nmb bank

गृहपृष्ठ नागरिकता विधेयक फर्काएकोमा राष्ट्रपति असन्तुष्ट, अग्निपथ भर्तीबारे चासो

नागरिकता विधेयक फर्काएकोमा राष्ट्रपति असन्तुष्ट, अग्निपथ भर्तीबारे चासो

नागरिकता विधेयक फर्काएकोमा राष्ट्रपति असन्तुष्ट, अग्निपथ भर्तीबारे चासो

१५ बुँदे सन्देशसहित पुनर्विचारका लागि आफुले फिर्ता पठाएको नागरिक विधेयक संसदबाट जस्ताको त्यस्तै पारित भएपछि असन्तुष्ट बनेकी राष्ट्रपति विद्यादेवी भण्डारीले पुन: चासो व्यक्त गरेकी छन् । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासहित नेपाली कांग्रेसका नेताहरुसँग छलफल गर्दै भण्डारीले राष्ट्रिय सहमति खोज्नतर्फ आग्रह गरेकी छन् ।

संघीय संसदका दुवै सदनबाट पारित भएर गएको विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी सन्देशसहित साउन ३० मा फिर्ता पठाएकी थिइन् । तर, प्रतिनिधिसभाले भदौ २ मा विधेयक दोस्रो पटक हुबहु पारित गरेको थियो । प्रधानमन्त्री देउवा पार्टी उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई लिएर सोमबार अपराह्न शीतल निवास पुगेका थिए ।

राष्ट्रपतिले शनिबार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरूसँग पनि छलफल गरेकी थिइन् । नागरिकतासम्बन्धी विधेयकमा राष्ट्रपतिको मुख्य चासो लैंगिक असमानता र अंगीकृत नागरिकताका विषयमा थियो । लैंगिक असमानताका विषयमा राष्ट्रपतिले पठाएको सन्देश सम्बोधन गर्न संविधानै संशोधन गर्नुपर्ने अवस्था रहेको प्रधानमन्त्रीको भनाइ थियो ।

राष्ट्रपति भण्डारीले नयाँ शिराबाट छलफल हुन्छ भन्ने अपेक्षासहित आफूले नागरिकता विधेयक फिर्ता पठाएको जानकारी गराएकी थिइन् । राष्ट्रपति भण्डारीले यसअघि केपी शर्मा ओलीको पालामा अध्यादेश ल्याउँदा आफूले गरेको व्यवहारलाई लिएर रक्षात्मक शैली पनि अपनाएकी थिइन् । उनले त्यसबेला किन अध्यादेश ल्याउनुपर्‍यो भन्ने विषयमा प्रधानमन्त्री ओलीसँग कुरा गरेको जानकारी कांग्रेस नेताहरूलाई दिइन् ।

जवाफमा प्रधानमन्त्री देउवाले राष्ट्रपतिको कदमलाई संविधानसम्मत र सकारात्मक रूपमा आफूले लिएको बताएका थिए ।

राष्ट्रपति भण्डारीले कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवालगायतको टोलीसँग भारतीय सेनाको ‘अग्निपथ’ कार्यक्रममा गोर्खा सैनिक भर्तीका विषयमा थप बहस र छलफल गर्न सुझाव दिएकी छन् । कांग्रेस महामन्त्री थापाका अनुसार राष्ट्रपति भण्डारीले अग्निपथमा भर्तीले महत्त्वपूर्ण र दीर्घकालीन असर पर्ने भएकाले सरकारले सरोकारवाला सबैसँग छलफल गर्नुपर्नेमा जोड दिएकी थिइन् । जवाफमा प्रधानमन्त्री देउवाले यस विषयमा राजनीतिक दलहरूसँग छलफल गरेर अघि बढ्ने जानकारी राष्ट्रपति भण्डारीलाई दिएका थिए ।

नेपाल सरकारले अग्निपथ कार्यक्रमका सम्बन्धमा सत्ता गठबन्धन र राजनीतिक दलहरूसँग छलफल गर्नुपर्ने जनाउँदै भारतीय पक्षलाई केही समय जवाफ कुर्न आग्रह गरिसकेको छ । नेपालको आग्रहपछि भदौ ९ मा बुटवल र भदौ १६ मा धरानमा हुने भनिएको गोर्खा सैनिक भर्ती कार्यक्रम स्थगित भएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले भने भदौ ९ मा नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा गोर्खा सैनिक भर्ती निरन्तर रहने बताएका थिए ।

प्रकाशित समय : ०८:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु