट बाँडफाँड कार्यदलले मंगलबार जिम्मेवारी टुंग्याउने
सिट बाँडफाँड कार्यदल । फाइल तस्बिर
पाँच दलीय सत्ता गठबन्धनको कार्यदलले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका लागि आफूलाई प्राप्त कार्यादेश मंगलबार टुंग्याउने भएको छ । कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो १ बजेदेखि करिब पाँच घण्टा चलेको थियो ।
बैठकले चुनावी तालमेल र सिट बाँडफाँडका सम्बन्धमा आफ्नो काम मंगलबारसम्म टुंग्याउने गरी आजको बैठक सम्पन्न भएको कार्यदलका सचिव अधिवक्ता केशवराज जोशीले जानकारी दिए । उनले भने, ‘कार्यदलले आफ्नो काम भोलिसम्म टुंग्याउँछ र प्रतिवेदन शीर्ष नेतृत्वलाई बुझाउँछौँ । सिट बाँडफाँडका सम्बन्धमा गठबन्धनमा आबद्ध दलहरुले आफ्नो अडानमा लचकता अपनाएकाले संख्या बारेको बहस साघुरिँदै गएको छ ।’
दललाई प्राप्त मतअनुसार र केही राजनीतिक विषयलाई हेरी सबैलाई सम्मानजनक हुने गरी सिट बाँडफाँड वैज्ञानिक तरिकाले हुने सचिव जोशीले बताए । कार्यदलको बैठक भोलि साँझ ६ बजे पुनः बस्ने र आफ्नो जिम्मेवारी टुंग्याउने जनाइएको छ ।
गठबन्धनमा आबद्ध दलले आगामी आमनिर्वाचनमा चुनावी तालमेलको खाका बनाउन कार्यदल गठन गरेका थिए ।
नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहेको कार्यदलमा कांग्रेसबाट महामन्त्री गगनकुमार थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं पार्टीका नेता ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र)बाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन छन् ।
यसैगरी नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट नेताहरु रामसहाय प्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्य छन् ।
प्रकाशित समय : १९:३७ बजे

















